कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमफेदी कारागारमा सहकारी खोलिँदै

प्रताप विष्ट

भीमफेदी, मकवानपुर — बिचौलियाको अन्त्य गर्न क्षेत्रीय कारागार भीमफेदीमा सहकारी स्थापना गर्ने भएको छ । क्षेत्रीय कारागार भीमफेदीमा रहेका कैदीबन्दीलाई सहकारीमा आवद्ध गराएर सहकारीमार्फत उपभोग्य वस्तुलगायत सामान खरिद गरेर न्यून मुनाफा राखेर कैदीबन्दीलाई सरल र सस्तो रूपमा उपलब्ध गराउने भएको छ ।

भीमफेदी कारागारमा सहकारी खोलिँदै

बिचौलियाका कारण भीमफेदी कारागारभित्रका पसलमा राखिएका मालसामानको मूल्य हेटाैंडा बजारको भन्दा दोब्बर छ । ‘ढुवानी भाडा, लगानीलगायत गरेर मालसामान यहाँ महँगोमा भित्रिने गर्छ जसले गर्दा स्थानीय बजारको भन्दा दोब्बर महँगो हुन्छ,’ भीमफेदी जेलका ‘ख’ ब्लक चौकीदार दीपेन्द्र राईले भने, ‘व्यापारीले यहाँ महँगोमा मालसामान बिक्री गरेका छन् ।’

व्यापारीले मुनाफा धेरै हुने भएकाले कारागारवरिपरि बस्तीमा उत्पादित तरकारीलगायत खाद्यवस्तु बन्दीलाई प्रयोग गर्न दिँदैनन् । ‘बन्दीले महँगो र बासी वस्तु उपभोग गर्नुपर्ने भएकाले जेलभित्र सहकारी स्थापना गर्ने र त्यो सहकारीले बाहिरको सहकारीमार्फत चामलबाहेक अन्य उपभोग्य वस्तुहरू खरिद गर्ने व्यवस्था मिलाउने छन्,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘जेलभित्र सहकारी स्थापना गरेपछि बिचौलियाको अन्त्य र कैदीबन्दीहरू शोषणबाट पनि मुक्त हुनेछन् ।’

हेटाैंडबाट २३ किमिको दूरीमा रहेको क्षेत्रीय कारागार भीमफेदीको मंगलबार निरीक्षण गर्न पुगेका मुख्यमन्त्री पौडेलले जेलभित्र विद्यालय स्थापना गर्ने र स्कुलको निम्ति आवश्यक पर्ने शिक्षकको खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी कैदीबन्दीलाई गराएका थिए ।

जेलका कैदीबन्दीलाई उत्पादनसँग जोड्न प्रदेश सरकारले छिट्टै नै कार्यविधि तयार पार्ने पनि आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताए । जेलहरूलाई संघीय सरकारले प्रदेश मातहतमा राख्ने नीति बनाउन बनाइरहेको छ । ‘जेलहरू छिट्टै नै प्रदेश मातहतमा आउँदै छन्,’ मन्त्री जमरकट्टेलले भने ।

भीमफेदी कारागारमा शौचालय र चर्पीको व्यवस्था राम्रो नभएकाले वातावरण दुर्गन्धित भएको भीमफेदी गाउँपालिका हिदम लामाले मुख्यमन्त्री पौडेल र आन्तरिक मामिला मन्त्री जमरकट्टेलसँग राखेका थिए । कारागारको दुवै ब्लकको सुत्ने कोठा, भान्सा, पुस्तकालय लगायत भित्र पसेर मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला मन्त्री जमरकट्टेल, जिल्ला समन्वय समितिका प्रमुुख रघुनाथ खुलाल, प्रजिअ अस्मान तामाङ, डीआईजी दीपक थापा, भीमफेदी गापाका अध्यक्ष हिदम लामा, उपप्रमुख पार्वती रानाले निरीक्षण गरे ।

भीमफेदी कारागारका २ वटा ब्लकमा पुरुष बन्दी ८ सय ८४ जना छन् । जेलका नायब सुब्बा केदारप्रसाद सापकोटाका अनुसार उक्त जेलमा २० वर्षदेखि ८५ वर्षसम्मका बन्दीकैदी छन् । १ सय २५ जना कैदीबन्दी उत्पादनसँग जोडिएका छन् । जेलभित्र गलैँचा बुन्ने, मुढा बनाउने र टोपी बुन्ने काममा बन्दीहरू संलग्न छन् । उक्त कारागारमा सबैभन्दा बढी ३ सय ६९ जना लागुऔषध मुद्दाका कैदीबन्दी छन् ।

जेलमा औषधोपचारका लागि डाक्टरको दरबन्दी भए पनि स्वास्थ्यकर्मी छैनन् । जेलभित्र प्राथमिक उपचार केन्द्र छ तर स्वास्थ्यकर्मी छैनन् । कर्तव्य ज्यान मुद्दामा जेल परेका सर्लाहीका दिनेश राउत प्राथमिक उपचार केन्द्र सञ्चालन गरिरहेका छन् । उनीहरूले अहिले सरकारबाट दैनिक साढे सात ग्राम चामल र ६० रुपैयाँ पाउँछन् । ६/६ महिनामा मौसमअनुसारको जेल प्रशासनले कपडा उपलब्ध छ ।

दसैंलाई ६० केजी मासु सहयोग
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले क्षेत्रीय कारागार भीमफेदीका कैदी बन्दीलाई दसैंमा एक छाक मासु उपलब्ध गराउने भएका छन् ।

कारागारमा मंगलबार निरीक्षण गर्दै पौडेलले बन्दीहरूलाई दसैंमा खान ६० केजी मासु उपलब्ध गराउने कैदीबन्दीलाई बताए । भीमफेदी कारागारमा ८ सय ८४ कैदीबन्दी छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?