१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘वडा कार्यालयबाटै सेवा देऊ’

रामेछाप — संघीय संरचनाले घरदैलोमा सरकारको कल्पना गरी स्थानीय सरकारलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । तर मन्थली नगरपालिकामा भने वडा केन्द्रमै सरकार छैन ।

‘वडा कार्यालयबाटै सेवा देऊ’

वडा कार्यालयहरू केन्द्र अर्थात् तोकिएको स्थानमा बसेका छैनन् । केही वडामा साइनबोर्ड झुन्डयाइएका छन् तर कार्यालय खुल्दैनन् । नागरिकले सेवा लिन जिल्ला सदरमुकाममा रहेका वडाका सम्पर्क कार्यालयमा धाउनै पर्छ ।

नगरपालिकामा निर्वाचित भएको पहिलो बैठकमा नगर प्रमुख रमेशकुमार बस्नेतले नागरिकलाई घरदैलोमा सरकार भएको अनुभूति दिलाउनका लागि पहिलो कामनै वडा कार्यालयको स्थापना गर्नुरहेको बताएका थिए । उनले वडा अध्यक्षहरूलाई वडामै बसेर सेवा सञ्चालन गर्न निर्देशन पनि दिए । तर प्रमुखको निर्देशन वडा अध्यक्षहरूले टेरेका छैनन् ।

सुरुमा नगरपालिकाको मुख्यालयबाटै वडाको कार्य सञ्चालन गर्दै आएका वडाकार्याहरूलाई वडा व्यवस्थापन गर्न लाखौं रुपैयाँ उपलब्ध गराई बस्नेतले उक्त स्थानबाट निकालेका थिए । नगरपालिका कार्यालयबाट निस्केपछि भाडाको कोठा खोजेर वडा सञ्चालन हँुदै आएका हुन् ।

वडा कार्यालयमा प्राय: ताला झुन्डिरहेको हुन्छ, सेवा लिन मन्थलीमा जानुपर्ने गेलुका ज्ञानेन्द्र लामिछाने बताए । लामिछाने भूकम्पपीडित हुन् । उनको घर निरीक्षण गर्न इन्जिनियरसमेत गाउँमा पुगेनन् । ‘मलाई नै मन्थलीमा नै बोलाएर वडा कार्यालयमा तेस्रो किस्ताको फर्म भर्नुपर्‍यो,’ लामिछानेले गुनासो गरे । वडा कार्यालय गाउँमा नहँुदा घरघर घुमेर निर्माण कार्यको निरीक्षण गर्नुपर्ने इन्जिनियर पनि मन्थलीमै बस्न थालेको गुनासो गाउँलेको छ ।

वडा कार्यालयको बोर्ड राखेर पनि प्राय: सबै दिन बन्द हुने वडामा मन्थलीको वडा नम्बर २, ३, ४, ५, १०, ११ र १२ रहेका छन् । वडा नम्बर २ र ३ मा भने वडा कार्यालय नै खोलिएको छैन । उपयुक्त भवनको अभावमा वडा कार्यालय सम्बन्धित वडामा खोल्न कठिनाइ भएको वडा नम्बर २ का अध्यक्ष तरणीशंकर अधिकारीले बताएका छन् । मन्थली नगरपालिकामा १४ वडा छन् ।

जिल्लामा रहेका २ नगरपालिका र ६ गाउँपालिकामध्ये मन्थलीबाहेक अन्य स्थानीय तहका वडाहरूले सम्बन्धित वडामै बसेर सेवा प्रवाह गर्दै आएका छन् । वडा कार्यालयहरू जिल्ला सदरमुकाममा बसेको कुरामा चौतर्फी दबाब परेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मन्थली नगरपालिकालाई पत्र काटेर तत्काल सम्बन्धित वडाबाटै सेवा प्रवाहको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले नागरिकको गुनासोलाई बढ्न नदिन जनप्रतिनिधिहरू बेलैमा सजग हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?