पाख्रिनको स्मृतिमा वाटिका

काठमाडौँ — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका ४ कालिखोला रहेको रुद्र वाटिकालाई पर्यटकीय पार्कको रूपमा विकास गर्ने बताएका छन् ।

पाख्रिनको स्मृतिमा वाटिका

स्व. रुद्रबहादुर पाख्रिनको स्मृतिमा निर्माण गरिएको उक्त पार्कको मध्यभागमा पाख्रिनको पूर्णकदको सालिक पनि राखिएको छ । उक्त पार्कको शनिबार अवलोकन गर्न पुगेका मुख्यमन्त्री पौडेलले रुद्र वाटिकाको संस्थागत ढंगले विकास गर्न योजना बनाउनुपर्ने बताए ।

निर्माणको योजनासहित प्रदेश सरकारलाई लिखित रूपमा उपलब्ध गराएमा आगामी आवमा बजेट विनियोजन गर्न सकिने बताए । एक बिगाहा जमिनमा फैलिएको उक्त वाटिकामा विश्रामस्थलहरू निर्माण गर्नुको साथै वृक्षरोपण पनि गरिएको छ ।

गाउँपालिकाले गत आवमा वाटिकामा विभिन्न संरचना गर्न ५ लाख रुपैयाँ खर्चेको छ ।
‘चालू आवको निम्ति ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वरिपरिको जग्गा अझ बढाएर तारबार गरेर वाटिकाको गुरुयोजना बनाउने तयारीमा छौँ,’ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले भने । वाटिकाको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले जग्गाको क्षेत्रफल यकिन गरेर गुरुयोजना बनाएर प्रत्येक वर्ष पर्यटकलाई आकर्षण गर्न सकिने नयाँनयाँ संरचना निर्माण गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलसँगै अवलोकन गर्न पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले सामाजिक र सांस्कृतिक पक्षलाई ध्यान दिएर वाटिकाको स्तरीकरण गर्नुपर्ने बताए । आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको संरचनाहरू निर्माण गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने आन्तरिक मामिला मन्त्री जमरकट्टेलले प्रतिबद्धता व्यक्त गरेका थिए ।

वाटिका व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी नेपालीले वाटिकाको विषयमा जानकारी गराएकी थिइन् । अवलोकन गर्न प्रदेश सांसदद्वय कुमारी मोक्तान र प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेता बद्री लम्सालगायत गएका थिए ।

स्व. पाख्रिनको निवासनजिकै रहेको उक्त वाटिकाको निर्माण कार्य २०६३ सालदेखि सुरु गरिएको हो । सुरुमा स्थानीयवासीको पहलमा वाटिका बनाउने काम भएको थियो । पछिल्लो चरणमा तत्कालीन जिविस लगायतले पनि आर्थिक सहयोग गरेका थिए ।

साविकको मकवानपुरगढी गाविस—८ कालीखोलाका तत्कालीन माओवादी नेता पाख्रिनको २०५९ पुस २९ गते मकवानपुरको छतिवनमा सुरक्षाकर्मीद्वारा हत्या गरिएको थियो ।

प्रकाशित : आश्विन ७, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?