३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

नयाँ संहिता लागू भएको १५ दिनमा २५ वटा सम्बन्धविच्छेदका मुद्दा, जसमध्ये पुरुषका १३ वटा
प्रताप विष्ट

हेटौंडा — मकवानपुर भीमफेदी २ का सुरेन्द्र मोक्तान अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । तीन वर्षदेखि पत्नी अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा भदौ ३ गत उजुरी दर्ता गरे ।

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

हेटौंडा उपमहानगरपालिका १७ का २५ वर्षीय शर्मा थरका एक युवकले पनि भदौ ८ गते सम्बन्धविच्छेदका लागि उजुरी दिएका छन् । पत्नी घरभन्दा बढी माइती बस्ने गरेको, घरव्यवहार प्रतिजिम्मेवार नभएको र नगद सम्पत्ति हिनामिना गरेकाले अलग हुन चाहेको शर्माको जिकिर छ ।

भदौ १ गतेदेखि मुलुकमा नयाँ संहिता लागू भएको छ । नयाँ संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि महिलासरह अदालत जान सक्ने बनाएको छ । यो व्यवस्था लागू पछि मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालतको ढोका ढकढक्याउने पुरुषको संख्याले महिलालाई उछिनेको छ ।

नयाँ संहिता लागू भएको १५ दिन (भदौ १५ सम्म) जिल्ला अदालत मकवानपुरमा २५ वटा सम्बन्धविच्छेदका उजुरी परेका छन् । त्यसमध्ये १३ पुरुषले उजुरी दर्ता गराएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेद गर्न एक जना पनि पुरुष अदालत गएका थिएनन् ।

‘सम्बन्धविच्छेदका बारेमा अदालतमा बुझ्न आउने पुरुषको संख्या बाक्लै छ,’ अदालतका एक कर्मचारीले भने, ‘महिलाको कारणले पुरुषहरू थिचोमिचोमा परेका रहेछन् क्यारे, त्यसैले बुझ्न आउने र उजुरी दर्ता गर्ने पनि बढी नै छन् ।’ पहिले महिलाका तर्फबाट सम्बन्धविच्छेदको उजुरीको ओइरो लाग्थ्यो ।

गत आवमा अदालतमा महिलाहरूकोतर्फबाट सम्बन्धविच्छेदको ४ सय १ थान उजुरी परेका थिए । तीमध्ये २ सय ९१ वटा मुद्दा फैसला भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेद सम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् ।

यसपछि पत्नीसरह पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने भएका हुन् । लगातार तीन वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् ।

पत्नीले अरू कुनै परपुरुषसित यौनसम्बन्ध राखेको अवस्थामा पनि सम्बन्धविच्छेद हुन सक्छ । ‘समानताका नाममा कानुनले पुरुषको सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता मदन दाहालले भने, ‘यसले सम्बन्धविच्छेद गर्न चाहने पुरुषहरूको संख्या अदालतमा बढेको हो ।’

विगतमा स्वतन्त्र हुने नाममा ससाना मनमुटावमा पनि पति–पत्नीबीच सम्बन्धविच्छेद हुने क्रम बढेको छ । विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाहरूको जोडी पनि छ । गत आवमा जिल्ला अदालत मकवानपुरमा विवाह गरेको ११ महिना पनि नपुग्दै ३ जोडीले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका थिए ।

नयाँ संहिता कार्यान्वयनमा आएपछि जिल्ला अदालत मकवानपुरमा ६० वर्ष पार गरिसकेका वृद्धले पनि सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका छन् ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?