कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेपाङले मनाए सामूहिक छोनाम

काठमाडौँ — चेपाङ समुदायको सबैभन्दा महत्त्वपूर्ण र ठूलो धार्मिक पूजा छोनाम (न्वाँगी) पर्व सामूहिक रूपमा मनाइएको छ । अन्य समुदायको प्रभाव र धर्म परिवर्तनले आफ्नो संस्कृति र पहिचानमा समस्या भएको भन्दै नेपाल चेपाङ संघको सक्रियतामा केही वर्षदेखि सामूहिक छोनाम मनाउन थालिएको हो ।

चेपाङले मनाए सामूहिक छोनाम

विगतमा भदौ पूर्णिमामा चेपाङहरूले एक्लाएक्लै घरमा छोनाम मनाउँथे । प्रकृति पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गरेपछि छोनाम लोप हुँदै गएको थियो । परिवर्तनकारी युवा चेपाङहरू सक्रिय भएर नेपाल चेपाङ संघको गठन गरेपछि संघले प्रत्येक वर्षको भदौ २२ गते सामूहिक रूपमा छोनाम पर्व मनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार छोनाम पर्व मनाउँदै आएका छन् । संघले यो वर्ष चितवनको शक्तिखोरमा सामूहिक रूपमा उक्त पर्व शुक्रबार राति मनाएको छ । मकवानपुरको मनहरि गाउँपालिका—५ प्याङचेमा मानबहादुर चेपाङको घर छोनाम पर्व मनाएको छ ।

चेपाङ समुदायले पितृलाई नचढाई र पूजाआज नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । उक्त पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायतका फलफूल भूमिलाई र पितृलाई चढाउने गरिन्छ । उक्त पर्वमा भोज खाने, सुखदु:खका कुरा गर्ने र रातभर नाचगानको रमाइलो गर्ने चलन छ ।

वर्ष दिनमा कम्तीमा पनि नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठो मसिनो खाएर मुख फेर्ने गर्छन् । भीरपाखामा बस्ने यो जातिका पाखोपखेरामा लगाएको मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले चेपाङ समुदायले उक्त दिन छोनाम (न्वाँगी) पर्व धुमधुामसँग मनाउने गर्छन् । चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन् । छोनाम पर्वमा चेपाङ जातिको जीवन शैली र संस्कृति जोडिएको छ । उनीहरू कहाँ बस्छन् र के खान्छन् भन्ने यो पर्वले चिनारी दिन्छ ।

चितवन मकवानपुर, धादिङ र गोरखाको पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङहरू यो विधिलाई छोनाम अर्थात् न्वाँगी भन्ने गर्छन् । छोनाम चेपाङ समुदायको मुख्य पर्व भएको संविधानसभाका पूर्वसदस्यसमेत रहेका चेपाङ अगुवा गोविन्दराम चेपाङ बताउँछन् ।

चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङका अनुसार साउन सकिएपछि चेपाङ गाउँमा छोनामको रौनक सुरु हुन्छ । चैत/वैशाखमा लगाएको मकै यही सयममा घर भित्रिन्छ । लहरे तरकारीहरू घिरौंला, बोडीका साथै कर्कलो खेतमा हुन्छ । समुदायले साउनपछि आ–आफ्नो ढंगले मनाए पनि चेपाङ संघले संस्थागत रूपमा भदौ २२ गते छोनाम मनाउने गर्छ ।

संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका गोविन्दराम चेपाङ ५४ सालदेखि केन्द्रीय संघले चेपाङ बहुल गाउँमा भदौ २२ गते कार्यक्रम गर्दै आएको बताए । यो पटक केन्द्रीय चेपाङ संघले चितवनको शक्तिखोरमा कार्यक्रम राख्यो । शुक्रबार आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश–३ का कृषि मन्त्री दावा दोर्जे लामा थिए । उनले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गरे ।

ढ्याङ्ग्रो छोनाम पर्वको विशेष सामग्री हो । ‘यही ढ्याङ्ग्रो रातभरि बजाएर हाम्रो पुजारी अर्थात् पान्डे अथवा झाँक्रीले देवी, देवता, पुर्खा सम्झन्छन्,’ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भने । रातभर पान्डे (धामी)ले फलाकेपछि बिहान सबेरै नुहाएर पूजा पाठ चल्छ । त्यसपछि घरमा रहेको नयाँ अन्न रातभर सम्झेका देवी, देवता र पुर्खालाई चढाउने विधि सुरु हुन्छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?