प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना

काठमाडौँ — प्रधानाध्यापकको पिटाइबाट कानमा समस्या आएको भन्दै नवलपुर बुलिङटार–६ को श्री शिव माविमा कक्षा १० मा पढ्ने विद्यार्थी भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना

स्कुल ढिला आएको भनेर प्रधानाध्यापक ओमकुमार श्रेष्ठले पिटेका कारण कानबाट रगत बगेपछि अस्पताल नै आउनुपरेको खुमन सार्कीले बताए । ‘घरबाट विद्यालय टाढा छ । कहिलेकाहीं ढिला भइहाल्छ । हिजो मंगलबार पनि अलि ढिला भयो । किन ढिला आएको भनेर सरले कानमा पिट्नुभयो । रगत बगेर सहन नसकेपछि अस्पताल आएको हुँ,’ खुमनले भने ।

आफूसहित नौजना केटाहरूलाई प्रधानाध्यापक श्रेष्ठले झ्यामझ्याम्ती पिटेको उनले बताए । घरदेखि विद्यालय एक डेढ घण्टा टाढा भएको उनको भनाइ छ । प्रधानाध्यापक श्रेष्ठले गम्भीर चोट पुग्ने गरेर आफूले कसैलाई नपिटेको प्रतिक्रिया दिए । ‘कक्षा १० मा पढ्ने विद्यार्थी अलि गम्भीर हुनुपर्छ । समयमा स्कुल नआए कसरी राम्रोसँग पढ्ने ? सधैं ढिला आएपछि किन यसो गरेको भनेर सोधें, कारण बताउनेलाई कक्षामा पनि पठाएँ । ढाँट्न खोज्नेलाई हल्का गालामा हिर्काएको हो,’ प्रधानाध्यापक श्रेष्ठले भने ।

खुमनको कानमा पहिलेदेखि नै कुनै समस्या रहेको हुन सक्ने उनको भनाइ छ । ‘यो मलाई बदनाम गराउन अनेक तरिकाले प्रचार गरेको हो कि भन्ने लागेको छ । नभए त्यस्तो गम्भीर हुने गरेर मैले कसैलाई पिटेको छैन । मेरो स्वार्थ विद्यार्थीले राम्रोसँग पढून्, समयमा स्कुल आऊन् भन्ने न हो,’ कान्तिपुरसँग टेलिफोनमा प्रधानाध्यापक श्रेष्ठले भने ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?