अधुरा पुल कसले बनाउने

राजेन्द्र मानन्धर

दोलखा — दोलखामा आधाउधी बनिसकेका तर पूरा नभएका आठ वटा झोलुङ्गे पुल अब कसले बनाउने भन्ने अन्योलमा छ ।

झोलुङ्गे पुल प्राथमिकतामा राख्ने प्रधानमन्त्री केपी वली पुन: प्रधानमन्त्रीमा नियुक्त भए तर अति आवश्यकीय उक्त झोलुङ्गे पुलबाट मानिस आवतजावत गर्ने इच्छा भने पूरा भएन । पुलकै अभावमा यस वर्ष पनि दोलखामा खोलाले बगाएर एक महिलाको ज्यान गयो । त्यसपछि पनि उक्त अधुरा झोलुङ्गे पुलहरूको काम अघि बढाउनेतर्फ कसैले वास्ता गरेनन् ।

जिल्ला विकास समिति दोलखा अस्तित्वमा रहेका बेला आठवटा झोलुङ्गे र तीनवटा गाडी गुड्ने पुलको निर्माण आरम्भ भएका थिए । उक्त सबै पुलहरू जिल्ला समन्वय समिति अस्तित्वमा आएपछि अलपत्र भएका हुन् । जिल्ला समन्वय अधिकारी तुलसी गौतमका अनुसार आधाउधी सम्पन्न भइसकेका पुलहरूको बाँकी बजेट नआएकाले अलपत्र भएका हुन् ।

Yamaha

पुल अभाव खेपिरहेका भीमेश्वर नगरपालिका– ४ निवासी हीरा चौलागाईंले जिल्ला विकास समितिबाट सम्झौता गरेर पुल बनाउने काम सुरु गरेको तर अहिले पैसा आएन भन्दै उक्त कार्यालय पन्छिरहेको बताए । उनले चरिकोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भने, ‘उपभोक्ताका तर्फबाट गर्नुपर्ने श्रमदान सकियो तर पुलका लागि सामान भने आएन किन ?’

उक्त प्रश्नको जवाफ दिन सार्वजनिक सुनुवाइमा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेलाई भनियो । उनी आफूले जवाफ नदिइकन समन्वय अधिकारी तुलसी गौतमलाई भने । उनले पनि जिल्ला इन्जिनियर निर्मलदर्शन आचार्यलाई जवाफ दिन लगाउँदै आफू पन्छिए ।

जिल्ला इन्जिनियरले उक्त कार्यक्रममा जवाफ दिइएअनुसार अपुरा झोलुङ्गे पुलहरू बनाउने जिम्मा केन्द्रले नै लिएको छ । त्यसैले अधुरा पुलका लागि जिल्ला समन्वय समिति र स्थानीय तहहरूमा बजेट पठाएको छैन ।

दोलखामा हाल करिब एक सय ४० वटा झोलुङ्गे पुलहरू छन् । करिब २० वटा पुलहरू अझै आवश्यक छन् । जसमध्ये ११ वटा पुल निर्माणको काम जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयबाट हुँदै थियो ।

नयाँ संरचनाअनुसार जिल्ला प्राविधिक कार्यालय खारेज गरेपछि पुलका लागि कसले प्राविधिक सहयोग गर्ने भन्ने अन्योल भयो । जिल्ला समन्वय समितिलाई पनि समन्वय र अनुगमनको काम मात्रै दिइएपछि पुलहरूका लागि बजेट आउन छाड्यो ।

खोलानाला बढी भएको दोलखामा बिनापुल वर्षात्का बेला मानिसलाई यताउता गर्न ज्यान जोखिम मोल्नुपर्छ । बर्सेनि खोलाले बगाएर मानिस अङ्गभङ्ग भइरहेका हुन्छन् । विद्यालयका बालबालिकादेखि घाँसदाउराका लागि आवतजावत गर्नेहरूले ज्यानसमेत गुमाइरहेका घटना छन् ।

