कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आगम्छे बनाउन विदेशीलाई नदिइने

दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्ने आगम्छे निर्माण गर्न अब विदेशीलाई नदिइने भएको छ । पुरातत्त्व विभागले जापानलाई दिने तयार पारेको आगम्छेको सम्पदा अभियन्ता, जनप्रतिनिधि लगायतको विरोध भएपछि विभाग पछि हटेको हो ।

आगम्छे बनाउन विदेशीलाई नदिइने

जापानले यसका लागि अनुदानसमेत दिइसकेको थियो । अनुदान दिए पनि आफूले चाहेको एक एनजीओलाई निर्माण गर्न दिने विषयमा कुरा नमिलेपछि जाइकालाई दिने प्रक्रिया अघि बढेको थिएन ।


मल्ल राजाको कुलदेवताका रूपमा पुजिंदै आएको आगम्छे शाहवंश सुरु भएपछि बन्द गरिएको थियो । अरूको धार्मिक भावनाको कदर गर्दै शाहहरूले यो मन्दिर टेकेनन् । यस्तो सम्मानका साथ राखिएको मन्दिर बनाउन विदेशीलाई दिने तयारी भएको थियो । विरोध भएपछि सम्पदा अभियन्ता, स्थानीयवासीलगायतलाई मनाउने उद्देश्यले पुरातत्त्व विभागमा बैठक राखिएको थियो ।

बैठकका सहभागीलाई मनाउने कोसिस महानिर्देशक भेषनारायण दाहालले गरेका थिए । ‘विदेशीलाई छिर्न दिने होइन,’ दाहालले भने, ‘बनाउने हाम्रै मान्छेले हो । अनुसन्धान गर्ने क्रममा जापानी प्राविधिक मन्दिरभित्र जान्छौं भनेका थिए । तर हामीले दिएनौं । चाँगुनारायण र शान्तिपुर पनि यस्तै गोप्य मन्दिर हुन् । ती मन्दिरमा पनि हामीले त्यहींका पुजारी परिवारलाई बनाउने जिम्मा दियौं । यहाँ पनि गर्ने त्यही हो ।’


दाहालको आश्वासनमा सम्पदाप्रेमी सहमत भएनन् । ‘नौतले दरबारमा पनि हाम्रै प्राविधिकले बनाउने भनिएको थियो,’ सम्पदा बचाउ अभियान संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘सुरुमा त्यसो भन्ने मात्रै हो । अहिले जुद्ध सालिकदेखि चीनको झन्डा गाडिएको छ । गद्दी बैठक अमेरिकाले रेट्रोफिटिङ गर्‍यो । त्यहाँ पनि अमेरिकाकै झन्डा फहरायो । अब हामी आगम्छेमा जापानको झन्डा फहराउन दिंदैनौं ।’


प्रदेश सांसद राजेश शाक्यले पनि गोप्य मन्दिर विदेशीलाई दिने पुरातत्त्वको योजनामा असहमति जनाए । ‘हामीले जनताको कुरा सुन्नुपर्छ,’ उनले भने, ‘जनताले आफ्नो सम्पदा बनाउन विदेशी गुहार्नु हुँदैन भनेका छन् । आगम्छेको धेरै महत्त्व छ । छोरीको बिहे गरेको छ भने आगम्छेमा पस्न पाइँदैन । त्यति कडा नियम हुन्छ । म ४५ वर्षको भएँ । तर अझै म आगम्छेमा छिरेको छैन । किनभने म दीक्षित भएको छैन ।’


विदेशीलाई बनाउन नदिने प्रक्रिया अगाडि बढाउन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गर्ने जानकारी दिएको छ । ‘हामीले रद्द गर्न सक्दैनौं,’ महानिर्देशक दाहालले भने, ‘यहाँ भएको निर्णय मन्त्रालय पठाइदिन्छौं ।’


यसको जीर्णाेद्धार हनुमानढोका दरबारबार हेरचाह अड्डा र काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा गरिने निर्णय पनि बैठकले गरेको छ । दाहालका अनुसार जापानले दुई मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेको लागि १३ करोड रुपैयाँ र पाटनको देगु तलेजुका लागि २० करोड छुट्याइएको छ । हनुमानढोका दरबारको पछाडि पर्छ आगम्छे । लामो बार्दली भएको घर छ । त्यसको माथिल्लो तलामा छ आगम्छे । पुरातत्त्वविद् विष्णुबहादुर कार्कीका अनुसार तलको दुई तला चन्द्रशमशेरले निओ क्लासिकल शैलीको बनाए । माथिल्लो तला आगम्छे भने मल्लकालीन शैलीमै छ ।


इतिहासकार गौतमवज्र वज्राचार्यका अनुसार यस मन्दिरभित्र मल्ल राजाहरूले गुप्त तरिकाले पूजा गरिने आगम देवता स्थापना गरिएका छन् । आगम्छेमा आफ्ना वंशबाहेक अरू छिर्न नमिल्ने कडा नियम बनाइएको हुन्छ ।


