२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राजमार्गमा चिरा बढ्दै

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा सडकमा परेको चिरा फराकिलो हुँदै गएको छ ।

राजमार्गमा चिरा बढ्दै

त्यहाँ ७० मिटर लम्बाइसम्म आधा सडक भासिएको छ । नयाँ निर्माणका कारणले नभएर पुरानो भूबनोटका कारण १७ किलोमा समस्या आएको आयोजानका अधिकारीहरू बताउँछन् । लगभग २० वर्ष पहिले रक एङरिङ गरेर सडक फराकिलो बनाएको ठाउँमा अहिले चिरा परेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

असार २७ गते १७ किलो भन्ने ठाउँमा सडक चिरा परेको थियो । दिनप्रति दिन सडक भासिँदै गएर एक मिटरभन्दा बढी खाल्डो परेरको खनालले बताए ।

‘यो ठाउँमा पनि तत्कालै मर्मतको काम सुरु हुन सक्दैन । वर्षा साम्य भएपछि नियन्त्रणको विषयमा अध्ययन हुन्छ र त्यहीअनुसार काम सुरु हुन्छ,’ खनालले भने ।

एक महिनादेखि पहिरो खसेन
पानी पर्दा पहिरो खसेर घण्टौं बाटो बन्द हुने नारायणगढ–मुग्लिन सडकमा पछिल्लो झरीमा यस्तो समस्या खासै बल्झेन । सूचना अधिकारी खनालका अनुसार साउन २१ गते घुमाउनेमा बिहान सवा ६ बजे पहिरो जाँदा लगभग तीन घण्टा बाटो बन्द भएको थियो । त्यो दिनयता ठूला पहिरोहरू नझरेको उनले बताए ।

‘यो बीचमा झरी नपरेको हैन । तर पहिलाको जस्तो पहिरो खासै गएन,’ सूचना अधिकारी खनालले भने । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी निरीक्षक वेदप्रसाद गौतम शुक्रबार सानो पहिरोले सेतीदोभानमा केही बेर गाडी रोकिए पनि ठूलो पहिरो अचेल नगएको बताउँछन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा जेठ २८ यता साउन ३ गतेसम्म १४ पटक पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जसका कारण ७६ घण्टा बाटो बन्द भएको थियो । असार २० मा टोपेखोलामा पहिरो जाँदा लगातार १३ घण्टा बाटो रोकिएको थियो । जुन यो वर्षको अहिलेसम्मको लामो समय हो । अघिल्लो वर्ष लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पटक पटक पहिरो जान्न्छ । पानी नपरे पनि सुक्खा पहिरो खसेर दु:ख दिने गरेको छ । पानी पर्दा समस्या झनै विकराल हुने गरेको छ ।

अघिल्लो वर्ष २९ ठाउँमा पहिरो गएको थियो । यो वर्ष ६ ठाउँमा ठूलो पहिरो गएको सूचना अधिकारी खनालले जानकारी दिए । पहिरो नियन्त्रणका लागि गत वर्ष १४ करोड रुपैयाँ खर्च भएको थियो । यो वर्ष पहिरो सक्रिय रहेको ठाउँमा दसैंपछि अध्ययन गरेर नियन्त्रणका योजनाहरू ल्याउने इन्जिनियर खनालले बताए । दुई वर्षभित्र काम सक्ने गरेर ०७२ सालको वैशाखबाट निर्माण सुरु भएको थियो । तर समयमा काम सक्न गाह्रो भएको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?