प्रधानमन्त्रीले तुइन विस्थापन र झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकता दिए पनि कर्मचारीतन्त्रले पुल निर्माणको अधिकार केन्द्रमा तानेको छ । विकास निर्माणको पर्याप्त अधिकार स्थानीय तहलाई दिइएको छ । तर झोलुङ्गे पुल निर्माणको अधिकार केन्द्रले खिच्ने उल्टो कार्यप्रति स्थानीय जनप्रतिनिधिहरू असन्तुष्ट छन् ।

जिल्ला समन्वय समिति प्रमुख डलब पाण्डेले सुरु भएका पुल निर्माण कार्यसमेत बजेटको व्यवस्था गरेर अपुरो छाड्ने अवस्थामा पुर्‍याउनु लाचारी भएको बताए । केही जनप्रतिनिधिले स्थानीय तहमा जान नचाहने कर्मचारीहरूले काम गरेको देखाउन अधुरा झोलुङ्गे पुलहरू निर्माणको अधिकार केन्द्रमै खिचेको आरोपसमेत लगाएका छन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उडुस

जसले भूगोल वा मानिसको रोगनमा विभेद नगरी सबैलाई बराबरी हैरानी दिन्छ
अतुल मिश्र

काठमाडौँ — जीवनको कुनै कालखण्डमा उडुसको हैरानीमा नपरेका मानिस कमै होलान् । के गाउँघर के सहरबजार, के अति कम विकसित मुलुक के अति विकसित मुलुक, उडुसले छालाको रंग नहेरी, कुनै विभेद नगरी सबैतिरका मानिसलाई उत्तिकै दु:ख दिने गर्छ ।

दिनभरको कुदाकुदबाट लखतरान परेर जब हामी राति झकाएका हुन्छौँ, उडुसले आफ्नो काम थालिहाल्छ ।

उडुसले हाम्रो निद्रा र मुड मात्रै खराब गरिदिँदैन, बिमिरा र चिलाइको उपहार पनि दिने पर्छ । त्यतिले नपुगेर एक प्रकारको गन्धबाट समेत टाउको दुखाइदिने गर्छ ।

उडुसको टोकाइले हाम्रो छालामा सेकेन्डरी संक्रमण पनि हुने सम्भावना रहेको औंल्याउँदै धुलिखेल अस्पतालको छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘कसैकसैमा यो टोकाइले कडा एलर्जिक प्रतिक्रिया पनि हुन सक्छ ।’

उडुसले टोक्दा हाम्रो शरिरमा छोड्ने गरेको र्‍यालमा पाइने प्रोटिनले गर्दा एलर्जिक प्रतिक्रिया हुन्छ ।

कहिलेकाहीँ उडुसको टोकाइलाई चिलाउने बिमिरा, डाबर, दादुरासमेत ठान्ने गरिन्छ ।

उडुसको समस्या ग्रामीण परिवेश, सरसफाइको कमी भएको अविकसित ठाउँमा मात्र हुन्न । फाइभ स्टार होटल, हवाई जहाज, रेल, चारपांग्रे सवारीसाधन, अपार्टमेन्ट, अस्पताल, जेल, वृद्घाश्रम, धर्मशालालगायत सबैजसो ठाउँमा यसले उस्तै हैरानी दिने गर्छ ।

‘उडुसको कुरा चल्दा एउटा रहस्य अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन्,’ डा. कर्ण भन्छन्, ‘अमेरिकामा ४० वर्षसम्म गायब रहेको उडुस ९० को दशकको अन्त्यदेखि फेरि फैलियो । यसको कारण खोतल्दैमा यत्रो वर्ष बितिसकेको छ ।’

सन् १९५० मा डीडीटीको माध्यमले अमेरिकामा उडुसलाई नियन्त्रण गरिएको थियो । यसपछि उडुसले विभिन्न विषादी, रसायन आदिप्रति प्रतिरोधी क्षमता हासिल गर्दै आफ्नो अस्तित्व कायम राख्दै गयो ।

उडुस हामी आराम गर्ने ठाउँको ८–१० फिट भित्र हुने गर्छ । उडुस एक ठाउँबाट अर्को ठाउँमा मानिस र उसले उपयोग गर्ने समान, फर्निचर आदिका माधयमले सर्ने गरेको छ ।

