१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गाउँपालिकाद्वारा १७ वटा पिङ

‘संस्कृति, कलाको संरक्षण र सीपको हस्तान्तरण गर्न पिङ हाल्न लागेका हांै’
प्रताप विष्ट

हेटौंडा — गाउँ घरमा दसैंमा रमाईरमाई खेल्ने रोटेपिङ लोप हुने अवस्थामा पुगेको छ  । रोटेपिङ र लिङ्गेपिङमा रमाउनेहरू हराउँदै गएका छन्  ।

गाउँपालिकाद्वारा १७ वटा पिङ

सहर उन्मुख गाउँका अधिकांश युवाहरूले रोटेपिङ देख्नसमेत पाएका छैनन् । दसैंतिहारको रमाइलोसँग जोडिएको पिङ सस्कृति हराउँदै गएकाले त्यसको संरक्षण र जर्गेना गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिकाले काठको रोटेपिङसहित १७ वटा पिङ हाल्ने भएको छ ।


‘संस्कृतिको जर्गेना र पिङ संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाका सबै वडाहरूमा दसैंमा पिङ हाल्न लागेका छौं,’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले भने, ‘संस्कृति, कलाको संरक्षण र सीपहरूको हस्तान्तरण गर्न पिङ हाल्न लागेका हौं ।’ काठको रोटेपिङ बनाउने कालिगढ (सिकर्मी)हरू नै गाउँमा नपाउने अवस्था पुगिसकेको छ । रोटेपिङको प्रचलन हराएकाले गाउँमा भएका कालिगढहरूले सीप पनि हस्तान्तरण गर्ने अवसर पाएका छैनन् ।


‘सीप हस्तान्तरण गर्न र गाउँमा अर्गानिक ढंगले दसैं मनाउनका लागि गाउँपालिकाले प्रत्येक वडामा २/२ वटा र गाउँपालिकाको कार्यालय रहेको केन्द्रमा काठको रोटेपिङ हाल्न लागेको छ,’ अध्यक्ष हुमागाईंले भने, ‘वडा–वडामा रोटेपिङ हाल्न कालिगढको अभाव र काठको पनि समस्या देखियो, अर्को वर्ष वडा–वडामा एक/एकवटा रोटेपिङ हाल्ने र लिङ्गेपिङको संख्या पनि वढाउनेछांै ।’


लिङ्गेपिङको लागि हरियै रूख वा बाँस भए पनि हुन्छ तर रोटेपिङको निम्ति आवश्यक पर्ने काठहरू सुकेको हुनुपर्छ । एउटा रोटेपिङको निम्ति बलियो जातको ३० क्युफिटभन्दा बढी काठ आवश्यक पर्छ । चुच्चे खोला सामुदायिक वनले रोटेपिङको निम्ति काठ उपलब्ध गराउने र गाउँमा रहेका उमेरपाका भएसकेका सिकर्मीहरूले रोटेपिङ बनाउने जनाएका छन । ८ वडामा विभाजित उक्त गाउँपालिकाका प्रत्येक वडामा २/२ वटा लिङ्गेपिङ हाल्ने जनाएको छ । गाउँमा पिङहरू भए भने दसैंतिहारमा मदिरा सेवन गरेर होहल्ला गर्ने र तासजुवा खेल्ने विकृतिमा पनि कमी आउने स्थानीय रामजी सापकोटाले बताए । गाउँपालिकाले पिङको संस्कृतिलाई जीवन्त राख्न खोजेकोमा खुसी हुँदै उनले भने, ‘पिङ हाल्न गाउँपालिका र वडा समितिले स्थानीयवासीलाई सहभागिता गराउनुपर्छ ।’


मकवानपुमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका छन । गाउँपालिकाले आफ्नै अगुवाइमा रोटेपिङसहित सवै वडामा पिङ हाल्न लागेको यस जिल्लाको यो मात्र एक गापा हो ।


यसैगरी, मनहरी गाउँपालिकाले हाँडीखोलामा एउटा र मनहरीमा एउटा लिङ्गेपिङ हाल्ने योजना बनाएको छ । ‘गत वर्ष पनि २ वटा लिङ्गेपिङ हालेका थियौ’गापा अध्यक्ष एकराज उप्रेतीले भने,‘यो वर्ष पनि त्यसै गर्छौं ।’ पिङ संस्कृति मासिइसकेको थियो स्थानीय तहका जनप्रतिनिधिहरूले ध्यान पुर्‍याए भने जोगिन्छ कि भन्ने स्थानीय बूढापाकाहरूलाई लागेको छ । ‘भौतिक पूर्वाधारहरू निर्माण गरेर मात्र विकास नहुने भएकाले संस्कृतिहरूको जर्गेना गर्नुपर्छ,’ स्थानीयवासी सापकोटाले भने ।


तीन दशकअघिसम्म गाउँ/गाउँमा रोटेपिङ र लिङ्गेपिङ हुन्थ्ये । निधारमा रातो टीका, कानमा जमरा सिउरेर र नयाँ कपडा लगाएर पिङमा घुइँचो लाग्थ्यो । अहिले त्यो क्रम घट्दो मात्र होइन, लोपोन्मुख अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

प्रकाशित : आश्विन २४, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?