कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिमा पर्यटक साेध्छन्, ‘खै शौचालय ?’

शिल्पा कर्ण

काठमाडौँ — पशुपतिको राममन्दिर नजिकको शौचालयमा स्थानीय गाइडलाई मंगलबार एक महिला सोध्दै थिइन्, ‘भाइ यो टुरिस्ट ट्वाइलेटमा जान मिल्छ ?’ राममन्दिर नजिक ३ किसिमका शौचालय छन् । महिला, पुरुष र पर्यटक ।

पशुपतिमा पर्यटक साेध्छन्, ‘खै शौचालय ?’

बाहिरसम्म दुर्गन्ध आउने महिला शौचालयको ढोकाबाट भित्र हेर्दा निकै फोहोर देखेपछि ती महिला पर्यटक शौचालय सफा होला कि भन्ने आसमा छिरेकी थिइन् । ‘छि:, पैसा लिएर भए पनि कम्तीमा सफा त राख्नु नि,’ सलले नाक छोपेर बर्बराउँदै निस्किइन् उनी ।

निता सापकोटा गत वर्ष साउनमा पहिलोपल्ट पशुपति पुगेकी थिइन् । मंगलबार फेरि आमासँग पशुपति पुग्दा उनलाई तुलनात्मक रूपले निकै सफा अनुभव भयो । ‘पहिलेभन्दा त सफा भएछ । शौचालय पनि सफा नै रहेछ,’ सिर्जनशील युवा क्लबसँगैको स:शूल्क शौचालयबाट फर्केपछि उनको प्रतिक्रिया थियो । सँगै आएकी उनकी आमाको भनाइ पनि त्यही छ । पश्चिमी मूलद्वारसँगैको शौचालय भर्खरै मात्र पुनर्निर्माण भएको छ । यो पनि तुलनात्मक रूपले सफा छ । तर पर्यटकलाई भित्र जान मनाही भएकाले भित्र जाने कम छन् ।

पैसा लिएर जिम्मा दिइएको बाहेकका शौचालयको अवस्था खराब छ । वृद्धाश्रमको ढोकासँगै रहेको महिला र पुरूषका दुइटा शौचालय निकै परबाटै गन्हाउँछन् । उक्त शौचालयमा न पानीको व्यवस्था छ न त ढोका नै बन्द हुन्छ । त्यसैको अगाडि नयाँ, भूकम्पपछि निर्माण गरिएको अर्को स:शुल्क शौचालय पनि छ । तुलनात्मक रूपमा सफा छ, अपांगमैत्री पनि छ ।

अन्य स्थानका सफा शौचालय छन् तर धेरैलाई यहाँ शौचालय छ भन्ने जानकारी नै छैन । विदेशीसमेत उल्लेख्य संख्यामा पुग्ने पशुपतिनाथ क्षेत्रमा कहींकतै ‘शौचालय’ लेखिएका छन् । तर बाटोबाट देखिने गरी, पर्यटकले बुझ्ने भाषामा अंग्रेजीमा ‘ट्वाइलेट’ लेखिएको छैन ।

सामान्य दिनमा १०/१५ हजार व्यक्तिले पशुपति दर्शन गर्छन् । विशेष अवसर र पर्वमा दर्शनार्थीको संख्या ३ लाखसम्म पुग्छ । नेपाली दर्शनार्थी सँगसँगै सबैभन्दा बढी भारतीय पर्यटक र अमेरिका, युरोप, जर्मनी र अन्य मुलुकका पर्यटक पनि विश्व सम्पदा सूचीमा पर्ने पशुपतिनाथ मन्दिर पुग्ने गर्छन् । तर उनीहरूले खोज्ने जत्तिको सरसफाइ र पर्यटकमैत्री वातावरण नहुने गरेको गाइड विकास गन्धर्वले बताए । ‘जति पैसा तिर्नुपर्छ त्यो हिसाबले पर्याप्त सुविधा उनीहरूले पाएका छैनन्,’ उनी भन्छन्, ‘शौचालय, खुला रूपमा घुम्न पाउने वातावरण, सरसफाइलगायतका कुराहरू व्यवस्थापन गर्न सकिएको छैन । यसले गर्दा उनीहरू फेरि फर्केर आउने सम्भावना निकै कम हुन्छ, र टिकाइराख्न पनि गाह्रो हुन्छ ।’

