ढकन उत्पादन सुरु

नौलो प्रविधिबाट निर्मित ढकन बलियो, टिकाउ र किफायती हुने दाबी
रमेशकुमार पौडेल

चितवन — घर, उद्योग, सडक र अन्य साना ठूला आयोजनाहरूका चेम्बर ढाक्न आवश्यक पर्ने धेरैजसो ढकनहरू विदेशबाटै मगाउनुपर्छ  । नेपालमा यस्ता ढकन थोरै उत्पादन हुन्छन्  ।

ढकन उत्पादन सुरु

भरतपुरमा नयाँ प्रविधिबाट चेम्बरका ढकनको उत्पादन सुरु भएको छ । भरतपुरका सूर्यप्रसाद न्यौपानेले विदेशमा सिकेको सीपलाई नेपालमा नै उपयोग गरेर यस्ता ढकनहरू उत्पादन गरेका हुन् ।


नेपालमा कस्ट आइरन (किट) बाट बनेका चेम्बरका ढकनहरू प्रयोग हुने गरेको छ । यस्तो ढकन उत्पादन गर्ने कारखाना नेपालमा एउटा मात्रै छ । वर्षमा नेपालमा ७० अर्व रुपैयाँ बराबरको यस्ता ढकनहरू खपत हुने गरेको न्यौपाने बताउँछन् । नेपालको उत्पादन निकै थोरै छ ।

न्यौपानेले किटको नभएर ग्लास फाइबरको कम्पोजिट म्यानहोल कभर (चेम्बरका ढकन) उत्पादन गरेका हुन् । ‘यो किटको भन्दा सात गुणा बढी बलियो हुन्छ । मूल्य लगभग उस्तै पर्छ,’ ढकन उत्पादन गर्ने सूर्यकिरण फाइबर इन्डस्ट्रिज प्रालिका प्रबन्धनिर्देशक न्यौपानेले भने । यस्तो कम्पोजिट ढकन (एसएमसी म्यान होल कभर) उत्पादन गर्ने प्रविधि नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै नौलो भएको उनले बताए । आफ्ना उत्पादन भुटानसमेत निर्यात गरेको उनको भनाइ छ ।


‘नेपालमा यो वर्ष हामीले १५ करोड रुपैयाँ बराबरका म्यानहोल कभर बिक्री गर्ने लक्ष्य राखेका छौं । घरदेखि सडक र अन्य आयोजनामा अत्यावश्यक यस्ता ढकन नौलो प्रविधिबाट बनेका कारण आकर्षक मात्रै छैन, बलियो, टिकाउ र किफायती पनि छ,’ न्यौपानेले भने । यसले ५० टन भार बहन गर्न सक्छ । यसका फलामकोमा जस्तो खिया लाग्दैन । रसायन र लवणले क्षति नगर्ने खालको छ ।


घरमा चाहिने तीन हजार रुपैयाँदेखि सडकजस्ता पूर्वाधारमा प्रयोग हुने २५ हजार रुपैयाँसम्मका ढकनहरू आफूले उत्पादन गर्ने न्यौपानले बताए । ‘यो कभर बनाउन विभिन्न १४ थरी रसायनहरू चाहिन्छ । ३५ प्रतिशत कच्चा पदार्थ नेपालमै पाइन्छ । मुख्य कच्चा पदार्थ रेजिम र ग्लास फाइबर विदेशबाटै मगाउनुपर्छ,’ न्यौपानेले भने ।


भारतको चण्डिगढमा फाइबरका समान उत्पादनसम्बन्धी अध्ययन गरेपछि न्यौपाने खाडी क्षेत्रका विभिन्न मुलुकहरू गए । ‘त्यहाँ फ्रान्सका जहाजका भित्री खण्डहरू बनाउने फाइबर उद्योगमा लगभग सात वर्ष काम गरेँ । त्यसपछि नेपालमा नै केही गर्छु भनेर आएको हुँ,’ न्यौपानेले भने । नेपालमा १० वर्षअघि उद्योग खोल्दा जहाजका पार्टसहरू बनाउने सम्भावना थिएन । त्यो बेला उनले ११ करोड रुपैयाँ खर्च गरेर सूर्यकिरण फाइबर सुरु गरे । जसमा फाइबरका झ्याल ढोका, चौकस र छाना छाउँदा बीच बीचमा राखिने अर्धपारदर्शी पाताहरू उत्पादन सुरु गरे । बाथ टब पनि बनाए ।


यी उत्पादनहरू लोकप्रिय हुँद गएपछि उत्साहित भएर नयाँ काममा पनि हात हालेको उनले बताए । यो कामका लागि सात करोड रुपैयाँ थप लगानी गरेको उनले बताए ।

प्रकाशित : आश्विन २४, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?