आफ्नो वंशका बाहेक अरू छिर्न नपाउने नियम भएकै कारण शाहवंश सुरु हुनासाथ यो मन्दिर बन्द भएको वज्राचार्य बताउँछन् । पृथ्वीनारायण शाहले वि.सं. १९२६ मा कान्तिपुर विजय गरेका थिए । कान्तिपुर विजय गरेपछि मसानचोक छेउमा बसेका थिए । पछि नौतले दरबार बनाएर सरेका थिए । नेपाल एकीकरण गरेपछि यहाँ प्रचलित सबै परम्परालाई पृथ्वीनारायण शाहले अंगीकार गरेका थिए । आगम्छेमा नछिर्ने, कुमारी रथयात्रालाई निरन्तरता दिनेलगायत सांस्कृतिक क्रियाकलापमा कुनै बाधा गरेका थिएनन् । आफ्ना कुनै संस्कृतिमा हस्तक्षेत्र नगरेकै कारण यहाँका नेवार समुदायले शासन सत्ता परिवर्तनलाई सजिलै स्वीकारेको इतिहासकार बताउँछन् ।


यसको निर्माण प्रताप मल्लले गरेका थिए । शाहकालमा भित्र नछिरे पनि बाहिर भागमा भने शाहवंशमा पनि केही काम भएका थिए । यस मन्दिरको बुइँगलको सानो घण्टामा अभिलेख पनि छ । अभिलेखअनुसार यसमा घण्टा गीर्वाणयुद्धविक्रम शाह र सुवर्णप्रभावदेवीले वि.सं. १८५७ मा चढाएका थिए ।


मन्दिरका टुँडाल पनि कलाकृतिले भरिएका छन् । यहाँ शैव सम्प्रदायका देवीदेवताको चित्र अंकित छन् । मन्दिरका केही थप विशेषता छन्, जुन धेरै मन्दिरमा छैनन् । छानाको कुनाकुनामा कुँपा बनाइएका छन् । कुँपाको स्वरूप मयूरको जस्तो छ । छानाको मुनि चार सुरमा दुई–दुईवटा कुँसल जोडिएका छन् । मन्दिरको टुप्पाको गजुर पनि विशेष किसिमको छ । गजुर कलशको आकारको छ । धातुको सानो देवल जस्तो पनि देखिन्छ गजुर । यस्तो गजुर पनि मन्दिरमा बिरलै भेटिन्छ । पाटनको कृष्ण मन्दिरमा यस्तै गजुर प्रयोग भएको छ । सम्भवत: यस्तो गजुर कृष्ण मन्दिर र आगम्छे मात्रै छ ।


गोप्य मन्दिरलाई बनाउन विदेशीलाई दिन नहुने स्थानीयको मागलाई सरकारले सुनेको छैन । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार आगम्छे, जगन्नाथ र शिव मन्दिर गोप्य मन्दिर हुन् । यहाँ तान्त्रिक विधिबाट पूजा गरिन्छ । यो मन्दिरमा मल्ल राजाका सबैभन्दा पुरानो अभिलेख छ । यहाँ महेन्द्र मल्लको वि.सं १६१९ को अभिलेख छ । वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्र गरी चार देवताको संयुक्त मूर्ति छ यहाँ । यी चारै देवताको संयुक्त रूपलाई चतुर्मूर्ति विष्णु भनेर चिनिएका छन् । मूर्ति प्रस्तरको हो ।

मन्दिरको भित्रको भित्तामा जगन्नाथ, शुभद्रा र बलरामको मूर्ति छ । दुईतले यो मन्दिरमा तल्लो तलामा चारैतिर लहरै ३/३ ढोका छन् । ती तीनमुखेमध्ये बीचको ढोका काठको खापा हालेर खोल्न नमिल्ने बनाइएको छ । अरू दुई ढोका वज्र लगाएर टालिएका छन् । बीचको ढोकाको खापामा महादेवको चिह्न राखिएका छन् । त्रिशूल र तीन आँखा बनाएर महादेवको चित्र अंकित गरिएका छन् । टालिएका ढोकामा तीनकुने विवर राखिएका छन् ।

विवरलाई शाक्त समुदायको देवीको प्रतीक मानिन्छ । यो मन्दिर स्त्री र पुरुषको रतिलीला भएको मन्दिरका रूपमा पनि प्रख्यात छ । वैष्णव र शैव सम्प्रदायका देवता र तान्त्रिक विधिबाट पूजा गरिने मन्दिरमा यस्ता रतिलीलाका काष्ठकला देखाइएका हुन्छन् । मन्दिरमा वज्र नपरोस् र भूतप्रेतलगायतले दु:ख नदिऊन् भनेर यस्ता चित्र बनाउने गरिएको हो ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?