पर्यटकका लागि खासै सुविधा नहुँदा आफूहरू अगाडि पर्यटकले गुनासो गर्ने गरेको गाइडहरूको भनाइ छ । शुल्क उठाएअनुसारको सेवासुविधा र पर्यटकमैत्री वातावरण बनाउनेतर्फ पशुपति क्षेत्र विकास कोषले ध्यान दिन नसकेको उनीहरूको भनाइ छ । भारतीयबाहेकका विदेशी पर्यटकलाई एक हजार रुपैयाँको टिकट लिइन्छ । तर शौचालय कता छ भनेर विदेशी सोधिरहन्छन् । न कतै शौचालयको बोर्ड र दिशा सूचक बोर्ड राखिएको छ, न त नक्सा बनाएर शौचालय भएका स्थान देखाइएको छ । वर्षदिन अघिको अनुभव सुनाउँदै पशुपति क्षेत्रका गाइड नारायण कटुवाल भन्छन्, ‘अमेरिकाको एकजना जन भन्नेले कस्तो फोहोर, शौचालयको पनि व्यवस्था छैन भनेर गए । नेपालको मात्र होइन, पशुपतिनाथ विश्वको सम्पदा हो । सफा राख्ने गर्नुपर्छ, भनेर भने ।’ उनको भनाइमा नयाँ बनाउनुभन्दा पुरानैलाई व्यवस्थित र मर्मत गर्न सके राम्रो हुन्छ ।

पशुपति क्षेत्र विकास कोषले पर्यटक मैत्री बनाउन ध्यान नदिएको ती क्षेत्रका गाइडहरूको गुनासो छ । मुख्य द्वारमा बस्ने र घाटतिर बस्ने सेक्युरिटी गार्ड दिनभरि पशुपति दर्शन गर्न आउनेका प्रश्न सुनेर आजित भइसके । अधिकांशको प्रश्न हुन्छ, ‘दाइ, यता ट्वाइलेट कता छ ?’ उनीहरू शान्ति सुरक्षा कायम राख्नेभन्दा पनि शौचालय जानकारी गराउन बसेझैं भएका छन् । पर्यटकलाई जानकारी दिने छुट्टै प्रहरी वा कर्मचारीको व्यवस्था गर्न सकिएको छैन । दर्शन मात्र होइन, कर्मकाण्ड, पूजापाठका लागि धेरैबेर श्रद्धालु मन्दिर परिसरमा बस्छन् ।

गाइड गणेश पाण्डे पनि पर्यटकका गुनासा सुनेर हैरान भइसकेका छन् । ‘सबैभन्दा पहिले पर्यटक लक्षित सफा र व्यवस्थित शौचालय बनाउनुपर्‍यो । अनि माग्नेहरू, अनाथ/घरबारविहीन बालबालिका विदेशीका पछि लागेर हैरान बनाउँछन्, त्यसलाई पनि सुधार गर्नु आवश्यक छ,’ पाण्डेले सुझाव दिए । त्यहाँको वनकाली पशुपति बजार व्यवस्थापन समितिले २०६५ सालतिर शौचलय बनाए पनि पर्यटकले प्रयोग गर्ने खालको राम्रो छैन । समितिका अध्यक्ष राधाकृष्ण वादीकारले स्विकारे, ‘यहाँ शौचालय, नुहाउने ठाउँ पनि छ । तर विदेशीले प्रयोग गर्ने किसिमको छैन ।’

पशुपति वाग्मती पारी पनि उत्तिकै फोहोर हुन्छ, सडकमै गोबर हुन्छ, पाइलैपिच्छे माग्ने देखिन्छन् । कतै बस्न चाहे भने पर्यटकका लागि ओत लाग्ने ठाउँसमेत छैन । अस्थायी संरचना नै भए पनि बस्नका लागि घामपानी छेक्ने संरचना हुनु आवश्यक रहेको उनको बुझाइ छ । हिन्दुबाहेकका लागि प्रवेश निषेधित भएकाले माथि, ‘ड्युटी पुल’ भन्ने स्थानबाट पर्यटकले पशुपति हेर्ने गर्छन् ।

प्रकाशित : आश्विन २१, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?