२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

धमाधम बन्न थाले विद्यालय

काभ्रे — जिल्लामा भूकम्पमा क्षतिग्रस्त प्राय: विद्यालयमा पुनर्निर्माण भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तगर्तको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार, प्राधिकरण, अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थामार्फत क्षतिग्रस्त सबै विद्यालयमा नयाँ भवन निर्माण भइरहेको हो ।

धमाधम बन्न थाले विद्यालय

‘विद्यालयको जमिन नभएका बाहेक सबै विद्यालयमा भवन पुनर्निर्माणको कार्यक्रम छ,’ एकाइ प्रमुख निर्मलकुमार घिमिरेले भने, ‘यो वर्षसम्ममा सबै क्षतिग्रस्त विद्यालयमा भवन निर्माण भइसक्छ ।’ उनका अनुसार, पछिल्लो ३ वर्षमा सुरु भएका सबै विद्यालयको पुनर्निर्माण यो आवमा सक्ने लक्ष्य छ ।

‘३ आर्थिक वर्षमा छनोट भएका सबै विद्यालय यसै वर्ष पुनर्निर्माण सकाउने गरी जनशक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘सम्पन्न भएको संख्यामा प्रगति नदेखिए पनि अन्तिम चरणमा हुने विद्यालय धेरै छन् ।’


यो वर्ष पनि थप ५६ विद्यालय छनोट हुँदै छन् । एसियाली विकास बैंक (एडीबी) ले १० विद्यालयमा निर्माणका लागि टेन्डर गरी मूल्यांकनको प्रक्रियामा छ भने भारतीय दूतावासमार्फत १० विद्यालयका लागि बजेट विनियोजन भएर विस्तृत अध्ययन भइरहेको छ । जिल्लाका ५ सय ९० सामुदायिकमध्ये ३ सय ५३ पूर्ण र १ सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो । जिल्ला शिक्षा कार्यलयको तथ्यांकअनुसार, ५ हजार २ सय २० कक्षाकोठामध्ये ९ सय ५४ पूर्ण, ९ सय १४ अधिक र १ हजार ४ सय ८३ कक्षाकोठामा सामान्य क्षति भएको थियो ।

भूकम्पले क्षति भएका विद्यालयको पुनर्निर्माणले गति लिएको छ । दुई आवमा निर्माणाधीन १ सय ३९ विद्यालयका भवनमध्ये ५१ वटा सम्पन्न भएका छन् । ८८ वटा निर्माणको अन्तिम चरणमा छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइका इन्जिनियर शोभित श्रेष्ठका अनुसार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत आव ०७३/७४ मा निर्माण थालिएका ६८ मध्ये ४९ वटा सम्पन्न भएका छन् । १९ विद्यालय पुस मसान्तसम्म निर्माण गरिसक्ने गरी म्याद थप गरिएको छ । इकाईका अनुसार, आव ०७४/७५ मा विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण सुरु भएका ७० मध्ये ५ विद्यालयको काम सम्पन्न भएका छन् । बाँकीको ६० प्रतिशत काम पूरा भएको छ ।

‘दुर्गम क्षेत्रकालाई प्राथमिकतामा राखेर भवन पारेका थियौं, वर्षालगायत कारण केही ढिला भएको हो,’ घिमिरले स्विकारे, ‘बहुवर्षीय कार्यक्रम भएका कारण पनि प्रगति कम भएको हो ।’ तत्कालीन जिल्ला शिक्षा कार्यलयमार्फत ६१ विद्यालय निर्माणाधीन छन् । ५ विद्यालय सम्पन्न भएका छन् । आव ०७३/७४ मा तत्कालीन शिक्षा कार्यालयबाट ३ सय ६५ विद्यालय मर्मत र ७ सय ३० कक्षाकोठा निर्माणका लागि ७ लाख ६५ हजारका दरले बजेट विनियोजन भएकोमा करिब ४ सय कक्षाकोठा निर्माण भएका छन् । एसियाली विकास बैंकमार्फत निर्माण सुरु भएका आधारभूत तहका १४ मध्ये ८ विद्यालय निर्माण सम्पन्न भएका छन् । माध्यमिक तहका १४ विद्यालयको ८० प्रतिशत काम सकिएको इन्जिनियर श्रेष्ठ जनाए । एडीबीले सञ्जीवनी र प्रभा माविको नमुना भवन बनाइरहेको छ ।

शिक्षा कार्यालयले पनि क्षतिग्रस्त संरचना हटाउन, अस्थायी व्यवस्थापन गर्न, खानेपानी, शौचालयलगायतको व्यवस्था गर्न जिल्लाका ५ सय २७ विद्यालयलाई ७ करोड ३४ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?