२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ऐतिहासिक हौदाहरू उपयोगविहीन

मकवानपुर — त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एक मात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा सिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरूको बासस्थान थियो भीमफेदी ।

ऐतिहासिक हौदाहरू उपयोगविहीन

राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर सिकार खेल्नका निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदल यात्रुहरूका निम्ति बास बस्न बनाइएका पार्टीपौवा र निजी भवनहरू जीर्ण अवस्थामा पुगेका छन् । त्यसैगरी विदेशी पाहुनाहरू सिकार खेलेका हात्तीका हौदाहरूलाई माकुराको जालोले ढाकेको छ ।

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी हात्तीसारस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन् । संग्रहालयमा सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरू छन् ।

राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी महारानी एलिजाबेथ द्वितीयले अहिले संग्रहालयमा रहेका सिकारी हौदा कसिएका हात्ती चढेर हालको चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ, गैंडालगायत वन्यजन्तुको सिकार गरेका थिए । ‘संग्रहालयमा महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदा छन्,’ संग्रहालयका हेरालु भरतसिं लामाले भने, ‘हात्तीसार भवनभित्र ४२ वटा हौदाहरू छन् ।’

ती ४२ वटा हौदामा सिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने सिकारी हौदा, सिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरू बस्ने सुसारे हौदा छ । ‘त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीमा स्वदेशी र विदेशी ठूलाठूला मान्छे आएर हात्ती चढेर सिकार खेल्न जान्थे,’ भीमफेदी सुपिङका ८१ वर्षीय नलसिं लामाले भने, ‘त्यति बेला भीमफेदीको चहलपहल धुनधान थियो, हात्ती आउजाउ गरिरहन्थे ।’

भीमफेदी गाउँपालिका ६ स्थित हात्तीसारमा ३१ रोपनी जग्गा छ । उक्त जग्गाको बीचमा हौदाहरू राख्न त्यति नै बेला ठूलो भवन निर्माण गरिएको छ । २०४५ सम्म राजपरिवारले सिकार खेल्न यहाँबाट हौदालगायत सामग्रीहरू लैजाने गरेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘बहुदल आएपछि भने राजपरिवारले यहाँका हौदालगायत सामग्रीहरू प्रयोग गर्न छाडेको हो ।’

राजपरिवारका सदस्यहरू चितवन, कोसी, शुक्लाफाँट र बर्दिया राष्ट्रिय निकुञ्जमा यहीबाट हौदा लिएर सिकार खेल्न जाने गरेका थिए । उक्त हात्तीसार संग्रहालयलाई पर्यटकीय स्थलमा परिणत गर्न तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले २०५९ जेठमा आधा दर्जन एक्युरियम राखेर आकर्षक बनाएका थिए ।

स्याहारसुसार नभएका कारण एक्युरियमलाई माकुराले बासस्थान बनाएका छन् । उक्त संग्रहालय र जमिन चितवन राष्ट्रिय निकुञ्जको मातहतमा छ । ६९ वर्षीय स्थानीय भरतसिं लामाले १० वर्षदेखि संग्रहालयको हेरालुको काम गर्दै आएका छन् ।

३१ वर्ष चितवन राष्ट्रिय निकुञ्जमा गेम स्काउटका रूपमा काम गरेर अवकाश पाएका लामालाई निकुञ्जले २०६५ सालदेखि हेरालुको जिम्मेवारी दियो तर अहिलेसम्म सेवासुविधा केही पनि दिएको छैन । ‘हेरालुको जिम्मेवारी दिएको छ तर अहिलेसम्म सेवासुविधा केही पनि दिएको छैन,’ लामाले भने, ‘निकुञ्जसँग सेवासुविधा उपलब्ध गराउन पटक/पकट अनुरोध गरिसके अहिलेसम्म पाएको छैन ।’

हौदालगायत सामग्री प्रयोग गर्न हुन छाडेपछि निकुञ्जले संग्रहालय बेवारिसे छाडेको छ । पर्यटकीय स्थलमा विकास गर्न गुरुयोजना बनाएर काम गर्ने भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताए । ‘यसको संरक्षण र प्रचार गर्न जरुरी छ,’ उनले भने । यही चहलपहलसँगै संग्रहालयको संरक्षणको साथै प्रचारप्रसार गर्न जरुरी रहेका गाउँपालिकाले जनाएको छ ।

राजधानी प्रवेश गर्ने छोटो वैकल्पिक हेटांैडा भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल दक्षिणकाली र फर्पिङको मोटर सञ्चालन आउन थालेपछि भीमफेदीमा चहलपहल बढन थालेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि भीमफेदीलाई ‘कमब्याक’ गराउन प्रयत्न गरेका छन् । जिल्लाको पूर्व सदरमुकामका रूपमा रहेका भीमफेदी अहिले भीमफेदी गाउँपालिकाको केन्द्र हो ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?