अझै तंग्रिएन पर्यटन

भूकम्पपछि अहिलेसम्म जिल्लामा बाह्य पर्यटकको आगमन शून्य छ
अनिश तिवारी

सिन्धुपाल्चाेक — भूकम्प गएको साढे ३ वर्ष हुँदा पनि सिन्धुको पर्यटन क्षेत्र अझै उभिन सकेको छैन । भूकम्पले क्षतिग्रस्त पर्यटकीय आकर्षण क्षेत्र र पर्यटकीय मार्गको पुनर्निर्माणमा नगरिँदा जिल्लाको पर्यटनले गति लिन नसकेको हो ।

अझै तंग्रिएन पर्यटन

ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका मठमन्दिर, गुम्बा र क्षतिग्रस्त पर्यटकीय स्थल मर्मत नगरिएकाले खण्डहर बन्दै छन् । सरकारी र निजी क्षेत्रबाट पनि पर्यटकीय विकासका लागि कुनै कदम नचालिएकाले चर्चित गन्तव्य ओझेलमा परेका छन् ।

भूकम्पपछि अहिलेसम्म जिल्लामा बाह्य पर्यटकको आगमन शून्य छ । यो वर्ष एकदमै न्यून आन्तरिक पर्यटकले मात्रै तातोपानीलगायत क्षेत्रको भ्रमण गरेका छन् । भूकम्पपछि अहिलेसम्म तातोपानी क्षेत्रमा एकजना विदेशी पर्यटक नआएको अध्यागमन कार्यालयले जनाएको छ । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन् ।

बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको छ । यो वर्ष पाँच हजार आन्तरिक पर्यटकले तातोपानी धारामा नुहाउन आएको तातोपानी धारा संरक्षण समितिका भक्तबहादुर श्रेष्ठले बताए । ‘यहाँको संरचना मर्मत गर्न हामी आफैं जुटिरहेका छाँै,’ उनले भने । नाका बन्द भएपछि चर्चित पर्यकीय महत्त्व बोकेका सम्पदालाई बेवास्ता गरिएको उनले सुनाए । सीमाक्षेत्रको भूकम्प, बाढी र दैनिक पहिरोले क्षतिग्रस्त सडक, भौतिक संरचनाको मर्मत नगरिएको कारण पर्यटक आउन नसकेको उनको कथन छ ।

तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिक स्थल दुगुनागढीमा भूकम्पपछि कोही पुगेका छैनन् । दुगुनागढी हुँदै ४२ सय मिटर उचाइमा रहेको भैरव कुण्डसम्म जाने पर्यटकीय पदमार्ग क्षतिग्रस्त भएकोले स्थानीयलाई समेत जान मुस्किल परेको छ । तर, दुगुनागढी गाउँ सुधार समितिका अध्यक्ष सोनाम शेर्पाका अनुसार पर्यटन बोर्डबाट विनियोजित रकमले लार्चादेखि भैरव कुण्ड पुग्ने पैदल मार्गमा सिँढी निर्माण भइरहेको छ ।

पहिला होमस्टे सञ्चालन गरिएका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक बिक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थाँमाछे र ढिसिङ टोलका १ सय ४५ घर भूकम्पपछि पल्लो बस्तीमा सरेका छन् । बाह्य पर्यटकलाई लक्षित गरी ३० रोपनी जग्गामा स्थापना गरिएको दुगुनागढीस्थित बज्र इको रिसोर्ट भूकम्पपछि बन्द छ । उक्त होटल २० करोड मूल्यमा निर्माण गरिएको पर्यटन व्यवसायी रामकाजी पौडेलले बताए ।

अहिले आन्तरिक पर्यटक आगमनमा समेत शून्यता छाएपछि भूकम्पबाट बचेका होटल बन्द हुने अवस्थामा पुगेका छन् । एसियाकै ठूलो साहसिक बन्जी जम्प गरिने नयाँ पुलस्थित द लास्ट रिसोर्टमा विदेशी पर्यटक ह्वात्तै आधा घटेको द लास्ट रिसोर्टका कुमार राउत सुनाउँछन् । ‘सडकको कारणले गर्दा बन्जी जम्पमासमेत पर्यटक घटेका छन्,’ रिसोर्टका राउतले भने, ‘बन्जी जम्प गर्न दैनिक पहिले साता दिनमा सय बढी पुग्थ्ये, अहिले बढीमा ५० जना हुने गरेका छन् ।’

प्रकाशित : आश्विन २, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?