कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल तर्नै मुस्किल !

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण जताततै पहिरोले सडक र हिँड्ने गोरेटो बगाएपछि बालबालिकालाई कठिनाइ परेको छ । त्यसमा पनि वर्खायाममा उर्लेको खोला माथिको झोलुंगे पुलको नाजुक अवस्थाले गाउँलेलाई सास्ती थपिदिएको छ ।

पुल तर्नै मुस्किल !

‘घण्टौं हिँडेर पहिरो छल्दै पढ्न आउछौँ, त्यसैमाथि यो जोखिमपूर्ण पुल तर्नै मुस्किल पर्छ,’ बाह्रबिसे नपा घुम्थाङबाट पढाइ सकेर घर मानेश्वारा फर्केकी कक्षा ४ मा अध्ययनरत कविता तामाङले भनिन् ।

घण्टौं हिँडेर गाउँबाट तल झर्नुपर्ने र त्यसैमाथि पुलको काठजति सबै बगाएपछि डण्डीमा टेकेको भरमा आउजाउ गरिरहेको उनले सुनाइन् । बाह्रबिसे नगरपालिका-७ स्थित पहिरेखोलाले पुलको टाँगिएका सबै काठ बगाएर बीचको फलामे डण्डिमात्रै बाँकी राखेको छ ।

‘छेउमा समातेर तर्नै डर लाग्छ, खुट्टा डण्डिभित्रबाट तल छिर्‍यो भने घाइते होइन्छ, त्यसैले दिनहुँ पार गर्नकै पिरलो हुने गर्छ, ’उनले भनिन् ।

उनीजस्ता झण्डै २० बालबालिका यस्तै समस्या ब्यहोर्न बाध्य छन् । पहिरेखोला तर्नको लागि अरु माध्यम नभएका कारणले जोखिमपूर्ण पुल तरेर घर आउने गरेको भद्रकाली माध्यमिक विद्यालयको कक्षा ५ का छात्र सन्तोष तामाङले बताए । ‘बर्खापछि यस्तै समस्याले च्याप्छ , चाडै पुलको मर्मतलाई थालिए सहज हुने थियो,’ उनले भने ।

स्थानीय शिक्षक रामचन्द्र पौडेलका अनुसार पहिरे खोलामा आएको बाढीले पुललाई क्षतिग्रस्त बनाएपछि बालबालिकालाई तर्नै मुस्किल बनेको छ । ‘खोलामा बालबालिका, वृद्धदेखि सबैलाई आउजाउ गर्न सकस बनेको छ, चाडै मर्मत नगरिए दुर्घटना निम्तन सक्छ,’ उनले भने ।

वडाध्यक्ष मिनबहादुर श्रेष्ठले हप्तादिनमा पुललाई मर्मत गर्ने कार्यमा पहलकदमी लिने बताए ।

‘उपभोक्ता समितिको विवादले काम नथालिएको हो, अब केही समयमा नै काम गर्ने समिति बनाएर कार्यलाई अगाडि बढाइनेछ ,’उनले भने । उनले वडाबाट पहिरे पुललाई दुई लाख बजेट छुट्याए काम थाल्ने सुनाए ।

‘अरु दुई पुल पनि मर्मत गर्नुपर्ने भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र १८, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?