कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सरकारीमा न्युरो सेवा

रमेशकुमार पौडेल

चितवन — भरतपुुरको सरकारी अस्पतालमा एक वर्षअघि सञ्चालनमा आएको न्युरो युनिटले सर्वसाधारणलाई सुलभ दरमा उपचार सेवा दिएको दिँदै आएको छ ।

सरकारीमा न्युरो सेवा

निजी अस्पतालमा भन्दा सरकारीमा १० गुणा कम खर्चमा उपचार हुने चिकित्सकहरू बताउँछन् । १२ शय्यासहित गत वर्षको साउनदेखि भरतपुर अस्पतालमा न्युरो युनिट सुरु भएको थियो ।

अस्पतालको न्युरो युनिटमा एक जना न्युरो सर्जन र दुई जना मेडिकल अफिसर छन् । ‘जनशक्ति कम हुँदा हुँदै पनि शल्यक्रिया र अन्य उपचार सेवा उल्लेख्य रूपमा भएको छ,’ न्युरो युनिट प्रमुख डा.गुणराज पौडेलले भने ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा.पौडेल भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपेरिटेन्डेन्ड डा. रुद्र मरासिनीको योजनामा भरतपुर आएका हुन् । उपत्यका बाहिर सरकारी अस्पतालमा न्युरो युनिट छैन । ‘भरतपुरमा दुर्घटना लगायतका कारणले टाउको र मेरुदण्डमा चोट लागेका बिरामीहरू प्रशस्तै आउने गर्छन् । ती बिरामीले निजी अस्पतालमा महँगोमा उपचार लिनुपरेको छ । सुलभ दरमा उपचार सेवा दिन सरकारी अस्पतालमा नै न्युरो सेवा राख्ने सोच बन्यो,’ डा. मरासिनीले भने ।

दुर्घटनाका घाइतेहरू भरतपुरको सरकारी अस्पतालमा नल्याउने चलन थियो । ‘किन नल्याएको भन्दा सरकारी अस्पतालमा सिटी स्क्यान र न्युरो नै छैन, किन ल्याउने भनेर यातायात व्यवसायीहरूले भनेपछि सिटी स्क्यान र न्युरो सेवा सुरु भएको’ पूर्व मेडिकल सुपेसिटेन्डेन्ड डा. रुद्र मरासिनीले भने ।

अनेक प्रयास हुँदा पनि गाडी दुर्घटनाका घाइते अझै भरतपुर अस्पतालमा उपचारका लागि ल्याइँदैन । तर सर्वसाधारणले सेवा लिन पाए । न्युरो युनिट प्रमुख डा. पौडेलका अनुसार वर्ष दिनमा तीन सय जनाले सेवा लिएका छन् । ठूला र जटिलखालका शल्यक्रियाहरू पनि भएको उनले बताए ।

टाउकोभित्रको रगतको नशा फुलेको शल्यक्रिय जटिल खालको शल्यक्रिया हो । अस्पतालमा यस्तो शल्यक्रिया ६ वटा भएको डा. पौडेलले बताए । यो शल्यक्रिया जटिल हुने भएका कारण खर्च पनि धेरै हुन्छ ।

भरतपुर अस्पतालको न्युरो युनिटबाट वर्ष दिनमा ब्रेन टयुमरका १५ वटा शल्यक्रिया भएका छन् । मस्तिष्कमा पानी जम्ने समस्याका १० जनाको उपचार भएको छ । मस्तिष्कको पछिल्लो भागको स्नायुमा आएको समस्यासम्बन्धी ६ वटा शल्यक्रिया भएको छ । स्पाइनल टयुमरको पनि ६ वटा शल्यक्रिया भएको डा. पौडेलले जानकारी दिए ।

दुर्घटनाका कारण टाउकोमा लागेको चोटको २० वटा शल्यक्रिया भएको छ । मस्तिष्काघातका १२ वटा शल्यक्रिया भएका छन् । ‘प्राय: गरिब चेपाङहरूले सेवा लिने गरेका छन् । यहाँको उपचारका बारेमा जानकारी पाएकाहरू पूर्वी नेपालका विभिन्न ठाउँबाट पनि आउँछन्,’ डा. पौडेलले भने । सीमित पूर्वाधार र जनशक्तिका बीचमा पनि यति काम हुनु ठूलो कुरा भएको उनको दाबी छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?