‘संविधान साध्य होइन, साधनमात्र हो’

प्रताप विष्ट

हेटौडा — प्रदेश-३का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरेको बताएका छन् ।

‘संविधान साध्य होइन, साधनमात्र हो’

संविधानले सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक सामानता,स्मृति र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्पसमेत लिएको विचार व्यक्त गरेका थिए ।


चौथो संविधान दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा संविधानले जनताका प्रतिस्पर्धात्मक बहुलदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको बताए ।


‘संविधान यथार्थमा साध्य होइन साधनमात्र भएको,’ बताउँदै मुख्यमन्त्री पौडेलले भने, ‘राजनीतिक लडाईको यात्रा सकिसकेको र आफैद्धारा निर्माण गरिएको संविधानमार्फत् आफू शासित हुने लोकातान्त्रिक पद्धतिलाई स्थापित गरिसकेका छौँ, अबको यात्रा राष्ट्र निर्माण, सुशासन र समृद्धि हुनुपर्छ ।’


प्रदेश सरकार अहिले कानुन निर्माणमा युद्धस्तरमा जुटिरहेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकट्टेलले यो संविधानले सबै क्षेत्र र समुदायको हितको निम्ति काम गर्ने बताए ।


प्रदेश सरकारले आयोजना गरेको उक्त दिवसको प्रभातफेरी हेटौडाको भुटनदेवी माविको चौरबाट सुरु भएर मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा नेवारी बाजा, खैजेडी भजन, तामाङ नाच र मगर समुदायको झाँकी प्रदर्शन गरिएको थियो ।

प्रकाशित : आश्विन ३, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?