१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडकमा खाल्डै खाल्डा

कृष्ण थापा

नुवाकाेट — गंगटे–ढिकुरे–टहरे–गुर्जे भन्ज्याङ–काठमाडौं टोखा जोडिने सडकमा खाल्डा–खुल्डी परेको छ । यसले यात्रा असहज बनाएको छ । सडक ठाउँठाउँमा भासिएको छ । कतिपय स्थानमा साना सवारीका टायर नै पुरिने खाल्डा बनेका छन् । अधिकांश ठाउँमा कालोपत्रे उप्किएको

सडकमा खाल्डै खाल्डा

गंगटे, सेरा, बराफेदी, ढिकुरे सडक हिलो माटोले मोटरसाइल चिप्लिने गरेका छन् । ‘यात्रा गर्नै जोखिम छ,’ सूर्यगढी गाउँपालिका ४ का गोपाल न्यौपानेले भने, ‘कति ठाउँमा लडियो । यात्रुको कुरा कसले सुन्ने ?’ बराफेदीदेखि टिकुरेसम्मको ११ सय मिटर सडक नाली बनाए पनि भलपानी सडकमा छ । विदुर नगरपालिका २ गंगटेदेखि बराफेदीसम्मको सडक ठाउँ–ठाउँमा साँघुरिएको छ । सडक किनारा भत्केको छ । ‘कुनै पनि समयमा ठूलो दुर्घटना हुन्छ, लिखु गाउँपालिका १ का यादव पाण्डेले भने, ‘हाम्रो सरकार सुतेको छ । नत्र भने कति भनियो । सडक सुधार गर्दैन । भनेको सुन्दैन कसैले ।’

सडकमा १०/१२ चक्के मालबाहक गाडी र बालुवा बोक्ने टिपर आवतजावत बढी छ । टिपरका कारणले सडक पिच उप्केको स्थानीयको भनाइ छ । बराफेदीदेखि गंगटेसम्म सडक ठेक्का भइसकेकाले सडक डिभिजन कार्यालयले जनाएको छ । त्यस्तै, ढिकुरे–छहरे करिब ७ किमि सडक मध्यपहाडी लोकमार्गमा पर्छ । त्यसको पनि हालत उस्तै छ । डुडेबगैचा, ठाँटीमा सडक हिलाम्य छ । छहरे–गुर्जेभन्ज्याङ सडक बालुवा बोक्ने टिफरले ठाउँ–ठाउँमा पिच उप्केको छ । सडक खाल्डा परेका छन् ।


गुर्जे भन्ज्याङदेखि काठमाडौंको जगातेमा यात्रुवाहक बस चढ्न नसकेर यात्रुले डोरी लगाएर तान्ने र धकेल्ने गर्छन् । यो सडक विदुरदेखि काठमाडौं जाने ५२ किमि दूरीको छोटो सहायक मार्ग हो ।

गल्छी–त्रिशूली–मैलुङ निर्माणाधीन सडकको हालत पनि उस्तै छ । धादिङ र नुवाकोटको कोल्पुटारमा बालुवा बोक्ने टिपर र ठूला मालबाहक गाडीले यात्रुवाहक साना र ठूला सवारीमा चढेका यात्रुले घण्टौं जाममा पर्ने गरेका छन् । मेसिनले बालुवा झिक्न नदिएपछि त्रिशूली, कोल्पु, तादी र लिखुमा सयौं मजदुर लगाएर झिकेको बालुवा टिपरमा लोड गरेर काठमाडौं लगिन्छ । बढी गुड्ने यिनै टिपर भएकाले सडक बढी जीर्ण बनेको बेलकोटगढीका ५ का श्याम नेपालले बताए । काठमाडौंको बालाजु–त्रिशूली ७० किमि सडक निर्माणाधीन छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?