कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एकै थलोमा पार्किङ

बजारमा छरपस्ट रूपमा टाटा सुमोका काउन्टर थिए । सुमोहरू यात्रुको प्रतीक्षा लागि सडकका दायाँबायाँ राख्ने गरिन्थ्यो ।
प्रताप विष्ट

हेटौंडा — हेटौंडा बजारको सवारी चापलाई व्यवस्थित गर्न हेटौंडा उपमहानगरपालिकाले टाटा सुमोलाई एकै स्थानबाट सञ्चालनको व्यवस्था मिलाएको छ ।

एकै थलोमा पार्किङ

हेटौंडा उपमहानगरपालिकाले छोटो मार्गबाट हेटौंडा–काठमाडाैं आउजाउ गर्ने टाटा सुमोहरूलाई हेटौंडा १ स्थित रोपवेको चौरबाट सोमबारदेखि सञ्चालनको व्यवस्था मिलाएको हो ।

हेटौंडा बजार क्षेत्रमा बढ्दै गएको सवारीसाधनको चापलाई कमी गर्न र यात्रुको यात्रालाई सहज बाउन एउटै स्थानमा टाटा सुमोको पार्किङ व्यवस्था मिलाएको नगर प्रमुख हरिबहादुर महतले बताए । हेटौंडा नगरपालिकाले रोपवेको चौरमा साझा सुमो काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

साझा सुमो सेवा (काउन्टर) घरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार उदघाटन गरे । प्रदेश ३ को राजधानीसमेत रहेको हेटौंडामा सवारीसाधनको चाप बढ्दै छ । बजारमा छरपस्ट रूपमा टाटा सुमोको काउन्टर थिए ।

सुमोहरू यात्रुको प्रतीक्षाका लागि सडकका दायाँबायाँ राख्ने गरिन्थ्यो । एकै स्थानमा काउन्टरको व्यवस्था गरेपछि बजारमा रहेका टाटासुमोका काउन्टर सबै बन्द भएका छन् । हेटौंडा बजारमा सुमोको करिब २५ वटा टिकट काउन्टर थिए ।

हेटौंडालाई सुन्दर र व्यवस्थित सहर बनाउने अभियानका साथ रोपवेको खाली चौरमा टाटा सुमोको नमुना बसपार्क बनाएको नगरप्रमुख महतले बताए । ‘हेटौंडा बजारमा जताततै सवारी पार्किङ गर्न बन्द गराएर अहिले हेटौंडाको मेनरोड, राप्तिरोड, स्कुलरोड, कान्ति लोकपथलाई नो–पार्किङ बनाउन सफल भएका छाैं,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले सवारीसाधनको उचित ढंगले पार्किङ व्यवस्थापन गर्न नगरपालिकालाई सहयोग गर्ने बताएका थिए । तोकिएको स्थानभन्दा फरक स्थानबाट टाटा सुमो सञ्चालन गरिए नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ । जिप समन्वय समितिका संयोजक गुन्जमान सिंहले सबै टाटा सुमोलाई एकै स्थानबाट सञ्चालनमा ल्याएर उपमहानगरपालिकाले राम्रो काम गरेको बताए ।

वैकल्पिक मार्ग भएर दैनिक हेटौंडा काठमाडाैं आउजाउ गर्ने ७ सयभन्दा बढी टाटासुमो छन् । विगतमा उनीहरूले बजारमा काउन्टर र सडकका दायाँबायाँ टाटा सुमो राख्ने गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाले टाटा सुमोहरूको व्यवस्थापनसँगै ई–रिक्सा, अटो र मयुरीहरूको पनि व्यवस्थापन गर्ने जनाएको छ । हेटांैडामा २ हजार ५ सयभन्दा बढी ई–रिक्सा, अटो र मयुरी छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?