कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्यान्सर अस्पतालमा थपिए शय्या र उपकरण

रमेशकुमार पौडेल

चितवन — भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुक्रबारदेखि थप दुई सय शय्यासहितको उपचार सेवा सुरु भएको छ । यो अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल मानिन्छ ।

क्यान्सर अस्पतालमा थपिए शय्या र उपकरण

अस्पतालमा उपकरणहरू पनि थपिएका छन् । विशिष्ट व्यक्तिहरूलाई ख्याल राखेर श्रेणीअनुरूपका क्याबिनहरू निर्माण भएका छन् । नयाँ भवन र सेवा सुविधाको स्वास्थ्य मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरे ।

२०५७ असोज १० गतदेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन भएको हो । अस्पतालका कार्याकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार अहिलेसम्म अस्पतालका १९५ शय्या सञ्चालनमा थिए । चार वर्षअघि निर्माण सुरु भएको नयाँ भवनको काम पूरा भएलगत्तै थप दुई सय शय्याको सेवा आरम्भ भएको आचार्यले जानकारी दिए ।

नयाँ भवनमा आठवटा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष छन् । जसमध्ये दुइटा सञ्चालनमा आइसकेका छन् । त्यहाँ भीभीआईपी, भीआईपी र साधारण क्याबिनको सुविधा पनि हुनेछ । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार भीभीआईपी क्याबिनको प्रतिदिन तीन हजार, भीआईपीको दुई हजार र साधारणको एक हजार शुल्क लाग्नेछ ।

त्यसैगरी, क्यान्सरका बिरामीलाई उपचार गर्दा रेडियोथेरापी दिन आईजीआरटी र आईएमआरटीसहितको अत्याधिनुक लिन्याक मेसिन पनि जडान भएको छ । रेडियोथेरापी दिने बिरामीलाई शरीरको कुनकुन भागमा रेडियोथेरापी दिने हो भनेर योजना बनाउने मेसिन पनि अत्याधुनिक आएको छ । सीटी स्क्यान जडित सिमुलेटर मेसिनबाट रेडियोथेरापीको प्लानिङ हुने कार्यकारी निर्देशक डा.आचार्यले बताए ।

यी दुवै खाले मेसिन नेपालमा पहिलो पटक आएका छन् । क्यान्सरको उपचारका लागि प्रति १० लाख जनसंख्यामा एउटा लिन्याक मेसिन चाहिने डा.आचार्यको भनाइ छ । त्यसैले उपकरणहरू अझै अपर्याप्त नै छन् । त्यसैगरी शरीरको भित्रि अंगहरूमा रेडियोथेरापी उपचार दिनका लागि चाहिने अत्याधुनिक ब्राकिथेरापी मेसिन पनि सञ्चालनमा आएको छ ।

‘यी उपकरण र क्याबिनका कारण विदेशमा उपचार गर्न जाने बिरामीको संख्या केही हदसम्म घट्ने आशा छ,’ कार्यकारी निर्देशक डा. आचार्यले भने । अस्पतालको तथ्यांकअनुसार वर्षको सवा लाखको हाराहारीमा बिरामीहरू बहिरंग विभागमा आउने गर्छन् । त्यसमध्ये पाँच हजार बिरामी अस्पतालमा भर्ना नै भएर उपचार सेवा लिने गरेको तथ्यांकले देखाउँछ ।

कार्यकारी निर्देशक डा. आचार्य देशका क्यान्सर बिरामीमध्ये ५० देखि ६० प्रतिशत बिरामीको उपचार यो अस्पतालले गरेको दाबी गर्छन् । ‘पूर्वाधार र उपकरणहरू थपेर हामी उच्च स्तरीय सेवा दिन प्रयासरत छौं । उपचार सेवाले सबैको मन जित्नेमा हामी आशावादी छौं,’ डा.आचार्यले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?