कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्लेष्मान्तकमा कंक्रिट: पशुपति कोष घेराउ

अभियन्तामाथि दुर्व्यवहार
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा सिमेन्टको ढलान गरेको विरोधमा सम्पदा संरक्षण अभियन्ताले बिहीबार पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् । घेराउका क्रममा विकास कोषका कर्मचारी र अभियन्ताबीच भनाभनसमेत भएको थियो ।

श्लेष्मान्तकमा कंक्रिट: पशुपति कोष घेराउ

अभियन्तालाई कोषका गार्ड र कर्मचारीले लछारपछारसमेत पारेका थिए । पशुपतिका भण्डारी केदार भण्डारीले बोल्ने क्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार उप्रेतीले बोल्न रोकेपछि विवाद बढेको थियो ।

यस्ता कुरा के सुन्नु भन्दै उप्रेती उठेर बाहिर निस्कन खोजेपछि अभियन्ताले उनलाई रोकेका थिए । त्यही क्रममा अभियन्ता आस्था थापालाई कोषका गार्डले लछारपछार पारेका थिए । उनी क्यान्सर पीडित हुन् । ‘मलाई क्यान्सर लागेको भन्दा बढी पीडा भएको छ आज,’ उनले भनिन्, ‘मलाई दुव्र्यवहार गर्नेलाई कारबाही होस् ।’

भण्डारीले बोल्नुअघि प्रदेश ३ का सभासद नरोत्तम वैद्यले बोल्ने क्रममा पनि उप्रेतीले रोकेका थिए । वैद्यले पशुपतिमा राख्न लागिएको सुनको जलाहरी र श्लेष्मान्तकमा कंक्रिट राखेर धार्मिक स्थलमा दुरगामी असर पर्ने काम गरेको भन्दै आपत्ति जनाएका थिए ।

‘हरेक भगवान्का बेग्लै विशेषता छन्,’ वेद्यले भने, ‘पशुपतिमा चारजना भट्टले बाहेक अरूले छुनसमेत पाउँदैनन् । पूजामा सधैं सहयोग गर्ने भण्डारीले समेत छुन पाउँदैनन् । त्यस्तो मन्दिरमा कसले राख्ने जलहारी ? शिव आफू मृगको छालामा नागै बस्ने देवता हुन् । यस्ता देवतालाई यस्तो जलहरी किन चाहियो ? जे पनि निर्णय गर्ने ? तपाईंहरू राजा हो ? हामी रैती हो ? जनताको सल्लाह लिनुपर्दैन यस्तो आस्था केन्द्रमा नयाँ काम गर्दा ?’

कोषले परिपथ बनाउने भन्दै दुई सातादेखि श्लेष्मान्तकमा कंक्रिट राख्दै आएको थियो । कोषका अनुसार मृगस्थली क्षेत्र घुम्न सजिलो होस् भनेर पर्यटक घुम्ने बाटो बनाउन लागेको बताउँदै आएको थियो । २ करोड ९९ लाख रुपैयाँ खर्च गरेर यहाँ ‘वाक वे’ बनाउन लागेको थियो ।

यससम्बन्धी समाचार सार्वजनिक भएपछि विभागले स्थलगत अध्ययन गर्न टोली पठाएको थियो । विभागका अनुसार ७० मिटर लामो र ४ मिटर चौडाइको बाटोमा ढलान गरेको छ । भण्डारीले गुरुयोजना बनाउने भन्दै धमाधम काम गरेकोमा आपत्ति जनाए ।

‘गुरुयोजनाअनुसार पो काम गर्नुपर्‍यो त । दाताले दियो भन्दैमा धमाधम काम गर्ने ?’ भण्डारीले भने, ‘मृगस्थलीमा मृगलाई खुवाउने पानीसमेत छैन । विश्वरुपा छेउमा लास गाड्ने ठाउँ बनाएको छ । लास गाडेको समेत पैसा लिन्छ । कोष व्यापार गर्न आएको हो ? हाम्रो धर्म, संस्कृति मास्न आएको हो कि जोगाउन आएको हो ? ’

पुरातत्त्व विभागले कंक्रिटका सबै संरचना भत्काउन लगाउने जनाएको छ । पहिला बनाउन दिने अनि भत्काउन लगाएर सार्वजनिक सम्पत्तिको नाश भएको भन्दै सम्पदा अभियन्ताले आपत्ति जनाएका छन् । ‘हामीले रानीपोखरीमा सम्पदा मास्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्नेलाई फौजदारी मुद्दा लगाएका छौं,’ सम्पदा अभियन्ता सञ्जय अधिकारीले भने, ‘यहाँ पनि सम्पदा मास्नेलाई हामी छाड्ने छैनौं । तयार भएर बस्नुहोला ।’

कोषले कंक्रिट ओछ्याएको क्षेत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि अवलोकन गरेकी छन् । उनले भुइँचालोले क्षतिग्रस्त विश्वरुपमा मन्दिर, त्यहाँका सत्तल लगायत निरीक्षण गरिन् । ‘यहाँ कंक्रिट ओछ्याएर बाटो बनाउनुभन्दा विश्वरुपाको मन्दिर बनाएको भए हुन्थ्यो,’

खड्गीले भनिन्, ‘वनमा यसरी कंक्रिट ओछ्याउनै हँुदैन । यो विषयमा म सरकारको ध्यानाकर्षण गराउँछु । पशुपति क्षेत्रका पदाधिकारीलाई पनि महानगरमा बोलाएर छलफल गर्छु । सम्पदालाई मास्ने काम कसैले गर्नुहँुदैन । यो घटनाले मलाई धेरै संवेदनशील बनाएको छ ।

महानगर वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश डंगोलले जनप्रतिनिधिलाई जानकारी नै नदिई कोषले आफूखुसी निर्माण गरेको बताए । ‘स्थानीय सरकारको अधिकार के हो ? कोषले यता ध्यान दिएको छैन,’ उनले भने, ‘कोषले स्थानीय सरकारलाई बाइपास गरेर काम गरिरहेको छ । अब हामी यस्तो गैरकानुनी काम हुन दिँदैनौं । कोषले गर्ने हरेक कामको निगरानी राख्छौं । यस्तो गर्दै गयो भने हाम्रो महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीबाट हटाइदिने खतरा छ ।’

कोषले विश्वरुपमा अगाडि १ सय ७० मिटर क्षेत्रमा सिमेन्टको ढलान गर्ने काम सकेको छ । ढलानमाथि ढुंगा ओछ्याउने काम भने रोकेको छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?