२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पहाड चढ्दै टेम्पो

राजेन्द्र मानन्धर

मैनापोखरी (दोलखा) — जिल्लामा अहिलेसम्म कसैले नगरेको पेशा के होला भन्दै मैनापोखरीका टिकाराम घिमिरे भौतारिदै थिए । २८ वर्ष शिक्षण पेशामा बिताएपछि सुरु गरेको पशुपालन व्यवसाय डुबेपछि उनलाई नयाँ काम गर्नुपर्ने बाध्यता भएको थियो ।

पहाड चढ्दै टेम्पो

जिल्लामा कसैले नगरेको व्यवसाय खोज्दै जाँदा एकदिन एउटाले भनिदियो, ‘टेम्पो चलाउनु, राम्रो कमाई हुन्छ ।’ समतल भू-भागमा गुड्ने टेम्पो हिमाली जिल्लाको उकाली सडकहरुमा गुडाउन सकिएला त भन्ने उनलाई लाग्यो । उनी भन्छन, ‘दोलखामा टेम्पो भित्र्याउने पहिलो बन्न पनि यो काम गरेरै छाड्छु भन्ने सोचेँ ।’


उक्त सोचका साथ दोलखामा पहिलोपटक टेम्पो भनिने अटो रिक्सा चलाउन थालेका घिमिरेले आठ महिनादेखि मासिक ५० देखि ६० हजार कमाईरहेका छन् । वैत्यश्वर मैनापोखरीबाट जिरी बजार २० किलोमिटरको दूरीमा छ । उक्त मार्गमा टेम्पो चलेमा मालामाल भइने अनुमान गर्दै भित्र्याएका हुन् । उक्त मार्गमा स्थानीय यात्रुले सवारीसाधन कठीनपूर्वक प्रयोग गर्न पाउथे । अहिले रिक्साले निकै सजिलो भएको जिरी खावाडाँडाकी डोमा शेर्पाले बताइन् ।


उक्त मार्गमा सार्वजनिक बसहरुले रोक्दै नरोकेर हैरानी पार्थ्यो । ‘किनकी म आफैँले पनि कतिपटक बस रोक्न हात उठाएँ, रोक्दै नरोकेपछि दु:खसाथ हिडेर जिरी पुगेको छु,’ त्यसैले पनि टेम्पो चलाउने निधोमा पुगेको उनले बताए ।


टेम्पो कुदाउने अठोटपछि ५० वर्षीय टिकाराम रिक्साबारे जानकारी लिन तराई झरेका थिए । सार्लाहीस्थित मामा घर बसेर अटोरिक्सा बारेमा जानकारी लिए । बुझ्दै जाँदा उनले दुई सय सिसिको अटो रिक्सा पहाडी उकालोमा गुड्ने थाहा पाए ।


फर्किएर स्थानीय एक सहकारी संस्थामा उक्त प्रस्ताव सुनाए । सहकारीले ६ लाख ऋण दियो । उक्त पैसाले टेम्पो ल्याए । अहिले उनी आफै टेम्पो चलाउँछन । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म यात्रु बोक्छन् । टेम्पोले ५ जनासम्म यात्रु बोक्छ । यात्रु सयदेखि १ सय ५० सम्म चापका आधारमा तिर्छन् । जिरीको हाटडाँडाबाट लिंकनसम्म ३० रुपैँया तिर्छन् ।


करिब एक वर्षमा टेम्पोको ऋण तिर्ने योजना बनाएका टिकारमका अनुसार राम्रो कमाई भइरहेको छ । टिकारामको राम्रो कमाई देखेर हालै अर्को टेम्पो पनि भित्रिएको छ ।

प्रकाशित : आश्विन २१, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?