सडक भास्सिँदा कोदारी राजमार्ग अवरुद्ध

अनिश तिवारी

डाक्लाङ (सिन्धुपाल्चोक) — कोदारी राजमार्गअन्तरगत डाक्लाङ खण्डमा माथिबाट आएको खोल्साले सडक बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् ।

सिन्धुपाल्चोक अविरल वर्षाले भास्सिएको बाह्रबिसे तातोपानी सडकखण्डको डाक्लाङ खण्ड । तस्बिर : अनिश तिवारी/कान्तिपुर

गत सोमबार र बुधवार रातिको अविरल वर्षाको कारण सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जन स्थानमा पहिरो खसेको छ।

Yamaha

‘साता अघिदेखिको वर्षाका कारण बढेको खोलाले सडकमा राखिएको स्लाप ढुंगा पूरै भत्किएर खसेको थियो। त्यसपछि वर्षा भएपपिच्छै डाक्लाङ खण्डको सडक अवरुद्ध हुन थालेको छ,’ प्रत्यक्षदर्शी आयोजनाका कर्मचारी होमनाथ ढकालले भने।

उनका अनुसार बाह्रबिसे तातोपानी सडकखण्ड २६ किलोमिटरमा मध्यबर्खा देखि अवरोध छ। तातोपानी बजार जोड्ने नौकिलो र दशकिलो, पिप्लाङ क्षेत्रदेखि उता सडक अझै मर्मत भइनसक्दा सीमासँगको सम्पर्क टुटेको छ।

धाजा फाटेर गएपछि अझैसम्म सडकको अवरोध खोल्न सकिएको छैन। ‘पहिले सडक खोलाले बगाएपछि भास्सिएको मात्रै थियो, अहिले राजमार्गको स्थानपिच्छै सडकमा पुरा पहिरो झरिरहेको छ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने, ‘पहिरोको साथै सडक खसेकोले मर्मत गर्न सकिएको छैन्, यात्रु, बिरामी बाटैमा अलपत्र छन्।’

बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जसो पहिरो झर्न थालेपछि त्रासमा छन्। पहिरोले स्थानमा जोखिम बढाएपछि सुरक्षाको लागि सशस्त्र र प्रहरी खटिरहेका छन्। महिनांै भइसक्दा पनि बारम्बार पहिरोले बन्द भइरहेको राजमार्गमा यात्रुबस सञ्चालनमा आउन सकेका छैनन्। बोलेरो महगों भएपछि स्थानीय मारमा पर्ने गरेका छन्।

‘काठमाडौं जान हिडेको हिजो त्यसै फर्किनुपर्‍यो, आजपनि बाटो नखुल्ला जस्तो छ,’ भोटेकोसी गाउँपालिका तातोपानी दुगुनाका सन्देन शेर्पाले भने, ‘हिडेर बस चल्ने स्थानसम्म पुग्न तीन/चार घण्टा लाग्छ।’

प्रकाशित : भाद्र २१, २०७५ १०:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हेलम्बुमा फेरि फल्यो स्याउ

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — साढे तीन दशक अघिसम्म हेलम्बुको स्याउको चर्चा निकै हुन्थ्यो । हेलम्बुको चिनारी नै स्याउ थियो । ०४१/४२ सालबाट स्याउमा रोग लाग्यो । फल्न छाडेपछि किसानले स्याउको बोटै काटेर दाउरा बनाएर प्रयोग गरे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथाङमा फलेको स्याउ देखाउँदै किसान । तस्बिर : अनिश

स्याउको बखान कथा जस्तो भयो । अब भने हेलम्बुमा फेरि स्याउ फल्न थालेको छ । स्याउको चिनारीलाई कायम राख्न यहाँका बासिन्दाले दशकअघि थालेको प्रयासले फल्न थालेको हो ।

‘लोभलाग्दा स्याउका बोटले गाउँकै मुहार फेरिएजस्तो भएको छ,’ हेलम्बु मेलम्चीघ्याङका कान्छा घलेले सुनाए, ‘अब पुरानै पहिचानतिर फर्काउने प्रयासमा छौं ।’ उनको ४ रोपनी बारी स्याउका बोटले भरिन थालेका छन् । टसिथाङ, शेर्माथान, घ्यांगुल, नारायणखर्कलगायात गाउँहरूमा स्याउ फलेपछि किसान पनि दंग छन् ।

यहाँ झन्डै हजार बढी स्याउका बिरुवा रोपिएका छन् । ‘भारतको हिमाचल प्रदेशबाट ल्याएको बिरुवाबाट खेती सुरु गरिएको हो । स्याउले पुनर्जन्म पायो,’ घले भन्छन्, ‘स्याउ फलेपछि कृषक थप जाँगरिला बनेका छन् । भित्रैदेखि उत्साह पनि जागेको छ ।’

बारीमा फलेका स्याउ ।तस्बिर : अनिश

अहिलेसम्म हेलम्बु क्षेत्रमा ६० परिवारले स्याउ खेतीलाई व्यावसायिक खेतीका रूपमा अघि बढाएका छन् । बिक्री गर्न भने थालिएको छैन । बल्ल फल्न थालेको छ । ल्हयोल्मो जातिको बस्तीका रूपमा रहेको पर्यटकीय गाउँहरूमा धमाधम स्याउ फल्न थालेपछि पर्यटक पनि आकर्षित हुने स्थानीयको बुझाइ छ ।

एकै जनाले २ सय बिरुवासम्म रोपेका छन् । नयाँ पुस्तालाई पनि स्याउ फल्छ भन्ने विश्वास भएको छ । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाका अनुसार स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । ‘आगामी वर्षदेखि गाउँपालिकाले स्याउ विकास कार्यक्रम तयार गर्नेछ,’ उनले भने, ‘यसबाट हेलम्बुको थप पहिचानका लागि स्याउ खेती कोसेढुंगो बन्छ ।’ आगामी वर्ष स्याउको बिमा र प्राविधिक खर्चका लागि गाउँपालिकाले योजना बनाउने अध्यक्ष शेर्पाले जानकारी दिए ।

‘२०४० सम्म स्याउ बोकेर राजधानीको भृकुटीमण्डप पुर्‍याउने गरिन्थ्यो । तीन दिन बोकेर लगेको स्याउ बेचेर नाफा नहुने, दु:ख मात्र पाइने भएपछि किसान निराश भए,’ वडा १ का अध्यक्ष मिङमार लामाले सुनाए । साढे तीन दशकअघि उत्पादित स्याउले बजार नपाएपछि गाईबस्तुलाई खुवाएको प्रसंग कोटयाउँदै लामाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता पनि जनाए । ‘अहिले हेलम्बु भेगका मुख्य गाउँमा बाह्रैमहिना यातायात सञ्चालन हुन्छ । यसबाट ढुवानीमा पनि सहज हुन्छ,’ स्याउ उत्पादक कर्मातोप्के लामाले भने, ‘उत्पादन बढाउन खेती संरक्षण अभियान चलाउनुपर्छ ।’ प्राविधिक सहयोग सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताए ।

विदेशीहरूले हेलम्बुलाई राजधानीबाट सबैभन्दा नजिक पुरानो ट्रेकिङ रुटका रूपमा चिन्ने गर्छन् । पर्यटक यहाँ बाह्रै महिना आइरहन्छन् । स्याउको गाउँका रूपमा विकास गर्न सके आन्तरिक तथा बाहय पर्यटकको आकर्षण बढ्ने स्थानीयको विश्वास छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT