बिरामी नलिएकामा छानबिन माग

‘दोषीलाई कारबाही मागसहित पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्छ’
कान्तिपुर संवाददाता

चितवन — सर्पले टोकेर ३ वर्षीय बालकको उपचार हुन नसकेको विषयमा अस्पतालहरूमाथि छानबिन गरी कारबाहीको माग गर्दै आइतबार चितवन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।

उपभोक्ता अधिकार संरक्षण मञ्चले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । प्रजिअ बस्नेतले पनि यस्तो खालको कमजोरी क्षम्य नहुने भएकाले कारबाही प्रक्रिया थाल्ने वचन दिए । भरतपुर १५, मंगलपुरका ३ वर्षीय सलिन विकलाई बुधबार राति करेत सर्पले टोकेपछि उनका कान्छा हजुरबुबाले भरतपुर अस्पताल पुर्‍याएका थिए । बिरामीलाई दिने सुई भए पनि पीआईसीयू नभएको भन्दै शिक्षण अस्पतालमा जान भनिएको थियो ।


भरतपुरका २ शिक्षण अस्पताल र अन्य २ निजी अस्पताल जाँदा पनि बच्चा भर्ना गरिएन । अन्तिममा फर्केर भरतपुर अस्पतालमै आए पनि बच्चालाई बचाउन सकिएको थिएन । ‘यस्तो सुगम जिल्लामा यस्तो घटना हुन्छ भने दुर्गमको अवस्था के होला ? अस्पतालले बाँच्ने ग्यारेन्टी भएका वा पैसा खर्च गर्न सक्नेलाई मात्र उपचार गर्न खोजेको हो,’ ज्ञापनपत्रमा प्रश्न गरिएको छ ।

Yamaha


नाफा मात्र लिन खोलिएका अस्पतालका कारण यस्तो भएको हुँदा छानबिन समिति बनाएर कारबाही प्रक्रिया सुरु गर्न उपभोक्ता अधिकार संरक्षण मञ्चका कार्यवाहक जिल्ला अध्यक्ष विष्णु भुसालले माग गरे । मञ्चले दोषीलाई कारबाहीको माग गरेको छ । पीडित परिवारलाई राहत उपलब्ध गराउन पनि जोड दिएको भुसालले बताए । पीडित परिवारले पनि आइतबार प्रजिअ र अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टलाई भेटेका छन् ।


‘हामीले प्रजिअ र अस्पतालका मेसु भेटेर कुरा राखेका छौं । २ दिनमा मागअनुसार कारबाही हुन्छ भन्नुभएको छ,’ मृतकका हजुरबुबा बलराम विकले भने ।

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ ०९:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

३ वर्षपछि सकियो विद्यार्थीको कष्ट

कान्तिपुर संवाददाता

रामेछाप — बाँसको टहराबाट छिर्ने चिसो सिरेटो र जस्ताबाट झर्ने शीतले अब धोबीको झट्टेश्वर माविका विद्यार्थीलाई सताउने छैन ।

भूकम्पपछिका ३ वर्ष कष्ट सहेर छाप्रोमा अध्ययन गरेका विद्यार्थी हेर्दै लोभलाग्दो आधुनिक भवनमा सरेका छन् । ‘अब जाडो र शीत दुवै छलिएका छन्,’ छात्रा प्रमिला तामाङले बताइन् ।


आफूले कल्पना गरेभन्दा राम्रो भवन पाएको स्थानीय कुमार पाख्रिन बताउँछन् । झन्डै ७ सय विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा ५ आधुनिक भवन निर्माण भएका छन् । सबै सुविधासम्पन्न र शैक्षिकमैत्री छन् । भवनसँगै डेस्सबेन्चलगायत शैक्षिक सामग्री पनि प्राप्त भएसँगै अभिभावक र शिक्षक दुवै खुसी छन्। ‘अब शैक्षिक पूर्वाधारको अभाव रहेन, सबैको दिलोज्यान गुणस्तरीय शिक्षाका लागि हुुनुपर्छ,’ प्रधानाध्यापक रुक्मणी बस्नेतले बताइन् । गाउँपालिकाको केन्द्रमा रहेको उक्त विद्यालयलाई सिकाइ उपलब्धिका हिसाबले पनि नमुना बनाउने काममा लागिपर्ने बस्नेतले बताइन् । ‘हामी सबैको ध्येय अब गुणस्तर पठनपाठनमा हुनेछ,’ उनले भनिन्।


भूकम्पबाट क्षति भएको उक्त विद्यालयको भवन एसियाली विकास बैंकको लगानीमा पुनर्निर्माण भएको हो । खानी/शर्मा जेभीले विद्यालय भवन निर्माणको ठेक्का पाएको थियो ।


निर्माण व्यवसायीले तोकिएको समयमा नै निर्माण कार्य सकेर विद्यालयलाई भवन बुझाएको हो । लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले एक कार्यक्रमबीच भवनको साँचो प्रधानाध्यापक बस्नेतलाई हस्तान्तरण गरेका छन् । साँचो हस्तान्तरण गर्दै खड्काले सुविधासम्पन्न आधुनिक भवनमा सरेका बालबालिकाहरूले अध्ययनमा निखार ल्याउनुपर्ने बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT