१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

धसिङ्गरेबाट तेल

४ महिनादेखि धसिङ्गरेको तेल उत्पादन
एक केजी तेल निकाल्न १ सय ७५ केजी धसिङ्गरे
तेलको मूल्य प्रतिकेजी सात हजार रुपैयाँ
प्रताप विष्ट

थाहा (मकवानपुर) — साउने संक्रान्तिमा लुतो फाल्दा पडाउन र दहीको ठेकी माझ्न प्रयोग गर्ने गरेको मछिनो कसैले पैसा तिरीतिरी किन्लान् भनेर दामन क्षेत्रका बासिन्दाले सोचेका थिएनन् । अझ त्यही स्याउलाबाट तेल निस्किन्छ भन्ने त उनीहरूलाई कल्पनै थिएन ।

धसिङ्गरेबाट तेल

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–४ नयाँगाउमा धसिङ्गरे (मछिनो) को तेलको उत्पादन सुरु गरिएको छ । ‘पहिले वन पाल्ने चलन नभएको बेला त मछिनोको धेरै सोत्तर बनाइयो, यो पनि जडीबुटी नै हो भनेर त थाहै थिएन,’ स्थानीय बासिन्दा मानबहादुर लोल भने ।

स्थानीय क्षेत्रमा मछिनो र जडीबुटीको नाम जान्नेहरूले धसिङ्गरे भन्ने यो जडीबुटीबाट गाउँघरमै धमाधम आम्दानी गरेका छन् । स्थानीय दुर्गामाया बलले भनिन्, ‘हामी त घरमै भएको चिज नचिनेर पो गरिब भएका रहेछौं ।’ मकवानपुरको महाभारत पर्वत शृंखलाको वरपर प्रशस्त मात्रामा पाइने धसिङ्गरेको सदुपयोग गरी आय आर्जन गर्न स्थानीय चिनारी धसिङ्गरे तेल उद्योगले ४ महिनादेखि उत्पादन सुरु गरेको छ ।

‘धसिङ्गरेको तेल उत्पादन गर्ने मेसिन चाँडै ल्याएको भए पनि तेल उत्पादन सुरु गरेको चार महिना मात्र भयो,’ उद्योगका अध्यक्ष राजेश केसीले भने, ‘उत्पादन सुरु गर्न ढिला भो ।’ उक्त मेसिन च्वाइस नेपालले उपलब्ध गराएको हो । मेसिनको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने उद्योगले जनाएको छ । अहिले यसको प्रतिमहिना ६० किलो तेल उत्पादन क्षमता रहेको छ ।

गाउँमै धसिङ्गरेको तेल उद्योग खुलेपछि दामनलगायत उक्त क्षेत्रका बासिन्दा दंग परेका छन् । उद्योगमा कार्यरत तीन जनाले रोजगारी पाएका छन् भने, जंगलबाट मछिनो बोकेर ल्याउने ९ जनाले पनि आय आर्जनको काम पाएका छन् । । वस्तुभाउ चराउन जाँदा मछिनो ल्याएर पनि स्थानीय बासिन्दाले आम्दानी गरिरहेका छन् । उनीहरूले प्रतिकिलो धसिङ्गरेको १२ रुपैयाँमा बिक्री गर्छन् ।

एक केजी तेल निकाल्न करिब १ सय ७५ केजी धसिङ्गरे चाहिन्छ । डाँठसहितको धसिङ्गरेलाई डिस्टिलेसन प्रविधिबाट पकाएर बाफमा परिणत गरी फेरि चिस्याएर तेल निकालिन्छ । उत्पादित तेल प्रतिकेजी ७ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । च्वाइस नेपालले नै उक्त उद्योगमा उत्पादित तेल खरिद गर्ने गरेको छ । ‘बजारको समस्या छैन,’ अध्यक्ष केसीले भने, ‘मागअनुसारको उत्पादन गर्न सकिएको छैन ।’

उत्पादित तेल शरीर मालिस गर्न, मञ्जन र आयोडेक्स प्रयोग हुने उद्योगले जनाएको छ । कच्चा पदार्थ संकलन गर्दा डाँठ काट्ने र यसरी डाँठ काटा धसिङगरेको बोट अझ मौलाउने गरेको छ । थाहा नपा–४ स्थित ऋषेश्वर सामुदायिक वनमा धसिङ्गरेको जंगल नै छ । उक्त उद्योगले ऋषेश्वर सामुदायिक वनलाई प्रतिकेजी धसिङ्गरेको ५० पैसा राजस्व बुझाउने गरेको छ । उक्त उद्योगलाई दैनिक ५ सयदेखि ६ सय केजी धसिङ्गरे आवश्यक पर्छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?