बालिकाको पीडामाथि ठूलाको मोलतोल

राजेन्द्र मानन्धर

दाेलखा — बलात्कृत पाँच वर्षीया बालिका पुरुष चिकित्सकले जाँच्न खोज्दा चिच्याउँदै रुन्छिन । पुरुष देख्दा तर्सने उनलाई महिला चिकित्सकले जाँच्नुपर्छ ।प्रहरीका अनुसार यौन हिंसापीडित बालिकाको स्वास्थ्य सुधारोन्मुख छ तर पुरुषहरू देख्दा तर्सने र रुने गर्छिन ।

बालिकाको पीडामाथि ठूलाको मोलतोल

संवेदनशील अंगबाट अत्यधिक रक्तश्राव हुनेगरी बलात्कृत अबोध तिनै बालिकाको नाममा ठूलाबीच मोलतोल भइरहेको छ । घटना छोपछाप गर्न लाखौं रुपैयाँको मोलतोल भइरहेको विषय स्थानीय पूर्व जनप्रतिनिधिदेखि अगुवाहरूले सामाजिक सञ्जालमा राख्दै मेटाउँदै गरिरहेका छन् ।

पाँच वर्षीया बालिका बलात्कार आरोपित दोलखास्थित डिभिजन खानेपानी कार्यालयका प्राविधिक कमल बजगाईँले लुकीछिपी आफन्तलाई पैसाले लोभ्याइरहेको सामाजिक सञ्जाल फेसबुकदेखि छिमेकमा चर्चा छ । घटनाको अनुसन्धान गरिरहेका दोलखा प्रहरी प्रमुख डीएसपी वासुदेव पाठकले बाहिरबाहिर पैसाको मोलतोल गर्न छाडेर कानुनी दायरामा आउनु नै बजगाईँका लागि हित हुने बताए । पैसाको मोलतोल भइरहेको जानकारी आएको बताउँदै उनले भने, ‘बजगाईँले तत्काल कानुनी दायरामा नआए जे पनि हुन सक्छ ।’

गत भदौ १७ गते साँझ एक घरमा खाना खान गएका बेला एकान्तमा बालिकाको संवेदनशील अंगभित्र औंला छिराएको परिवारको आरोप छ । चिकित्सकीय प्रतिवदेनमा बालिकाको गुप्ताङ्ग क्षतविक्षत छ । केही ठूलो चिज छिराइएको चिकित्सकले किटानी गरेको छ । निकै दिनसम्म रक्तश्रावको मारमा परेकी बालिकाको शरीर सुन्निएको र केही शिथिलता देखिएको छिमेकीको भनाइ छ ।

बालिकामाथि भएको जघन्य अपराध मिलाउन ५ लाखदेखि ८ लाखसम्मको मोलतोल भइरहेको स्थानीय एक पूर्व जनप्रतिनिधिले फेसबुक वालमा लेखे । सयौंले बालिकाको पक्षमा प्रतिक्रिया लेखेको उक्त पोस्ट अहिले भने हटाइएको छ । एकजना स्थानीय भन्छन्, ‘लुकेर हिँडेका उनी अहिले पनि पैसाको लोभ देखाउने र विभिन्न व्यक्तिमार्फत बलात्कारको घटना सामान्य बनाउन दबाब दिइरहेका छन् ।’

अबोध बालिका पीडामा परेको अपराध दुई दिनसम्म परिवारभित्रै लुक्यो । रातभर अभियुक्त र उनका भाइले पैसाको प्रलोभन देखाइरहे । परिवारका सदस्यमाथि अपराधी उम्काएको आरोप पनि छ । तर पारिवारिक भनाइमा घटनालगत्तै अताल्लिएका बेला अपराधीलाई समाउने ध्यान गएन ।

५२ वर्षीय कमल बजगाईँ खानेपानीसम्बन्धी सरकारी प्राविधिक कर्मचारी हुन् । जागिरको क्रममा विभिन्न ठाउँमा उनी यौन दुराचारीको आरोपबाट उम्किएका एक सहकर्मी बताउँछन् । उनले दुराचारको दाउ रच्न नै सातवटा फोन चलाउने गरेको आरोप पनि छ । प्रहरीका अनुसार अहिले सबै फोन नम्बर बन्द छन् ।

यौन अपराधको मुद्दा २५ वर्षसम्म सक्रिय रहन्छ । ५२ वर्षीय उनका लागि तत्काल कानुनी दायरामा आउनु नै उत्तम हुने प्रहरीले परिवारका सदस्यलाई सूचना दिएको छ । बालिकाको पीडालाई पैसाको लेनदेनमा परिणत गर्ने खोज्नेसमेत अपराधी ठहर्ने कानुनी व्यवस्था छ । पैसा लिन खोज्ने र बिचौलियासमेतको निगरानी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?