उडुसले रगत चुस्दा आफ्नो शरीरमा धेरै प्रकारका मानवीय रोगको जीवाणु लिए पनि यसले स्वस्थ व्यक्तिमा रोग सारेको कुनै प्रमाणित केस नरहेको औंल्याउँदै डा. कर्ण भन्छन्, ‘यसको टोकाइले सामान्य रूपमा कुनै संक्रामक रोग नसर्ने भएकोले यसबाट आत्तिनुपर्ने अवस्था छैन ।’

उडुसले रोग नसार्ने भएकैले यो समस्या जटिल रहे पनि सरकारी अनुसन्धान, नियन्त्रण आदिको प्राथमिकतामा पर्ने गरेको छैन ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार उडुसले रोग फैलाउँदैन । तर यसको उपस्थिति कष्टप्रद हुन सक्छ। किनभने यसले टोक्दा चिलाउने समस्यासँगै निद्रामा समेत गडबडी उत्पन्न हुन्छ ।

उडुसको टोकाइले हरेक व्यक्तिलाई फरकफरक प्रकारले प्रभावित पार्ने गरेको छ । उडुसले टोक्दा छालामा कुनै चिनो नदेखिने सक्छ वा सानो दाग हुन सक्छ वा कडा एलर्जिक प्रतिक्रियासमेत हुन सक्छ ।

उडुसलाई खतरनाक नमानिए पनि यसले धेरै टोक्दा टोकाइपछि हुन सक्ने एलर्जीसम्बन्धी प्रतिक्रियामा चिकित्सा सहयोग आवश्यक हुन सक्ने डा. कर्ण आैंल्याउँछन् ।

उडुसको टोकेपछि अनुहार, पाखुरा, घाँटी, हातसँगै शरीरको कुनै पनि भागमा दाग हुन सक्छ । यो टोकाइको चिनो केही व्यक्तिमा विकसित हुन दुई सातासम्म लाग्छ । उडुसको टोकाइ लामखुट्टे, भिँmगालगायतको टोकाइजस्तै देखिन्छ ।

घरेलु उपचार
अमेरिकन एकेडमी अफ डर्मेटोलजी (एएडी) का अनुसार, यदि उडुसको टोकाइपछि संक्रमण वा कडा प्रतिक्रियाको कुनै चिनो देखिएको छैन भने तपाईं घरमै टोकाइको उपचार गर्न सक्नुहुन्छ । यसअन्तर्गत, टोकेको भाग साबुनपानीले धुनुपर्छ । यसो गर्दा छालाको संक्रमण हुन पाउन्न । चिलाउने समस्या पनि घट्छ ।

टोकेका ठाउँमा निकै चिलाउने गरेको भए ‘कोर्टिकोस्टेराइड’ मलम लगाउन सकिन्छ । एएडीका अनुसार, एकदुइ सातामा समस्या हराउँछ ।

‘टोकाइले उत्पन्न संक्रमण सामान्य छ भने एन्टिसेप्टिक क्रिम भए पुग्छ तर कहिलेकाहीँ एन्टिबायोटिकसमेत आवश्यक हुन सक्छ,’ डा. कर्ण भन्छन्, ‘उडुसको टोकाइमा संक्रमणबाट जोगिन एन्टिसेप्टिक क्रिम वा लोसन लगाउनुपर्छ । चिलाउने समस्या कम गर्न एन्टिहिस्टामाइन्सको उपयोग गर्न सकिन्छ । सामान्यभन्दा फरक समस्याजस्तो लागे छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।’

के हो उडुस ?
उडुस एक प्रकारको परजीवी हो । प्वाँख नभएको, अण्डाकार शरीर भएको यो कीरा मानिस/जनावरको रगत चुस्नुअघि चौथाइ इन्चको कागजको चिर्कटोजस्तै सम्म हुन्छ । रगत चुसेपछि यसको शरीर फुल्न थाल्छ ।

