१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सफाइ अभियानमा स्थानीय तह

हरिहरसिंह राठौर

बेनीघाट (धादिङ) — व्यस्त राजमार्गमा दुर्घटना न्यूनीकरण, सरसफाइयुक्त र स्वच्छ राजमार्गको नारा लिएर स्थानीय सरकारका प्रमुखहरू खटिएका छन् ।

सफाइ अभियानमा स्थानीय तह

बेनीघाट रोराङका प्रमुख र उपप्रमुखसहितको टोली साताको तीन दिन यसै अभियानमा समय दिन्छन् । राजमार्ग स्वच्छता अभियानमा स्थानीय तहका पदाधिकारीलाई जिल्लाका सुरक्षा निकायका प्रमुखले पनि साथ दिएका छन् ।

राजमार्ग स्वच्छता अभियानमा स्थानीय तहलाई साथ दिन स्थानीय विद्यालयका विद्यार्थी पनि सडकमा निस्किएका छन् । उनीहरूले राजमार्गमा गुडने सवारी साधनलाई एक मिनेट रोकेर सार्वजनिक सवारी साधनमा फोहोर फाल्ने डस्टविन राख्न, सवारी साधनमा संकलित फोहरको उचित व्यवस्थापन गर्न र सवारी नियम पालना गर्न सुझाव दिन्छन् ।

हातहातमा दुर्घटना न्यूनीकरण र राजमार्ग सफा राख्न अपिल गरिएका रंगीन पर्चा बोकेका विद्यार्थी सार्वजनिक सवारी साधनमै चढेर नम्रतापूर्वक ‘हाम्रो सहर स्वच्छ राख्न प्लास्टिक मुक्त अभियान सञ्चालन गरेका छौं, सकेसम्म राजमार्ग स्वच्छ राख्न सहयोग गर्नुहोला’ भन्ने गरेका छन् । ‘विद्यार्थीले यात्रुसँग पानीका रित्ता बोतल र प्लास्टिकजन्य फोहोर झयालबाट फयाँक्नु उचित नभएको बताउँदै राजमार्गका विभिन्न मोड साँघुरो र घुमाउरा छन् । हतार नगर्न समेत सल्लाह दिन्छन् ।’

बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले बताए । अभियान सञ्चालन गर्ने स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय र जिल्ला प्रहरी प्रमुख डम्बर विकले पनि साथ दिएका छन् ।

राजमार्ग स्वच्छताका कुरा लिएर बेनीघाट रोराङ गाउँपालिकाले आफनो क्षेत्रमा पर्ने राजमार्ग र प्रवेशद्वारमा चेतनामुलक रंगीन होर्डिङबोर्ड पनि राखेको छ । विभिन्न सार्वजनिक स्थान, सार्वजनिक सवारी साधनले खाना र नास्ता खाने होटल, सवारी साधनले इन्धन भर्ने पम्प, सावजनिक शौचालयमा चेतामूलक प्रचार सामग्री राखिएको छ ।

‘प्रमुख चाडवाड नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप पनि ह्वात्तै बढ्ने भएकाले यात्रुसँग राजमार्ग स्वच्छताका कुरा र चालकसँग सवारी नियम सम्झाउनमा केन्द्रित छौं,’ बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर थापाले भने । राजमार्गमा सडक सुरक्षा र स्वच्छताको चेतना जगाउने कार्यमा काठमाडौंस्थित प्रकृति संरक्षण अभियान नेपालले सहजीकरण गरेको छ ।

प्रकाशित : आश्विन १३, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?