कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्कुल सुधार्दै पूर्वशिक्षक र विद्यार्थी

राजेन्द्र मानन्धर

दाेलखा — विद्यालयको कुनै भवन पूरा भइसके, कुनै निर्माणाधीन छन् । उक्त कार्य सीमान्तकृत थामी विद्यार्थीको बाहुल्यता रहेको एक सामुदायिक विद्यालयका निर्माण पूर्वशिक्षक र विद्यार्थीहरूले आफ्नै खर्चमा गरिरहेका हुन् ।

स्कुल सुधार्दै पूर्वशिक्षक र विद्यार्थी

दोलखाको जेठो सामुदायिक विद्यालय क्षमावती माविमा पुग्दा देख्न सकिन्छ, पूर्वशिक्षक र विद्यार्थीले चाहेमा यतिसम्म भौतिक र शैक्षणिक सुधारका कार्यहरू गर्न सकिन्छ ।

आठ दशकअघि स्थापना भएको क्षमावती विद्यालयमा पुरानो भवन पुनर्निर्माण र छात्रवास निर्माणमा पूर्वशिक्षक र विद्यार्थीहरूले दुई करोडभन्दा बढी रकम संकलन गरेर खर्च गरिरहेका छन् । एसईईमा विद्यार्थीको नतिजा सुधार्न चार लाख खर्चेर आवासीय कक्षा पनि उनीहरूले चलाए ।

उक्त कार्यमा झन्डै ४० वर्षअघि विद्यालयमा प्रधानाध्यापक भई कार्य गरेका काठमाडौं निवासी मिलनराज तुलाधरसहित विज्ञविशेषज्ञ टोलीहरू सक्रिय छन् । प्रअ रामप्रसाद वलीका अनुसार विद्यालय सुधारमा पूर्वशिक्षक र विद्यार्थीको लगावले बहालवाला शिक्षक र पढिरहेका विद्यार्थीका लागि उत्प्रेरणा मिलिरहेको छ ।

झन्डै एक करोडको सहयोगमा महिला छात्रावास निर्माण भइसकेको छ । त्यसका लागि पूर्वविद्यार्थी र शिक्षकको पहलमा पार्क, फाउन्डेसन र विभिन्न व्यक्तिले सहयोग गरेका छन् । समाजका सल्लाहकार इन्जिनियर माधव खकुरेलले स्थापनाको करिब ६ वर्षमा विद्यालयका भौतिक सुधार र शैक्षिक वातावरण सुधारका निम्ति योजनाबद्ध काम गरिरहेको बताए ।

पूर्वविद्यार्थीकै पहलमा भूकम्पबाट क्षतिग्रस्त मूलभवन पुनर्निर्माण पनि द्रुत गतिमा भइरहेको छ । उक्त निकायकै सहयोगमा एक करोड ३१ लाख संकलन भएको छ भने पुरानै स्वरूपमा भूकम्पप्रतिरोधी भवन धमानिर्माण भइरहेको छ । पूर्वशिक्षक–विद्यार्थी समाजको साधारणसभामा प्रमुख अतिथि बनाइएका ८२ वर्षीय माधव सिवाकोटीले भने, ‘हामीले खर्कबारी बेचेर स्कुल बनायांै, पछिल्लो पुस्ताले त्यसैको सिको गरेर स्कुल सुधार्दै छन् ।’

पूर्वशिक्षक–विद्यार्थी समाजले अनुकरणीय कार्य गर्दै जानुको प्रमुख जस मिलनराज तुलाधरलाई दिने गरिन्छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त थामी भन्छन्, ‘काठमाडौंवासी भइकन पनि सीमान्तकृत थामी बस्तीमा पटकपटक फर्केर आफ्नो निजी रकम खर्च गर्दै पूर्वविद्यार्थीलाई जागरुक गराउने कार्यमा मिलन सरकै बढी योगदान छ ।’ उनको नेतृत्वमा बनेको पूर्वशिक्षक–विद्यार्थी समाजका अन्य सदस्य पनि निकै उत्साहपूर्वक विद्यालयका लागि सक्रिय भइरहेको उनले बताए ।

गत वर्ष काठमाडौंका अर्का व्यक्ति प्रा.डा. मनमोहन श्रेष्ठ जो उक्त विद्यालयका पूर्वशिक्षक थिए उनी गत वर्ष महिना दिन बसेर विद्यार्थीलाई पढाए । त्यसरी नै इन्जिनियर माधवप्रसाद खकुरेल, मिलनराज तुलाधरलगायतले विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गरिरहने कार्यले निकै उत्साह मिलिरहेको शिक्षक भवानी थपलिया बताउँछन् ।

विद्यालयमा करिब पाँच सय विद्यार्थी छन् । अधिकांश थामी जातिका विद्यार्थी छन् । भीमेश्वर नगरपालिका १ नम्बर वडाध्यक्ष वीरबहादुर थामीले पूर्वशिक्षक र विद्यार्थीको विद्यालय सुधारमा लगाव देखेर आफूहरूले केही गर्न नसकेको जस्तो लाग्ने बताए । उनले क्षमावती स्कुलका पूर्वशिक्षक र विद्यार्थीको कार्यलाई एक अद्भुत नमुनायोग्य कार्यका रूपमा लिएको बताए ।

विद्यालयका पूर्वजहरूको सक्रियता देखेर पाँच लाख दान गरेका इन्जिनियर महेन्द्रबहादुर कार्कीले भौतिक सुधारपछि शिक्षाको गुणस्तरमा सुधार जरुरी रहेको बताए । विद्यालयका नतिजाहरू अझै चित्तबुझ्दो नभएकाले त्यसमा सुधार भएमा मात्रै पूर्वशिक्षक र विद्यार्थीले गरेको योगदान सार्थक हुने उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?