उडुसको जीवनकाल एक वर्ष जतिको हुन्छ । पोथी उडुसले आफ्नो जीवनकालमा दुई सयदेखि चार सयसम्म फुल पार्न सक्छ ।

उडुसले पाएसम्म मानिसकै रगत चुस्न रुचाउँछ । अन्य स्तनधारी पशुपक्षीलाई समेत टोक्न सक्छ । केही नखाई यो ६ महिनादेखि १ वर्षसम्म बाँच्न सक्छ ।

उडुस मुख्य रूपमा राति सक्रिय हुन्छ । पोथी र भाले दुवै उडुसले हामीलाई राति नै टोक्ने गर्छन् ।

टोक्दा किन थाहा पाइन्न ?
राति सुतेका बेला उडुसले टोकेको तत्कालै अनुभव हुन्न । त्यो किनभने, यसले टोक्दा ताका आफ्नो र्‍यालका माध्यमले एक प्रकारको लठयाउने रसायन हाम्रो छालामा पुर्‍याउँछ ।

यही रसायनको प्रभावले गर्दा उडुसले रगत तानिरहँदा पनि हामी थाहा पाउँदैनौं । उडुसलाई हाम्रो शरीरबाट रगत तानेर पेट भर्न ३ देखि १० मिनेटसम्म लाग्छ ।

उडुस भगाउने सुरक्षित तरिका
उडुस नष्ट गर्ने विभिन्न तरिका भए पनि सुरक्षित खाले, रसायन वा विषादीको प्रयोग बेगर मार्ने उपाय अवलम्बन गर्नु मनासिब मानिन्छ । यो तरिका हानिरहित, सुरक्षित र प्रभावकारी मात्र हैन कम खर्चिलोसमेत छ ।

यसअन्तर्गत सबैभन्दा महत्त्वपूर्ण तरिका ‘ताप’ को उपयोग हो । गाउँघरतिर समेत हामीले यो तरिका जानी–नजानी प्रयोग गर्ने गरेका छौं ।

तातो पानीमा लुगाफाटा, तन्ना, सिरक/सिरानीका खोल आदि भकभक उमालेर धुने गर्दा उडुसको दुहुदुहाइ हुन्छ । योसँगै खाट, कुर्सी, टेबल लगायतका कापकापमा तातो पानी हाल्ने गर्नुपर्छ ।

धुन नमिल्ने लुगाहरू (डसना, सिरानी, सिरक) लाई चाहिँ कडा घाममा मजाले सुकाउनुपर्छ । कालो प्लास्टिकको थैलोमा लुगाफाटा राखेर चर्को घाममा केही घण्टा राख्दा पनि उडुसबाट उन्मुक्ति मिल्न सक्छ ।

उडुसबाट छुटकारा पाउन गाउँघरतिर खाट, कुर्सी आदिलाई खोला वा पोखरीमा केही दिनसम्म डुबाएर राख्ने चलन पनि छ । सहरबजारमा भ्याकुमले सफा गर्दा पनि उडुस केही नियन्त्रणमा आउन सक्छ । तर भ्याकुम मेसिनमा जम्मा भएका उडुसलाई प्लास्टिकको थैलोमा हावा नपस्ने गरी बाँधेर पर फ्याँक्नुपर्छ । नत्र फेरि घर फर्किन सक्छ ।

विषादीको प्रयोग विज्ञको सहयोगमा मात्र गरौं
उडुस निर्मूल गर्न विषादीको प्रयोग गर्नैपर्छ । तर, यसमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । विषादीको आफूखुसी प्रयोगका कारण गाउँघरमा मात्र होइन, सहरबजारतिर पनि भएका दुर्घटनाहरूबारे हामीले सुनेका छौँ ।

यसैले विषादीको उपयोग आफूले गर्नुहुन्न । यसका लागि विषादी वारे जानकार व्यक्तिको सहयोग लिनुपर्छ । हाल सहरहरूमा पेस्ट कन्ट्रोल सेवासमेत छ ।

atulmishra7@gmail.com

प्रकाशित : भाद्र २३, २०७५ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT