ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
चितवन — पूर्वपश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–३ झुरझुरेमा बिहीबार राति साढे ८ बजे तेल बोक्ने ट्याङ्कर र मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार निधन हुनेमा दुवैजना मोटरसाइकल चढेका व्यक्ति हुन् ।
पश्चिम नारायणगढबाट पुर्व तर्फ जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको तेल ट्याङ्करसँग ग ५ प ६२६० नम्बरको मोटरसाइकल ठोक्किदा बारा जितपुर–१६ का ३८ वर्षीय प्रेमबहादुर मोक्तान र मकवानपुर छतिवन–४ का ३४ वर्षीय जितबहादुर स्यान्ताङको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुरतर्फ ल्याइदै थियो । अस्पताल नल्याउँदै बाटोमा नै उनीहरूको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित : भाद्र २२, २०७५ ०८:३९प्रतिक्रिया