कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तालिकामा मात्र उडान

टीकाप्रसाद भट्ट

रामेछाप — केही निजी विमान कम्पनीले रामेछाप विमानस्थलका लागि तालिकामा उडान राखे पनि जहाज उडाएका छैनन् ।

तालिकामा मात्र उडान

यात्रुहरू भने उडान तालिकाअनुसार टिकटका लागि भौंतारिहेका छन् । कम्पनीहरूले रामेछापका लागि काठमाडौंबाट उडान तालिका सार्वजनिक गरेको तीन साता भइसक्यो, उडान सञ्चालन गरेका छैनन् । बीस दिनअघि तारा, समिट र सीता एयरले रामेछापमा उडान तालिका सार्वजनिक गरेका हुन् ।

तीनवटै कम्पनीले सातामा एक उडान काठमाडौं–रामेछाप गर्ने उल्लेख गरी नागरिक उड्डयन प्राधिकरणमा समेत त्यसको जानकारी गराइसकेका छन् । अक्टोर १ देखि डिसेम्बरसम्म उडान गर्ने तालिका सार्वजनिक गर्ने कम्पनीका विमान अझैसम्म रामेछाप ओर्लिएका छैनन् । समिटले सोलुको लुक्लाका लागि समेत रामेछापबाट उडान राखेको छ । लुक्लामा रामेछापबाट यसअघि तारा, काष्ठमण्डप, गोमालगायतका हवाई कम्पनीले कार्गो उडान गर्ने गरेका थिए । हाल कार्गो सेवासमेत सञ्चालनमा छैन ।
तालिकाअनुसार समिट एयरले हरेक साताको शुक्रबार, सीता एयरले मंगलबार र तारा एयरले शुक्रबार उडान हुने तालिका सार्वजनिक गरेका थिए । सर्वसाधारणहरू उडान तालिका हेरेर टिकट खोज्दै भौंतारिए पनि कम्पनीले टिकट उपलब्ध गराएका छैनन् । दुर्गम क्षेत्रका विमानस्थलमा उडान तालिका नराखी नेपाल नागरिक उड्डयन प्राधिकरणले सुगममा विमास्थलमा उडान गर्न अनुमति नदिने भएकाले ती विमान कम्पनीले देखाउनका लागि रामेछापमा सेवा सञ्चालनको ‘नाटक’ गरेको स्थानीयले बताए छन् । स्रोतका अनुसार दुर्गममा उडान तालिका राखेका कम्पनीले रामेछापमा मात्र हैन अन्य विमानस्थलमा पनि उडान गर्दैनन् । दुर्गमको उडान संख्याका आधारमा सुगममा उडान गर्ने अनुमति पाउने नियम छ ।

काठमाडौंबाट पूर्वी पहाडी क्षेत्रमा सबैभन्दा नजिकको रामेछाप विमानस्थलमा तीन वर्षदेखि यात्रुवाहक उडान हुन सकेको छैन । दुई वर्षअघि कालोपत्रे भएको उक्त विमानस्थलमा यसअघि तारा एयरले उडान गर्दै आएको थियो । रामेछापका नागरिकले कम्तीमा सातामा एक उडान हुनुपर्ने माग गर्दै विमान कम्पनीसँग बारम्बार ताकेता गर्दै आएका छन् ।

विमानस्थल कालोपत्रे छ । एटीसीसहितको आधुनिक टर्मिनल भवन र अन्य संरचना छन् । नेपाल आयल निगमले हवाई इन्धन भर्ने सुविधासहितको डिपो सञ्चालनमा ल्याएको उक्त विमानस्थल उडान गरे सातामा एक उडानका लागि यात्रुको कमी नहुने दाबी स्थानीयको छ । वृद्धवृद्धा, महिला, सुत्केरी, बिरामी, सरकारी र गैरसरकारी उच्च अधिकारीहरूले यात्रा गर्ने हुँदा यात्रु संख्या न्यून नहुने दाबी स्थानीयले गर्दै आएका छन् ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?