नागढुंगा जाम छल्न वैकल्पिक मार्ग

हरिहरसिंह राठौर

धादिङ — हजारौं यात्रुहरूलाई सास्ती दिने नौबिसे–नागढुंगा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनको तयारी गरिएको छ । दसैं अगाडि राजधानी बाहिरिने देशभरका यात्रुहरूले भोग्नुपरेको घण्टौं सवारी जामको सास्तीलाई न्यूनीकरण गर्न तत्काल वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नागढुंगा जाम छल्न वैकल्पिक मार्ग

विकल्पका रूपमा सबैभन्दा सहज हाल निर्माणाधीन धार्के–ठूलोखोला–भीमढुंगा–सीतापाइला सडक तत्काल सञ्चालनमा ल्याइने तयारी अघि बढेको छ । उक्त सडक धार्केदेखि धादिङ ठूलोखोला सम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइला सम्म १० किलोमिटर निर्माणाधीन छ । यो सडक १२ मिटर चौडा गरी चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिइसकिएको छ ।

वैकल्पिक सडकमा साना सवारी सञ्चालन गर्न दिने तयारी छ । नौबिसे नागढुंगा सडकमा सवारी सञ्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्न सरोकारवालाहरू भेला भई सडकको निरीक्षण गरी तत्काल वैकल्पिक मार्ग सुचारु गर्न छलफल गरिएको हो । छलफलमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नौबिसे– नागढुंगा सडकमा भासिएका खाल्डाखुल्डीलाई तत्काल पुर्न सडक कार्यालयले प्रहरीसँग समन्वय गर्नुपर्ने बताए । पाण्डेले सवारी जामको समस्या धादिङको नागरिकका लागि मात्र नभई देशकै लाखौं यात्रुहरूको समस्या भएकाले देशकै लागि काम गरिरहेको बताए ।

सडक निरीक्षणपछि धुनिबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले वैकल्पिक मार्गको रूपमा रहेको धार्के–सीतापाइला निर्माणाधीन सडकमा गाडी सञ्चालन गर्दा नियमित रूपमा पानी छर्कने व्यवस्था गरिनुपर्ने बताए । उनले नौबिसे–नागढुंगा सडकको मर्मतका लागि सडक कार्यालय, मर्मतको समयमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सडक जामको समस्या कम गर्न आफ्नो तर्फबाट कुनै काम बाँकी नराख्ने बताए । जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले सडक जामको समस्या कम गर्न मापदण्डविपरीत बढी भार बोकेका र लामो सवारीसाधनलाई धार्के आई नपुग्दै दिनभर धादिङका विभिन्न स्थानमा रोकिने र राति १० वजेपछि मात्रै सञ्चालन गर्न दिने गरी काम गर्न पहल भइरहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हेमराज घिमिरेले सडकमा सवारी साधनको चाप काम गर्न ट्राफिक व्यवस्थापन भइरहेको बताए । डिभिजन सडक कार्यालय धादिङका प्रमुख हरि ठकुरीले सडकमा काम गरिहेका विभिन्न कम्पनीहरूलाई समयमा काम गर्न भनिसकेको जानकारी दिए । उक्त सडक स्तरोन्नति गर्न दुई निर्माण कम्पनीलाई गत आर्थिक वर्षदेखि नै जिम्मा दिए पनि सरकारले पेस्की दिएको छैन ।

नियमित राजमार्ग जामले त्यस क्षेत्रका प्रहरीको जाम नियन्त्रण गर्न समय गएको छ । ‘सवारी जामका कारण सानातिना दुर्घटना र सामान्य उजुरीसमेत हेर्न भ्याइएको छैन,’ खानीखोलास्थित इलाका प्रहरी कार्यालय इन्चार्ज उद्धव पोखरेलले बताए । नौबिसे–नागढुंगा सडक करिब ७० जिल्ला, भारतबाट आउने यात्रु र व्यापारिक सामग्री राजधानी भित्रिने एक मात्र नाका हो ।

गत १ गते विश्वकर्मा पूजापछिको चार दिन लगातार यातायात बन्दले सवारी आवागमन प्रभावित भएको छ । चाडबाड नजिकिँदै गर्दा दैनिक दुई हजार मालवाहक ट्रक राजधानी भित्रिने गरेका छन् । यीमध्ये ७ सय जति भारतीय ठूला ट्रक हुन्छन् ।

प्रकाशित : आश्विन १४, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?