राजमार्गमा अवरोध गर्ने १२ जना पक्राउ

धादिङ — सवारी आवागमनमा अवरोध गरेको आरोपमा प्रहरीले यातायात मजदुर संघका अध्यक्ष प्रकाश सिम्खडासहित १२ चालकलाई पक्राउ गरेको छ । संघ अध्यक्ष ज्वालामुखी २ निवासी सिम्खडालाई सदरमुकाम धादिङबेंसीस्थित पुछार बजारबाट नियन्त्रणमा लिइएको हो । अन्यलाई जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको थियो ।

राजमार्गमा अवरोध गर्ने १२ जना पक्राउ

सवारी अवरोध गर्ने चालकलाई तितरबितर गरेर प्रहरीले सुरक्षा दिई सदरमुकामबाट केही सवारी सञ्चालनमा ल्याएको छ । पृथ्वीराजमार्गको धुनीबेंसी ७ स्थित जुगेखोलामा मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा५ख ९४४ नम्बरको बसको सीसा तोडफोड गरेको आरोपमा थाक्रे ११ निवासी २७ वर्षीय नारायण पन्त र थाक्रे ७ निवासी रोशन पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

बेनीघाटको विशालटारमा सडक अवरुद्ध गरी बसेका ९ जनालाई गजुरीस्थित इलाका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दीपक विसुराल, विजय सेढाईसहित ५ जना चालक र ४ जना विद्यार्थी रहेका छन् ।

पक्राउ परेकालाई सार्वजनिक अपराधविरुद्धको ऐनअनुसार मुद्दा चलाइने स्थानीय प्रशासनले जनाएको छ । यातायात ठप्प पार्न समूह बनाएर सडकमा जम्मा भएका चालकलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर बनाएको छ । नयॉ मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै गत मंगलबारदेखि चालकले देशव्यापी हडताल गरेका छन् ।

गत मंगलबार जिल्लाका सार्वजनिक यातायातका चालकले प्रजिअ भगीरथ पाण्डेयलाई सवारी चालक अनुमति पत्र बुझाई हडतालमा उत्रेका हुन् । चालकहरू हडतालमा उत्रेर टिकट बेचेका सवारीसाधनहरूलाई पनि गुड्न दिएका छैनन् ।

सदरमुकामबाट काठमाडौं, पोखरा र चितवन गुड्ने ७ दर्जनभन्दा बढी सार्वजनिक सवारीसाधनहरू चलकको समूहले अवज्ञा आन्दोलन गरी ठप्प पारेका छन् । चालकले हडताल गरेपछि जिल्लाबाट काठमाण्डौं लगायतका जिल्लामा निर्यात हुने टमाटर लगायतका तरकारी बारीमै सडेका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?