१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सडक ग्राभेललगत्तै पहिरो

कृष्ण थापा

ल्वाङपानी (नुवाकोट) — विदुर हुँदै पुरानो सदरमुकाम तथा साततल्ले दरबार जाने ६ किमि सडक ग्राभेल गरेलगत्तै भत्किन र पहिरो जान थालेको छ ।

सडक ग्राभेललगत्तै पहिरो

विदुरनगरपालिका २ विदुर चोकदेखि ग्राभेल बिछ्याएको सडक ल्वाङपानीमा पहिरो गएको छ । सडकमा बनाएका नाली भत्केका छन् ।

आधा दर्जनभन्दा बढी सरकारी निकाय जाने उक्त सडक ठेकेदारले समयमा काम नसक्दा दुरावस्थामा छ । विदुर चोकदेखि जिल्ला प्रशासन जाने सडक ठाउँ–ठाउँमा साँघुरो र वाल उठाउनुपर्ने ठाउँमा तारजाली भरिएको छ । सडकमा खाल्डो परेको छ । छेउमा पहिरो जान थालेको छ । दैनिक ५ सय सवारी गुड्छन् ।

‘खाल्डो परेको सडकमा मोटरसाइकल चलाउन मुस्किल छ,’ विनपा २ भुटोलका स्थानीय अनुप खड्काले भने, ‘नुवाकोट बजार पुग्ने ठाउँमा गाडी उक्लिन मुस्किल पर्छ ।’ यही सडक हुँदै विदुरचोकदेखि पुरानो सदरमुकाम नुवाकोट साततल्ले दरबार, नुवाकोट भैरवी, कालभैरव देवस्थल, फलाँटे, चोगते, लच्याङ, उर्लेनी र रसुवाको सरमथलीसम्म बस, खाद्यान्न बोक्ने गाडी, ढुवानी सामग्री लैजाने मूल सडक हो ।

उक्त सडक नुवाकोट अदालत, नापी, मालपोत, जिल्ला प्रशासन, बाल कल्याण समिति, जिल्ला प्रहरी कार्यालय, स्मारक तथा दरबार हेरचाह कार्यालय जान्छ । ०२८ सालमा नुवाकोट डाँडाबाट सदरमुकाम तल विदुरमा सारिएपछि आवतजावत गर्न ०२९ मा पुरानो सदरमुकामसम्म जाने कच्ची सडक निर्माण गरिएको थियो ।

डिभिजन सडक कार्यालयले ०५३ सालमा ओटासिल प्रविधिबाट नुवाकोटको साततल्ले दरबार जानका लागि पिच गरेको थियो । उक्त सडक दुई वर्षदेखि फराकिलो र स्तरोन्नति गर्न ठेक्का सम्झौता गरिए पनि द्रुतस्तरमा काम भएको छैन ।

ठेकेदार कम्पनीले ०७२ असोज २८ मा ८ करोड ८० लाख ३९ हजारमा ठेक्का सम्झौता ०७४ असोजमा बुझाउने सहमति थियो । पटक–पटक म्याद थपेर अहिलेसम्म सडक काम पूरा भएको छैन ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?