स्थानीय तहद्वारा दिवा–खाजा

कात्तिकदेखि दिवा–खाजाको कार्यक्रम लागू गर्ने
प्रताप बिष्ट

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाले विपन्न समुदायका बालबालिकालाई दिवा–खाजाका लागि बजेट विनियोजन गरेको छ । उनीहरूलाई स्कुलमा आकर्षण गराउन र भर्ना भएकालाई टिकाउन मकवानपुरगढी गाउँपालिका चालु आवदेखि दिवा–खाजाका व्यवस्था गरेको हो ।

विद्यार्थीलाई दिवा–खाजाको व्यवस्था गर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कार्यालय भवन । तस्बिर : प्रताप

चालु आवको निम्ति गाउँपालिकाले दिवा–खाजाका लागि १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रमा पर्ने ४० वटा विद्यालयमध्ये विपन्न र विद्यार्थी संख्या न्यून रहेका विद्यालयमा नमुनाको रूपमा दिवा–खाजाको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । सरकारले सिमान्तकृत र लोपोन्मुख समुदायका स्कुल आउने बालबालिकालाई उपलब्ध गराउँदै आएको दिवा–खाजा कटौती गरेपछि गाउँपालिकाले खाजालाई निरन्तरता दिन लागेको हो ।


खाद्य असुरक्षा भएको र लोपोन्मुख एव आदिवासी जनजाति बहुल क्षेत्रका स्कुललाई पहिलो प्राथमिकतामा राखेर दिवा–खाजाको व्यवस्था गर्न बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले बताए । ‘पढ्ने उमेरका विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गरेर दिवा–खाजा कार्यक्रम कार्यान्वयनमा ल्याउँछु,’ उनले भने । गाउँपालिकाले आगामी वर्षमा सबै विद्यालयमा दिवा– खाजाको विस्तार गर्ने कार्यक्रम छ ।

Yamaha


विद्यार्थी टिकाउन दिवा–खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताए । बालबालिका भोको हुँदा पढाइमा ध्यानाकर्षणसमेत नहुने भएकाले सिकाइ उपलब्धिमूलक बनाउन पनि दिवा–खाजा प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए । उक्त गाउँपालिकाले गाउँ शिक्षा समिति र वडा शिक्षा समितिसमेत गठन गरेको छ ।


घरधुरी सर्भेक्षण गरेर गाउँपालिकाको वस्तुस्थिति तयार पारेको मकवानपुरगढीले कार्यविधि बनाएर दिवा–खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । कात्तिक महिनादेखि दिवा– खाजाको कार्यक्रम लागू गर्ने गापा अध्यक्ष हुमागार्इंले बताए । मकवानपुरगढी गाउँपालिकामा ४ हजार ८ सय ४८ घरधुरी र कुल जनसंख्या २५ हजार १ सय ७३ छ । गाउँपालिकाले दिवा–खाजा कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाउने योजना बनाएको छ ।


उक्त गाउँपालिकाले २०७४ कात्तिक २८ गते गाउँ शिक्षा ऐनसमेत जारी गरिसकेको छ । गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमै समेट्न पनि विशेष अभियान सञ्चालन गरिरहेको छ । ८ वटा वडा रहेको गाउँपालिकाले १, ३ र ५ नम्बर वडाका सबै बालबालिका विद्यालयमै समेटिएको घोषणा गरिसकेको छ ।


गाउँपालिकाका सबै बालबालिका समेटिएको छिट्टै घोषणा गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाप्रसाद गौतमले बताए । गाउँको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा अनुगमन समितिसमेत गठन गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक जितबहादुर घिमिरेको संयोजकत्वमा शिक्षा अनुगमन समिति गठन गरिएको छ ।


गाउँपालिका क्षेत्रका ४० विद्यालयमा ४ हजार ९ सय ६२ विद्यार्थी अध्ययनरत छन् । पृथ्वी नारायण शाहको ससुरालीसमेत रहेको उक्त गाउँपालिकाले दरबन्दी मिलान गर्न र विद्यालय मर्ज गर्न शिक्षा शाखा प्रमुख टीका गौतमको संयोजकत्वमा शिक्षा अनुगमन समिति गठन गरेको छ । उक्त समितिले प्रतिवेदन पेस गरेपछि दरबन्दी मिलान गर्ने क्रममा शिक्षक अपुग देखिएमा गाउँपालिकाले नै राहत स्वरूप शिक्षक भर्ना गर्नका निम्ति बजेट पनि विनियोजन गरेको गापा अध्यक्ष हुमागाईले बताए ।


‘गाउँपालिकाभित्रका केही प्राथमिक तहका स्कुल मर्ज गर्नुपर्ने देखिएको छ,’ उनले भने । मकवानपुर गढी वुढीचौर, सुकौरो र आमभन्ज्याङ चार गाविस मिलाएर मकवानपुरगढी गाउँपालिका बनाएको हो । उक्त गाउँपालिकामा जनजाति समुदायको बाहुल्य छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल

प्रताप बिष्ट

हेटौडा — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सहजढंगले बढिरहेको बताएका छन् ।

बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनले पार्टी एकता एक महिना भित्र टुंगिने बताए। ‘पार्टी एकता प्रक्रिया सहजढंगले अगाडि बढेको छ। दुई वटा कार्यदल काम गरिरहेका छन्। एक/दुईदिनमा कार्यदलको प्रतिवेदन प्राप्त हुनसाथ एकता संयोजन समिति बसेर अन्तिम रुप दिनेछ,’ दाहालले भने, ‘कार्यदलले २२ अप्रिलमा एकता गर्न सुझाएपनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र आफुले औपचारिक छलफल गरेपछि एकताको समय घोषणा हुन्छ।’

वर्तमान सरकारलाई मधेशवादी दलहरुको समर्थन पछि दुई तिहाई बहुमत पुगेकाले अबको राजनीति सहजढंगले अगाडि बढ्ने उनको दाबी छ। दाहालले विकासको परिणाम निकाल्न राष्ट्रिय एकता र संकल्पको खाँचो रहेको टिप्पणी गर्दै राष्ट्रिय मुद्दामा सत्तापक्ष र विपक्षी दलबीच समझदारी जरुरी रहेको बताए। ‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट जनताले प्रत्यक्ष परिणाम खोजिरहेका छन्। त्यसका लागि काम र परिणाम हामीले दिन जरुरी रहेको छ,’ उनले भने। तीनै तहका सरकार गठनसंगै राष्ट्रपति र सभामुखको निर्वाचन पछि मुलुकको निर्वाचनको चक्र सकिएको भन्दै सरकारको चुनौती सुशासन, स्थायित्व र विकासलाई गति दिनु भएको बताए।

प्रदेश ३ को राजधानी हेटौंडा नै कायम रहने दोहोर्‍याउदै उनले हल्लाको भरमा नसर्ने बताए। ‘हेटौंडा राजधानी कायम भएर काम सुरु भइसकेको छ,’ उनले भने, ‘राजधानीको अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभाको हो। बाहिर गरिएको प्रचारबाजी र हल्लाको आधारमा सर्दैन।’ उनले प्रदेश ३ नम्बर प्रदेशको राजधानी हेटौंडा हुदाँ आफू खुशी रहेकोबताए। दाहालले आफ्नो पार्टीका मन्त्रीहरु प्रदेशको राजधानीमा बसेर काम गरिरहेको भन्दै प्रशंसा समेत गरे।

प्रकाशित : चैत्र ७, २०७४ ११:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT