एकीकृत बस्ती बन्दै

तिहारमै माझी समुदायलाई नयाँ घर
अनिश तिवारी

काठमाडौँ — चौतारा साँगाचोकगढी नगरअन्तर्गतको झ्याडीगाउँमा चिटिक्क परेका घर बन्न थालेपछि ७० वर्षीया कलमाया माझीको अनुहार उज्यालिएको छ । मध्यबर्खालगत्तै सकिएको घरभित्र पस्ने तयारीमा रहेकी उनी बस्तीको स्वरूप देखेर दंग छिन् ।

एकीकृत बस्ती बन्दै

‘हाम्रो गाउँ पनि बजार बन्ने भयो, रंगीन घरले माझीगाउँ भरिइसकेको छ,’ माझीले बनिसकेको रंगीन घर देखाएर भनिन् । सरकारी अनुदान नआउँदा दुई महिना रोकिएको एकीकृत बस्तीमा ४२ घर बनिसकेको उनले सुनाइन् ।

अनुदान नआएपछि अभिनेत्री श्वेता खड्काले आफ्नै घर धितोमा राखी २८ लाख ऋण लिएर एकीकृत बस्ती निर्माणलाई निरन्तरता दिएकी थिइन् । ‘आहिले बाँकी घर धमाधम बन्न थालिसकेका छन्,’ उनले भनिन् ।

माझीगाउँभर एकीकृत बस्तीको घरले सजिन थालेपछि हेर्न आउने बढेको झ्याडीगाउँका हेलबहादुर माझीले बताए । ‘एकीकृत बस्तीबाट आकर्षित स्थानीयले यहाँको जस्तै घर बनाउन थालेका छन्,’ उनले भने । ५६ माझी परिवारको पहिलो किस्ता लिएर थालिएको बस्तीको कार्यमा सिन्धु क्रिएटिभ प्राइभेट लिमिटेडले १२ वटा डीपीसी बनाएको थियो ।

क्रिएटिभले कामलाई गति नदिएको कारणले झ्याडी टोल सुधार समिति र श्वेता फाउन्डेसनको पहलमा एकीकृत बस्ती बनाउने काम गरेको एकीकृत बस्तीका अभियन्ता यज्ञराज कार्की सुनाउँछन् । ‘तिहारसम्म माझी परिवारलाई घर सुम्पिने लक्ष्य राखेका छौं,’ कार्की भन्छन् । सरकारी अनुदान समयमा नआएका कारणले एकिकृत बस्ती निर्माणमा समस्या भएको उनले सुनाए ।

‘बाँकी रहेका ५ को पर्खाल र ६ घरको छानो लगाउने कार्यलाई अगाडि बढाउँदै छौं,’ उनले भने । एकीकृत बस्ती अभियानलाई बर्खामा सडक र ऋण दिने लक्ष्मी बैंकले ऋण दिन ढिलाइ गरिरहेकाले समस्या बनेको उनले प्रस्ट्याए ।

भौतिक पूर्वाधारको सम्झौता गरेको श्वेता फाउन्डेसनले सबै आवास बनिसकेपछि बायोग्यास, सामुदायिक भवन, खुलामञ्च, पानीको फोहोरालगायतमा एक करोड ४० लाखको सम्झौता गरेको छ । तर, सरकारी अनुदान नआएको भन्दै बैंकले फर्काएपछि चार महिनाअघिसम्म माझीगाउँको पुनर्निर्माणले गति लिन सकेको थिएन । ‘अभिनेत्री खड्काले ऋण लिएपछि बस्ती अभियानको काम भइरहेको छ,’ कार्कीले भने ।

माझी एकीकृत बस्ती तत्कालीन सीईओ डा. गोविन्द पोखरेल र अभिनेत्री श्वेता खड्काले शिलान्यास गरेका थिए । निर्माण सामग्री महँगो हुनु र सरकारी अनुदान आएको छैन । माझी समुदायका लागि एकै रंग, एकै प्रकारका भूकम्प प्रतिरोधी आवास, सामुदायिक भवनसँगै हरियाली भूभाग निर्माण हँुदै छ । बालबगैंचा, ढुंगे बाटोजस्ता विभिन्न भौतिक संरचनाले सिँगारिने एकीकृत बस्ती सहरी क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको कार्कीको भनाइ छ ।

प्रकाशित : आश्विन १, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?