धादिङ — थाक्रे गाउँपालिका-७ दुबेखोलास्थित पृथ्वीराजमार्गमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । खानीखोलाबाट गजुरी तर्फ जाँदै गरेको बा ७९ प ७२६५ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।
धुनीबेंसी नगरपालिका निवासी १८ वर्षीय अनिल लामाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको खानीखोला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए । अन्य २ जना सख्त घाइते छन् । धुनिबेंसी-८ बस्ने १७ वर्षका सौगात खड्का र १९ वर्षका सुमन श्रेष्ठलाई थप उपचारको काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
नयँ मुलुकी अपराधसंहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै गत मंगलबारदेखि चालकहरुले देशव्यापी हडताल गरेपछि उनीहरु एकै मोटरसाईकलमा ३ जना चढेका थिए ।
गत मंगलबार जिल्लाका सार्वजनिक यातायातका चालकहरुले प्रजिअ भगीरथ पाण्डेयलाई सवारी चालक अनुमती पत्र बुझाई हडतालमा उत्रेका हुन् । चालकहरुले हडतालमा उत्रेर टिकट बेचिसकेका सवारीसाधनहरुलाई पनि गुड्न दिएका छैनन्।
चालकहरुले हडताल गरे पछि जिल्लाबाट काठमाडौं लगायतका जिल्लाहरुमा निर्यात हुने टमाटर लगायतका तरकारी बारीमै सडेको छ ।
प्रकाशित : आश्विन ३, २०७५ १२:४४