कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना

‘जिल्ला प्रहरी कार्यालय हेटौंडाले मोटरसाइकल र गाडीसहित ५२ प्रहरीको ‘क्विक रेस्पोन्स’ टोली बनाएको छ ।

हेटौंडा/धादिङ — दसैं तिहारलगायत चाडपर्व लक्षित सुरक्षा योजना प्रहरीले बनाएको छ । चाडपर्वको समयमा आपराधिक गतिविधि हुन सक्ने र राजमार्गमा लुटपाटसमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा योजना बनाएको हो ।

चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना

‘जिल्ला प्रहरी कार्यालय हेटौंडाले मोटरसाइकल र गाडीसहित ५२ प्रहरीको ‘क्विक रेस्पोन्स’ टोली बनाएको छ । घटना भएको थाहा पाउनेबितिक्कै मोटसाइकल वा गाडीमा तत्काल उक्त घटनास्थल पुगिहाल्छ,’ प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भने, ‘यो २४ सै घण्टा तयारीमा रहिरहन्छ ।’ मोटरसाइकल र पैदल गस्ती १९ वटा परिचालन हुने जनाएको छ ।


प्रहरी कार्यालयका अनुसार प्रहरीको मोबाइल गस्ती टोली ‘पिकेट’ जिल्लाभरि गरी ३२ वटा रहने छन् । राजमार्गमा हुने लुटपाटलगायत आपराधिक घटना नियन्त्रण गर्न बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकबाट हतियारसहित रात्रि बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको छ ।


चितवनबाट आएका रात्रिबसहरुमा लोथरबाट हतियारसहित प्रहरीहरु बसेर चुरियामाई मन्दिरसम्म पुग्ने योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाले रात्रिबसमा सुरक्षार्थ खटिने ७२ प्रहरीको ८ वटा टिम बनाएको छ । मकवानपुर क्षेत्रमा पर्ने राजमार्गको विभिन्न भागमा लुटेराहरु बसेर बस रोकेर लुटपाट गर्ने गरेको छ ।


बैकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घण्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारबाही गर्ने पनि प्रहरीले जनाएको छ । राजमार्ग र शाखा सडकहरुमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाउने प्रहरीको योजना छ । चाडबाँडलाई लक्षित गरेर ६ सय ८२ प्रहरी परिचालन हुनेछन् ।


यसैगरी धादिङ जिल्ला प्रहरी कार्यालयले पनि दसैं, तिहार लगायतका चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधिहरु र दुर्घटना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत इकाइहरुका लागि विशेष कार्ययोजना निर्माण गरेको छ ।


राजमार्ग लगायतका सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानहरुमा ६ वटा मोबाइल गस्ती, १५ वटा मोटरसाइकल गस्ती एवं २७ वटा पैदल गस्ती दैनिक रूपमा २४ सै घण्टा परिचालन गरिने प्रहरी उपरीक्षक डम्बर बिकले बताए ।


स्थानीय तहहरुसँग समन्वय र सहकार्य गरी सुरक्षा योजना लागू गरिने र सबै स्थानीय जन प्रतिनिधि, बुद्धिजीवीसमेतसँग समन्वय गरी शान्ति सुरक्षासम्बन्धी खबर संकलनको व्यवस्था गरिने प्रहरी प्रमुख विकले बताए ।


भीडभाड हुने स्थानहरु एंव राजमार्गमा सवारी साधनहरुमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि महिला प्रहरी सहितका सादा पोसाकका प्रहरीहरु परिचालन गरी गुण्डागर्दी एवं लागूऔषध दुव्र्यसनीहरुबाट हुने अपराध नियन्त्रणका लागि संवेदनशील स्थानहरुको पहिचान गरी विशेष चेकजाँचको व्यवस्थासमेत गरिनेछ ।


दसैं, तिहार एवं छठ लगायतमा जुवातास खेल्ने, पटाका पडकाउने, मादक पदार्थ सेवनका क्रियाकलापहरु नियन्त्रणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सूचना सम्प्रेषण गर्ने प्रहरीको योजना छ । जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा (जोगीमारा, गजुरी, गल्छी, महादेवबेंसी, खानीखोला र नीलकण्ठ नपा) यात्रु सहायता कक्ष स्थापना गरिने जनाएको छ।


जिल्लाभित्र आउने र जाने प्रमुख नाकाहरु एवं सदरमुकाम प्रवेश गर्ने नाकाहरुमा दैनिक रूपमा ट्राफिकसहितको नियमित एंव आकस्मिक चेकिङको व्यवस्था गरेको छ । चाडवाड सुरक्षा योजनाअन्तर्गत ३ सय ८७ जना प्रहरी परिचालन हुने छन् । जिल्लाभरिका होटल, लज, रेस्टुरेन्ट, मनोरञ्जनात्मक स्थलहरु आदिको नियमित एवं आकस्मिक अनुगमन र चेकजाँचको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित : आश्विन २४, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?