कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सफाइ मजदुरबिना फोहोर व्यवस्थापन

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकाले सफाइ मजदुर नराखीकन नगर क्षेत्रको फोहोर व्यवस्थापन गरेको छ । स्थानीयले बजार व्यवस्थापन समिति र टोल विकास संस्था गठन गरेर गाउँ र टोलबाट निस्कने फोहोरको व्यवस्थापन गरेका हुन् ।

सफाइ मजदुरबिना फोहोर व्यवस्थापन

पुराना नगरपालिका अझै पनि सफाइ मजदुर राखेर फोहोरको व्यवस्थापन गरिरहेका छन् तर थाहा नपाले स्थानीयवासी नै परिचालन गरेर फोहोर संकलन गर्दै आएको छ । बजार व्यवस्थापन समितिले घरघरबाट निस्केको नकुहिने (अजैविक) फोहोर संकलन गरेको छ ।


समितिले संकलन गरेका फोहोर नगरपालिकाको टिपरले बोकेर पुन: वर्गीकरण केन्द्र (सेग्रिगेसन हाउस) मा ल्याउने गरेको छ । ‘प्लास्टिक, सिसा, फलाम, टिन आदि बिक्रीका निम्ति छुट्याएर राख्ने गरिन्छ,’ थाहा नपाका मेयर लवशेर विष्टले भने, ‘नगरका बस्ती र सहरलाई सफा र स्वच्छ राख्न स्थानीयवासीलाई नै परिचालन गरेका हौं ।’


फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र काठमाडौंको सहयोगमा थाहा नपा–२ को टाखेल, ४ को सिमभन्ज्याङ र ६ को बज्रवाराहीस्थित सरस्वती बजारमा सेग्रिगेसन हाउस निर्माण गरिएको छ । सिमभन्ज्याङको हाउस प्रयोगमा आइसकेको छैन, अरू दुई स्थानको हाउस प्रयोगमा आइसकेको थाहा नपाका वातावरण तथा सामाजिक शाखाका प्रमुख अनिल लामिछानेले बताए ।


बजार व्यवस्थापन समितिले घर/घरबाट फोहोर संकलन गर्न प्रतिमहिना प्रतिघर सय रुपैयाँ शुल्क लिने गरेको छ । थाहा नपाको नगरसभाले बजार व्यवस्थापन समिति र टोल विकास संस्थाले फोहोर व्यवस्थापन शुल्कबापत् मासिक न्यूनतम सय रुपैयाँ संकलन गर्न सक्ने भनेर निर्णय गरेको थियो । बजार व्यवस्थापन समितिको सदस्यले वडा तथा नगरपालिकाबाट सेवा लिँदा सरसफाइ परिचयपत्र अनिवार्य रूपमा लिनुपर्ने बनाएको छ ।


थाहा नगरपालिको २, ३, ४, ६ र ११ नम्बर वडामा बजार व्यवस्थापन समिति गठन गरेको छ । करिब ६ हजार घरधुरी रहेको नगरपालिकाका एक हजारभन्दा बढी घरधुरी बजार व्यवस्थापन समितिमा आबद्ध छन् । ‘घरघरबाट फोहोर व्यवस्थापन गर्न सकेमा सहर र बस्ती सफा पनि हुने र सफाइ मजदुरको आवश्यकता नपर्ने रहेछ,’ नपाका मेयर विष्टले भने, ‘नपाले सफाइ मजदुर राखेर फोहोरको व्यवस्थापन गर्ने प्रवृत्ति यो पुरानो र असफल विधि हो ।’ फोहोर नफालीकन सडक, सहर र बस्ती सफा राख्ने विधि अपनाउने प्रयास गरेको छ ।


थाहा नपाका विभिन्न बजार व्यवस्थापन समितिले दैनिक ३ टिपर फोहोर संकलन गर्ने गरेको छ । साताको २ पटक प्रत्येक बजार व्यवस्थापन समितिले संकलन गरेको फोहोर टिपरले उठाएर सेग्रिगेसन हाउसमा ल्याउने गरेका छन् । बजारमा फोहोर राख्नका लागि डस्टबिनहरू राखिएका छन् । पर्यटकीय नगरका रूपमा रहेको थाहा नगरलाई स्वच्छ, सफा र हराभरा बनाउन नपाका जनप्रतिनिधिहरू क्रियाशील भएका हुन् ।


सरकारले थाहा नपालाई पर्यटकीय नगरका रूपमा विकास गर्ने घोषणा गरेको छ । साविकको आग्रा, दामन, पालुङ, टिस्टुङ, बज्रवाराही र चित्लाङ गाविस समेटेर थाहा नगर गठन भएको हो ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?