कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘चिकित्सक जिम्मेवार भएनन्’

सर्पले टोकेका बालक मृत्यु

चितवन — चिकित्सकहरू जिम्मेवार नबन्दा भरतपुरमा सर्पले टोकेका बालकको बिनाउपचार मृत्यु भएको छानविन समितिले निचोड निकालेको छ । समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो । भरतपुर १५, मंगलपुरका ३ वर्षीय सलिन विकको सर्पले टोकेर भदौ २१ मा मृत्यु भएको थियो ।

‘चिकित्सक जिम्मेवार भएनन्’

सर्पले टोकेका व्यक्तिको उपचार हुने भरतपुरको सरकारी अस्पताल सुरुमै पुगे पनि उनको उपचार भएन । उनका अभिभावकलाई अन्य अस्पताल जान भनियो । अरू ४ अस्पताल चहार्दा पनि उपचार नभएपछि सलिनका अभिभावक अन्तिममा भरतपुर अस्पतालमा पुगेका थिए । तर बालक जोगिएनन् ।

यो समाचार भदौ २३ को कान्तिपुर दैनिकमा प्रकाशित भएपछि घटनाको छानविन हुनुपर्ने माग उठेको थियो । उपभोक्ता अधिकार संगठन र अभिभावकले प्रशासनमा यस्तो माग गरेपछि जिल्ला प्रशासनमा भएको बैठकले भदौ २८ मा चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा छानविन टोली गठन गरेको थियो ।

‘तत्काल डयुटीमा रहेका मेडिकल अधिकृत, अन कल विशेषज्ञ डाक्टर, स्टाफ नर्स र अहेवबाट पदीय जिम्मेवारी बहन नगरेको देखिन्छ,’ प्रतिवेदनको निष्कर्षमा उल्लेख छ । भरतपुर अस्पतालमा मात्र सर्पले टोकेमा दिने औषधि एन्टी स्नेक भेनम (एएसभी) पाइन्छ । बच्चा लिएर अभिभावक पनि सबैभन्दा पहिला त्यहीँ पुगेका थिए । रुँदै गरेको बालकको बिछयौनामा अभिभावकले सर्प देखेका थिए ।

समितिलाई झूटो बयान
अस्पतालले काटेको आकस्मिक टिकटमा सर्पले टोकेमा देखिने लक्षणहरू प्रस्ट उल्लेख छ । तर त्यो बेला डयुटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले पहिलो पटक बिरामी आउँदा लक्षण नदेखेको भनेर समितिलाई लिखित र मौखिक बयान दिएका छन् । प्रमाणले उनीहरूको भनाइलाई काटेको छ । उनीहरूको भनाइअनुसारले बिरामीलाई तत्कालै अन्य अस्पताल पुर्‍याउनु पर्दैन थियो ।

‘सर्पले टोकेको हो भनेर अभिभावकले भनेपछि तत्कालै अन्य अस्पतालमा रिफर गरिँदैन । बिरामीलाई १२ घण्टासम्म राखेर हेर्नुपर्छ । बयानमा उनीहरूले सुरुमा आउँदा लक्षण नदेखेको भनेका छन् । अनि किन रिफर गरे त ? बयानमा त्यसो भने पनि टिकट हेर्दा पहिलो पटक आउँदा नै सर्पले टोकेको लक्षण प्रस्ट देखिएको पाइन्छ,’ जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मी महतोले भने । बच्चा आउँदा अस्पतालको आकस्मिक कक्षमा डा. महेन्द्र पन्त डयुटीमा थिए । उनलाई स्टाफ नर्स र अहेबले बालकको अवस्था बताएका थिए । डा. महेन्द्रले अन कल डयुटीमा रहेका बालरोग विशेषज्ञ डा. उन्नत श्रेष्ठलाई जानकारी गराएका थिए । डा. श्रेष्ठले अहिले सर्पको लक्षण नदेखिए पनि श्वासप्रश्वासमा जटिलता आउने सक्ने भन्दै बच्चालाई पीआईसीयू भएको अस्पतालमा पठाउन भनेका थिए ।

‘डा. महेन्द्रले डा. श्रेष्ठलाई बच्चाको विषय जानकारी गराएपछि अलि ठूला बच्चाको आईसीयू भएको ठाउँमा एएसभी भरतपुर अस्पतालले नै दिने गरेर रिफर गर्ने निर्देशन श्रेष्ठले दिएको हामीले पायौं,’ महतोले भने । टेलिफोनमा सर्पदंशको लक्षण नदेखेको भनेर बताउँदा पनि तत्कालै बाहिर पठाउन निर्देशन दिनु उदेकलाग्दो भएको उनले बताए ।

‘बिरामीको अवस्थालाई प्रत्यक्ष जाँच नगरी टेलिफोनबाट अन्यत्र पीआईसीयू (बच्चाको आईसीयू) भएको ठाउँमा पठाउन आदेश गर्ने अन कल बालरोग विशेषज्ञ डा. उन्नत श्रेष्ठले आफ्नो जिम्मेवारी बहन नगरेको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष छ । बिरामीको अवस्था तत्कालै एएसभी दिनुपर्ने रहेको महतोले बताए । पीआईसी भनेको दोस्रो कुरा भएको उनको भनाइ छ ।

‘डाक्टर थिए, औषधि पनि थियो । सर्पले टोकेको प्रस्ट लक्षण पनि थियो । यस्तो बेलामा इन्जेक्स दिइहाल्ने हो । पीआईसीयू खोज्ने हैन । त्यो दोस्रो कुरा हो,’ जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख महतोले भने । रिफर गर्दा पनि एएसभी दिएर मात्रै गर्नुपर्ने उनले बताए ।

प्रतिवेदन बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्पले टोकेका बिरामीको उपचार हुने एक मात्रै अस्पताल भरतपुरको सरकारी अस्पताल आफ्नो कर्तव्यबाट च्यूत भएको प्रतिवेदनले प्रस्ट गरेको प्रतिक्रिया दिए । उनले बिरामी पुगेको अन्य निजी अस्पतालले पनि दोषमुक्त नभएको बताए । ती अस्पताललाई पनि केही न केही सजाय हुने उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?