१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भूकम्पपीडित अझै त्रिपालमुनि

चार छोराछोरीले बीचैमा पढाइ छाडे
प्रताप विष्ट

मकवानपुर — आफ्नो त्रिपाल च्यातिएर छिमेकीसँग त्रिपाल मागेर घामपानी छेकेर बसेका छन् मकवानपुरगढी गाउँपालिका–५ का चेतनाथ दुलालका परिवार । घर भूकम्पले चिराचिरा परेको थियो । त्यही घरमा उनी बस्दै आएका थिए ।

भूकम्पपीडित अझै त्रिपालमुनि

२०७४ साल साउनमा हुरीसहित आएको पानीले चिरा परेको घर ढल्यो । घर छेउमै रहेको सानो फुसको छाप्रोमा दुलाल परिवार बस्दै आएका थिए । त्यो छाप्रो पनि गत साउनको ७ गतेको झरीले भत्क्यो । अहिले दुलाल परिवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पहिलो र दोस्रो किस्ता लिएर २ कोठे घर बनाउन लागेका छन् । जग पुर्न र ६ फिट अग्लो गारो लगाउन ३ लाख रुपैयाँ सकिसके । एक लाख रुपैयाँ छिमेकीहरूसँग उनले सापट लिएका थिए । अहिले त्यही गारो माथि छिमेकीसँग मागेको त्रिपाल हालेर बसेका छन् ।


‘घर वनाउन पैसा छैन, भएको फुसको छाप्रो पनि भत्क्यो,’ दुलालले भने, ‘च्यातिएको त्रिपालबाट पानी चुहिन्छ, तल चिसो भुइँ छ, यहीं बसेर दिनरात गुजारा गरेका छौं ।’ उनको ६ जनाको परिवार एउटै कोठामा कोचिएर बस्ने गरेका छन् । खाद्यान्न र लताकपडा भत्केको फुसको छाप्रोमा कोचेर राखेका छन् । तेस्रो किस्ता लिन छाना हाल्ने अवस्थामा पुग्नुपर्छ त्यो उनीहरूको सामथ्र्यभन्दा बाहिरको कुरा बनेको छ । चेतनाथकी पत्नी रीता दुलालले भनिन्, ‘ओत लाग्ने छाप्रो पनि बनाउन नसकिने भइयो ।’


१२ वर्षदेखि १८ वर्षसम्मका उनका २ छोरा र २ छोरी छन् । गरिबीका कारण उनका चारै छोराछोरी स्कुल जाँदैनन् । १८ वर्षीय छोराले ९ कक्षामा पुगेर पढाइ छाडे । ७ कक्षामा पढने जेठी छोरीले गत वर्ष पढ्न छोडेकी हुन् । कान्छा छोरा ६ कक्षामा पढ्दापढ्दै छोडे भने कान्छी छोरीलाई ४ कक्षामा भर्ना गरिएको छ तर उनी पनि पढ्न जान्नन् । ‘स्कुलमा पढ्न जानलाई खानेकुरा र लुगा नै छैन कसरी पढ्न पठाउनु ?’ चेतनाथले भने, ‘गरिबीका कारणले नै छोराछोरीलाई पढाउन नसकिएको हो ।’ रीताले थपिन्, ‘ओत लाग्ने ठाउँ छैन, भोक लाग्यो खानेकुरा छैन कसरी बच्चाबच्ची स्कुल पढ्न पठाउनु ?’


मकवानपुरका भूकम्पपीडितहरूले गाँस, बास कपासको समस्या भोग्दै आएका छन् । अनेक खालका समस्याको बीचमा पनि करिब ४१ महिनामा साढे ९ हजार निजी घरहरूको पुनर्निर्माण भइसकेको छ ।


अनुदान सम्झौता भएकामध्ये ५२ प्रतिशतले आवास बनाएका छन । हालसम्म मकवानपुरमा ९ हजार ४ सय १० लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई तथा अनुदान व्यवस्थापन कार्यालयका प्रमुख सोमनाथ तिम्लसिनाले बताए ।


अनुदान व्यवस्थापन कार्यालय प्रमुख तिमल्सिनाका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३३ हजार २ सय ६६ मध्ये २५ हजार २ सय ९३ जना अर्थात् ७६ प्रतिशतमात्र लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । ७ हजार ६३ लाभग्राहीहरूसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन । अनुदान सम्झौता भएकामध्ये २३ हजार १ सय ८३ अर्थात् ७३ दशमलव २७ प्रतिशत लाभग्राहीले प्रथम किस्ताको रकम बुझेर लगेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का इन्जिनियर रविन पाठकले बताए । ‘१७ हजार ४ सय ४५ लाभग्राहीले दोस्रो किस्ता लगेर युद्धस्तरमा घर बनाइरहेका छन्,’ उनले भने । तेस्रो किस्ता ९ हजार ८ सय ८३ लाभग्राहीले बुझेर लगेका छन् ।


८ हजार २३ लाभग्राहीसँग लालपुर्जाविहीन, सुकुम्बासीलगायतका कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवास पुनर्निर्माणका लागि सम्झौता हुन नसकेको हो । गुनासो दर्ता २६ हजार ९ सय ८७ वटा परेको थियो । २३ हजार ९ सय ६० वटाका गुनासाहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएको थियो । उसले सबै फछ्र्योट गरेर पठाएको छ ।


बाँकी सबै जिल्ला र स्थानीय तहबाट फछ्र्योट गरिएको थियो । पहिलो किस्ता लगेर दोस्रो किस्ता नलैजानेको संख्या ६ हजार ८ सय ९८ रहेको छ । ‘दोस्रो किस्ता नलैजानेहरूमा पहिलो किस्ता लगेर रकम अन्यत्र प्रयोग गरेका, घर बनाउन जग नै नखनेको र जग खन्न रकम अपुग भएकाले अन्यत्र लगेर प्रयोग गरेको तथा मापदण्डविपरीत घर बनाएकाले दोस्रो किस्ताका निम्ति माग नगरेको हुन सक्छ,’ प्रमुख तिमल्सिनाले बताए ।


मकवानपुरमा प्रबलीकरणका लाभग्राही ८ हजार ४ सय ९८ जना रहेका छन् । तीमध्ये २ हजार ३ सय २ लाभग्राहीसँग मात्र अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता भएकामध्ये २ हजार ३२ लाभग्राहीले मात्र प्रथम किस्ताको रकम लगेका छन । प्रबलीकरणका लाभग्राहीहरूले २ किस्तामा एक लाख रुपैयाँमात्र पाउँछन् । घरको प्रबलीकरण गर्न उक्त रकम अपुग हुने भएकाले लाभग्राहीहरूले प्रबलीकरणको किस्ता बुझेर लैजान रुचि देखाएका छैनन् ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?