कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सीमाको जनजीवन झन् कष्टकर

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिकाको तातोपानीमा होटेल व्यवसाय गरिरहेकी ७१ वर्षीया सोन्डडीकी शेर्पाको वर्षात् सुरु हुनेबित्तिकै रातको निद्रा हराउँछ । घरनजिकै पहिरो चल्न थालेपछि उनी निदाउन छाडेकी छन् । भन्छिन्, ‘ज्यानभन्दा ठूलो अरू केही नहुँदो रहेछ ।

सीमाको जनजीवन झन् कष्टकर

आवात(जावतको सडक छैन । खाद्यान्न र औषधि ल्याउन यातायात छैन । अझ वरिपरि पहिराले घेरेपछि कति बेला पुरिने हो भन्ने त्रास छ,’ उनले थपिन्, ‘दैनिकी झनै कष्टकर बन्दै गइरहेको छ ।’
उनी नाकाकी एउटा पात्र मात्र होइनन् । स्थानीय लिपिङका दोर्जे शेर्पा भन्छिन्, ‘गाउँले सबैको दु:ख यस्तै हो । जताततै बाढीपहिरोले त्रासमा रात बिताउनुपर्छ ।’ मितेरी पुलबाट चार किमि पश्चिम दसकिलो, तातोपानी, कोदारी बजार पहिरोले छियाछिया बनाएको छ । जमिन भित्रभित्रै पानी बग्न थालेको छ । ‘यत्रो वर्ष यही बजारमा होटल गरेर बिताएँ, नाका बन्द भयो, कतै गइनँ,’ सोन्डडीकीले सुनाइन् । जमिन भासिएको देखाउँदै उनले भनिन्, ‘नाका खुलेपछि पहिलेजस्तै सम्पन्न हुने आशा छ ।’


भूकम्पपछि बन्द तातोपानी नाका खुल्न सकेको छैन । लगातारको बाढी र पहिरोले सीमाको भौतिक संरचना ध्वस्त भएको छ । बाह्रबिसेबाट २६ किमि सडक राजमार्गको सिरिसे, चाकुभिर, डाक्लाङ, लार्चा, नौ किलो, दसकिलो, पोप्लाङ डाँडा, घट्टेखोला कोदारी, लिपिङ बजार सबै स्थानको सडक भत्केका छन् ।


यसबाट बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाको लकाली बस्ती सबैभन्दा बढी प्रभावित भएको छ । राजमार्गको डाक्लाङमा गएको पहिरो महिना दिन हँुदासमेत नखुलेपछि स्थानीय ३ घण्टा पैदल हिँडेर आउजाउ गरिरहेका छन् । ‘बर्खाले गर्दा सडकपिच्छै पहिरो गएको छ । डाक्लाङबाट सीमातर्फको सडक क्षतविक्षत छ,’ नाका नखुलेकाले सडक बनाउने तरखर कसैले नगरेको गुनासो स्थानीयको छ ।


‘यस्तै गरी दुई महिना सडक नखुल्ने हो भने यहाँ खाद्यन्न संकट निम्तन सक्छ,’ उनले भने । बिरामी, वृद्धवृद्धाले उपचार पाउनका लागि झनै सास्ती बेहोर्नुपरेको छ । नौ किलोस्थित सडक झन्डै सय मिटर भासिएर खसेको छ । उताको पोप्लाङ, डाक्लाङ सडकमाथिबाट आएको बर्खे खोलाले बगाएपछि सीमाका बजारसँग सम्पर्क टुटेको छ ।


नौ किलो कटेपछि त नेटवर्क र बिजुली छैन, पैदल हिँड्दा पनि पहिरो खस्ला भन्ने डर रहेको स्थानीय दोर्जेले गुनासो गरे । यसैबीच, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठको नेतृत्वको टोलीले शुक्रबार सीमा क्षेत्रका नेपाली सुरक्षाकर्मीलाई भेटेर स्थानीयको अवस्थाबारे छलफल गरेको थियो । श्रेष्ठले स्थानीय सञ्चारकमीसँग नाका नखोल्दा दैनिक जीवन कष्टकर बनको बताए ।


नाका नखुले पनि सडक बनाउने काममा सरकारी निकाय उदासिन देखिएको उनको आरोप छ । व्यवसायी र स्थानीयले दबाब दिए पनि नाका खुल्न नसक्दा व्यवसायी पलायन भएको उनले बताए । गत साता भौतिक संरचना निरीक्षण गर्न बाह्रबिसे आएका चिनियाँ सरकारी अधिकारीले नाका खोल्ने प्रयास भइरहेको जानकारी दिएका थिए ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?