कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फर्किए पाहुना लाखे

राजेन्द्र मानन्धर

दोलखा — जात्रा भनेकै लाखे मात्रै हो जस्तो मानिन्छ चरिकोटमा, किनकि जब लाखे बजारमा आउँछ एकाएक घुइँचो लागिहाल्छ ।

फर्किए पाहुना लाखे

सदरमुकाम चरिकोट बजारमा धेरै थरीका जात्रा लाग्छन् तर लाखे जात्रा निस्क्यो कि मान्छे ओइरिन्छन् । उक्त रोमाञ्चक लाखेलाई श्रीकृष्ण अष्टमीको भोलिपल्ट मध्यरातमा वध गरेको नाटक गर्दै यस वर्षलाई समापन गरिएको छ ।

लाखे जात्राकै क्रममा यस वर्ष चरिकोटमा बजारमा केही पाहुना लाखेहरू पनि आए । बेजोडले नाचे, सदाझैं दोब्बर दर्शकबीच । लाखे मोह बोकेका दर्शकलाई सन्तुष्ट पार्न लाखे जात्रा देखाउनलाई नै प्राथमिकता दिइँदै आएको चरिकोट गुठी अध्यक्ष रामदास श्रेष्ठ बताउँछन् ।

लाखे जात्रा संस्कृति साटासाट गर्न चन्द्रागिरि नगरका लाखेहरू पाहुना मान्न आएका थिए । उनीहरू नाच्दा चरिकोट बजारका दर्शकले ‘लाखे लाखे’ भन्दै जोस्याइदिन्थे । लाखेहरू झन मच्चीमच्ची नाच्थे । प्रत्येक लाखेको अघिपछि सयौं दर्शक उफ्रीउफ्री हिँडेका थिए ।

सानादेखि ठूलासम्मले लाखे जात्रामा रमाइलो गरेका थिए । एकले अर्का ठाउँका लाखे जान्न र सिक्न सामूहिक लाखे नाचको आयोजना गरिएको चरिकोटस्थित लालीगुँरास युवा क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए ।

नेपाल सांस्कृतिक कला मन्दिर र मच्छेनारायण सांस्कृतिक समूहले पाँचवटा लाखे र पाँच थरीका बाजा लिएर आएका थिए । जात्राहरूमा सर्वाधिक रुचाइने लाखे नाचसँग जोडिएका कला, संस्कृतिलाई जगेर्ना र अनुशरण गर्ने कार्यक्रमको मूल ध्येय थियो । ४१ जनाको टोलीमध्ये कोही बजाउने र कोही नाच्ने गर्थे । मच्छेनारायण सांस्कृति समूहका अध्यक्ष रमेश शाहीले चरिकोट बजारका लाखेको नाच्ने तरिका, बाजाको ताल र हाउभाउ मन परेको बताए ।

लाखे घण्टाकर्णबाट उदाएर श्रीकृष्ण अष्टमीको भोलिपल्ट समाप्त हुन्छ । बुधबार मध्यरात भएको श्रीकृष्ण र लाखेबीचको नाटकीय भिडन्त हेर्न हजारौ ओइरिन्छ । हरेक वर्ष ठेलमठेल र झगडा रोक्न प्रहरीको ठूलो शक्ति प्रयोग हुन्छ । यस वर्ष पनि सामान्य झगडाबीच लाखेको अन्त्य गरिएको छ ,अर्को वर्षको घण्टाकर्णको दिनसम्मलाई ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?