१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भूकम्पपीडित अझै टहरामै

कृष्ण थापा

नुवाकोट — भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि विदुरनगरपालिका २ भैरवीथानका ५६ वर्षीय चतुरमान कसाई अझै टहरामै छन् ।

भूकम्पपीडित अझै टहरामै

भूकम्पले पूरै घर लडाएपछि बाँच्न सफल भएका उनीहरूको परिवार पुराना जस्तापाताले छाएको टहरामा छन् । परिवारमा छोराछोरी नातिनातिना गरी २१ जनाको परिवार टहरामै बसेको छ । उनीहरू अलग भएका छैनन् ।

टहराले कसाई परिवारले तीन हिउँद र वर्षा काटिसकेको छ । तैपनि उनले नयाँ घर बनाउने मेलोमेसो मिलाउन सकेका छैनन् । लाभग्राही सूचीमा समेत अझै अटाएका छैनन् । उनीसँंगैका छिमेकीले घर बनाउन थालेका छन् भने केहीको अन्तिम चरणमा छ ।

‘सेवाग्राहीको लिस्टमा परेर रकम आउला र ऋण खोजेर टाउको अटाउने बास बनाउँछु भनेको सकिएको छैन,’ उनले भने, ‘खै सरकारले पनि हेरेन ।’ उनले गुनासोमा फारम धेरैपटक भरे । उनी मात्र नभई छिमेकी रामबहादुर कसाईको पनि हालत उस्तै छ । ‘गुनासोमा नाम आउँछ भनेर बसेको छु,’ उनले भने, ‘अहिलेसम्म भूकम्पपीडितको नाममा समावेश हुन सकिएन । घर बनाउन पनि सकिनँ ।’

उक्त वडाकै कुवापानीका गोविन्दप्रसाद आचार्य भूकम्पले घर गर्लम्यै ढल्यो । टहरामा बस्दै आएका उनी सरकारले लाभग्रही सूचीमा राख्ला र थपथाप गरेर बस्ने ठाउँ बनाउला भनेर आशमा बसेको बताए ।

२ नम्बर वडामा ७८ जना भूकम्पपीडितको नामावली छुटेको वडा कार्यालयले जनाएको छ । ‘गुनासो सम्बोधनमा भरेर पठाइएयो । अझै भूकम्पपीडित सेवाग्राहीमा परेनन्,’ विनपा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले भने । त्यसैगरी १० नम्बर वडामा वास्तविक भूकम्पपीडित लाभग्राही सूचीमा परेका छैनन् ।

लाभग्राही सूचीमा तीन पटक भरेको स्थानीय अर्जुन मिजारले बताए । ‘वडामा धाएको धायै छु,’ उनले भने । विनपा १० मा ६८ भूकम्पपीडितको नाम छुटेको वडाध्यक्ष गणेशकुमार नेपालले बताए । ‘उनीहरूको नाम समावेश गर्न पुनर्निर्माण प्राधिकरणमा भनेको छु,’ उनले भने ।

विदुरनगरपालिकाभित्र ५/६ सय जना भूकम्पपीडित लाभग्राही सूचीबाट छुटेको जनाएको छ । उपप्रमुख गीता दाहाल अर्यालले ती भूकम्पपीडितलाई समावेश गर्न पहल भइरहेको बताइन् । पुनर्निर्माण प्राधिकरणले जिल्लाका ७५ हजार १ सय ३६ भूकम्पपीडित पहिचान भएको जनाए पनि गुनासो सम्बोधन गर्न सकेको छैन ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?