धोबी–सिरिसे सडक जर्जर

रामेछाप — ‘आज गाडी आइदिएहुन्थ्यो,’ पोकुका कृष्णबहादुर राउत हरेक दिन यस्तै आशा गर्छन् । तर आसैआसमा महिना दिन कटयो । धोबी डाँडाबाट पोकुतिर गाडी झरेको छैन ।

धोबी–सिरिसे सडक जर्जर

सडकको अवस्था जर्जर भएकाले धोबी डाँडा नजिकैको नाघीबाट सवारीसाधन तल झर्न सक्दैनन् । ठूला सवारी झरिहाले भने उकालोमा निस्कँदैनन् । फसेका सवारी तान्न डोजरले काम पाएका छन् । सडक हिलाम्मे मात्र हैन, ठुल्ठूला खाडल परेको छ । त्यस्तोमा सवारी चल्दैन । चालक सुरेश कार्की भन्छन्, ‘कसैले मूख्र्याइँ गरेर गाडी चलायो भने त्यो फस्यो भन्ने जाने हुन्छ ।’ फसेका गाडी धकेल्न र तान्न डोजर राखिएको छ ।

पानी परेको पर्‍यै छ । धोबी डाँडातिर कालो हुनेबित्तिकै लिखु किनारतिरका बासिन्दा गाडी आउँदैन भन्ने टुंगोमा पुग्छन् र काहालिलाग्दो उकालो पैदल हिँड्न बाध्य छन् । ‘अब घामै लागे पनि धोबी हुँदै पोकु सिरेसे गाडी चल्दैन,’ स्थानीय दुर्गाबहादुर खडकाले भने, ‘बनाउने नाममा सडक बिगारिएको छ, सुधार नगरेसम्म यस्तै असजिलो खेप्नुपर्ने भयो ।’

गाउँमा पुनर्निर्माण कार्य चलेको छ । सिमेन्ट, रड र बालुवा बोकेका ट्रयाक्टर मुस्किलले गुडेका छन् । व्यावसायिक सामग्री सिरिसेसम्म ढुवानी रोकिएको छ । पोकुसम्म पुगिहाल्यो भने त्यहाँदेखि सिरिसे कुनै पनि साधनले छिचोल्न सक्दैन । सडक जर्जर छ ।

भूकम्पपछि धोबीदेखि ढाँडेसम्मको सडक एसियाली विकास बैंकले पुनर्निर्माण थालेको छ । पुनर्निर्माणको काम जिम्मा पाएको निर्माण व्यवसायीले सडक भद्रगोल पारेर खनेकाले यातायात सञ्चालनमा बाधा भएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खडकाले बताए । ‘चाडबाड आउन लाग्दा यस्तो बिजोग बनाएको छ,’ खडका भन्छन्, ‘सडक सुधार गर्ने नाममा भइरहेको राम्रो सडक खोस्रिने काम भएको छ ।

धोबी नाका हुँदै पूर्वी रामेछापको बिजुलीकोट र सैपुका विभिन्न भागका अतिरिक्त ओखलढुंगाका पश्चिमी क्षेत्रका दर्जनभन्दा बढी वडाका बासिन्दा ओहोरदोहोर गर्छन् । उक्त सडकमा सवारीसाधन नचल्दा जिल्ला सदरमुकाम र काठमाडौं पुग्न २ दिन खर्चनुपर्ने बाध्यता छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख कृष्णलाल पियाले धोबीदेखि सिरिसेसम्मको करिब १९ किमि सडक खण्डमा ग्राभेल गर्ने योजना कार्यान्वयन चरणमा छ ।

आगामी ७ महिनामा सक्ने गरी रामेछाप गोल्डेन जेभीले निर्माण कार्य थालेको उक्त सडक खण्डमा हालसम्म करिब १७ प्रतिशत मात्र काम भएको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?