१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

थोपा सिँचाइले बढायो उत्पादन

‘थोपा सिँचाइको प्रविधि देखेर अरू कृषक पनि दंग छन्’
अनिश तिवारी

मानेश्वारा (सिन्धुपाल्चोक) — बाह्रबिसे नगरपालिकाअन्तर्गत मानेश्वारा तल्लो टोलकी सरिता भण्डारीले थोपा सिँचाइ प्रविधिबाट तरकारी खेती थालेलगत्तै उत्साहित छिन् ।

थोपा सिँचाइले बढायो उत्पादन

पुरानो शैलीलाई चटक्कै छाडेर आधुनिक खेती गर्दा उब्जनी नहुने डरले आत्तिएकी भण्डारी हाल यसको उत्पादन देखेर दंग परेकी छन् । मापदण्डनुसार २५ फिट लामो टनेल, पोलिथिन पाइपबाट आएको थोपाबाट थालेको उनको तरकारी खेती फस्टाउन थालेको छ ।

‘बल्ल थोपा सिँचाइ प्रविधिलाई बुझ्न थालेको छु, यस्तो प्रकारबाट हुने खेतीले तरकारी उत्पादन बढेको छ,’ भण्डारीले उत्साहित हुँदै भनिन् । पहिलेभन्दा दोब्बर उत्पादन हुन थालेपछि उनले सिँचाइ प्रविधिलाई बढाउँदै लगिरहेको बताइन् । हाल तरकारीबाट ५० हजारभन्दा माथि आम्दानी गरिरहेकी उनको पुरानो तरिकाभन्दा हालको थोपा सिँचाइ वरदान बनेको अनुभव छ ।

‘थोपा सिँचाइको प्रविधि देखेर अरू कृषक पनि दंग छन्,’ उनले भनिन् । थोपा सिँचाइ अपनाएर यहाँका कृषकले काँक्रो, गोलभेडादेखि विभिन्न तरकारीको व्यावसायिक खेती फस्टाएको छ ।

बाह्रबिसे नपा वडा ९ राम्चे गैरीगाउँकी कमला ठकुरीले पहिलो पटक थोपा सिँचाइबाट खेती थाल्दा डराइएकी थिइन् । ‘कतै सबै खेर जाने त होइन्, थोपाबाट कतै खेती होला र भन्ने सोचेको थिए,’ ठकुरीले भनिन्, ‘महिना दिनपछि थोपा सिँचाइबाट भएको तरकारी उब्जनी देखेर दंग परेँ ।’ उत्पादित तरकारीले बजार लिन थालेपछि थोपा सिँचाइ खेतीलाई उपयुक्त प्रविधिको रूपमा ठकुरीले लिएकी छन् ।

टनेलमा गरिएको प्रविधिक थोपा सिँचाइबाट अन्य खेतीलाई समेत सहज भइरहेको कृषकको कथन छ । भूकम्पपछि तरकारी खेतीलाई चटक्कै बिर्सन लागेका कृषकले टुकी संघको सहयोगमा टनेल, टयांकी र पाइपजस्ता थोपा सिँचाइ सेट पाएपछि फेरि निरन्तरता दिएका दिन थालेका छन् । नयाँ थोपा सिँचाइ प्रविधिबाट तरकारी खेतीलाई अगाडि बढाएपछि यहाँको जीवनशैली सुधारिँदै गइरहेको छ ।

विभिन्न संस्थाको मदतबाट नयाँ प्रविधि भित्रिन थालेपछि सरिता र कमलाजस्ता कृषक गाउँगाउँमा भेटिन्छन् । दुर्गम गाउँगाउँमा थोपा सिँचाइबाट तरकारी खेती हुन थालेपछि कृषिलाई व्यावसायिक बनाउने लहर नै चल्न थालेको छ । स्थानीय तहको समन्वयमा नगरदेखि गाउँपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ ।

कृषि विकास कार्यालयका दुर्गादत्त पन्थीका नुसार पुरानो तरिका छोडेर नयाँ थोपा सिँचाइतर्फ लाग्ने कृषकको समूह बढ्न थालेको छ । ‘संस्थाबाट सामग्री सहयोग पाएपछि जिल्लाभर नै यसको प्रयोग बढिरहेको छ,’ उनले भने, ‘कृषि पेसामा यसले पारेको सकरात्मक प्रभावले गर्दा प्रयोग बढिरहेको हो ।’

प्रकाशित : भाद्र २३, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?