चेपाङ समुदायका कार्यक्रम कटौती

हेटौंडा — लोपोन्मुख चेपाङ समुदायको उत्थान गर्ने उद्देश्यले चार दशकदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र जनता आवास कार्यक्रम हटाइएका छन् ।

चेपाङ समुदायका कार्यक्रम कटौती

चेपाङ समुदायको केन्द्रित कार्यक्रम तीनवटै सरकारले आफ्नो बजेट र योजनामा नराखेकाले चेपाङ समुदायका अगुवाहरू रुष्ट छन् ।

२०३४ सालदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र ८ वर्षदेखि निरन्तरता पाइरहेको जनता आवास कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारले कटौती गरेको हो । ‘दुवै कार्यक्रमहरू तीनवटै सरकारले कटौती गरेकाले चेपाङहरूको विकास अवरुद्ध हुने’ नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले भने, ‘चेपाङहरूको कार्यक्रम सरकारले किन कटौती गरेको हो बुझ्न सकिएको छैन ।’

४१ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको चेपाङ विकास कार्यक्रमले विशेष चेपाङ बालबालिकाहरूको निम्ति विद्यालय पोसाक र छात्रवृत्ति दिँदै आएको थियो । पोसाक र छात्रवृत्तिका कारणले चेपाङका बालबालिकाको आकर्षण बढेको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले चेपाङ समुदायका लागि बर्सेनि २/३ सय घर बनाइदिने गरेको थियो । गत आवमा गरिब चेपाङहरूका निम्ति ५ सय वटा सरकारी पक्की घर बनेका छन् । तर यो वर्षदेखि जनता आवास कार्यक्रम कटौती गरिएको चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले बताए । ‘सरकारले यस वर्षदेखि जनता आवास कार्यक्रम खोसिदिएको छ,’ उनले भने ।

चेपाङ बहुल जिल्लामा करिब २०–२५ लाखसम्म पुग्ने गरी २०३४ सालदेखि दिइँदै आएको चेपाङ विकास कार्यक्रमको रकम पनि यस वर्षदेखि शून्यमा झरेको छ । ‘चेपाङ जातिको शिक्षा, स्वास्थ्यको विकास आयमूलक तथा सीपमूलक तालिम लागि बर्सेनि छुट्टयाउँदै आएको चेपाङ विकास कार्यक्रम नै हरायो,’ केन्द्रीय अध्यक्ष जितेन्द्रले भने ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?