निजी स्रोतका शिक्षकलाई तलब दिन कोष स्थापना

कृष्ण थापा

नुवाकोट — सामुदायिक विद्यालयको स्तर सुधार्न भन्दै पञ्चकन्या गाउँपालिकाले ‘स्वास्थ्य, शिक्षा व्यवस्थापन कोष’ स्थापना गरेको छ । उक्त नयाँ नियमअनुसार गाउँपालिकाभित्रका सबै कर्मचारी र जनप्रतिनिधिले प्रतिमहिना बुझेको तलबको १ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने छ ।

निजी स्रोतका शिक्षकलाई तलब दिन कोष स्थापना

अध्यक्ष तेजबहादुर तामाङले १ प्रतिशत सबै कर्मचारी र जनप्रतिनिधिबाट जम्मा गर्ने र त्यसमा थप १ प्रतिशत रकम गाउँपालिकाले थपेर कोषमा राख्ने काम थालिएको जानकारी दिए । उनका अनुसार कोषमा जम्मा भएको रकम पालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयका निजी स्रोतमा पढाउने शिक्षकको तलबमा खर्च गरिनेछ ।

त्यस्तै गाउँपालिका भरिमा कुनै कर्मचारी बिरामी परेमा, अप्ठेरा भइहालेमा सोही कोषबाट खर्चिने र बाँकी रकम सहकारीमा परिणत गरी उनीहरुलाई शेयर होल्डरसमेत बनाइने लक्ष्य रहेको गाउँपालिका प्रमुख तामाङले बताए । साथै एसईईमा परीक्षामा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकलाई सम्मानित गरिने गाउँपालिकाको योजना छ ।


उनले गाउँपालिकाभरिका शिक्षक, कर्मचारी, स्वास्थ्य चौकी, पशु, कृषि सेवा लगायतमा कार्यरत कर्मचारीले कोषमा रकम बुझाउनु पर्ने छ । त्यस्तै गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृत, वडाध्यक्ष, वडा सदस्य, वडा सचिवले समेत तलबको १ प्रतिशत कोषमा जम्मा गर्न उर्दी जारी गरिएको छ । उक्त नियम गाउँपालिकाले पारित गरी सबैलाई पठाएको उनले बताए । उनका अनुसार कोषमा एक वर्षभित्र करिब १० लाख रुपैयाँ जम्मा हुने छ ।


उक्त गाउँपालिका ९ माविसहित २८ वटा सामुदायिक विद्यालय छन् । दुइटा निजी विद्यालय छन् ।


सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी कम छ । सरकारी विद्यालयमा पढाउने निजी स्रोतका शिक्षक ४० जना छन् ।

प्रकाशित : आश्विन २०, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?