ज्युँदी महिलालाई मृत प्रमाणित

‘बाटुलीमायाले सरकारले दिने वृद्धभत्ता मात्रै नपाएकी हैनन् उनको नाममा आउनुपर्ने सम्पत्ति अर्कैका नाममा पुगिसकेको थियो । उनी ज्यँुदै रहेको कुरा फैलिएपछि अहिले उनको नाममा जग्गा फिर्ता भएको छ’
रमेशकुमार पौडेल

चितवन — बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने वृद्ध भत्ता बुझै आएकी थिइन्  । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका–११ वाङथलामा उनको घर छ ।

ज्युँदी महिलालाई मृत प्रमाणित

घरदेखि दुई घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलाई वृद्धभत्ता नपाउने बताए ।


वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरेका मान्छेले कसरी भत्ता पाउने ? वृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन ‘म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे ।’ केही युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सालको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ ।


मरेको सात महिनापछि बाटुलीमायाले यसको जानकारी पाएकी रहिछन् । पछि हेर्दै बुझै जाँदा थाहा भयो भत्ता नदिनका लागि मात्रै उनी मरेको कागज तयार गरिएको हैन रहेछ । उनको श्रीमान् सुखरामको नाममा गाउँमा ३५ कट्ठा जग्गा थियो । उनी ०५८ सालको माघमा भीरबाट लडेर बितेका थिए । उनको नामको सम्पत्ति बाटुलीमायाको नाममा आउनु पर्छ । तर बाटुलीमाया मरेको कागज बनाएर छोराको नाममा ल्याइयो ।


बाटुलीका पाँच भाइ छोरा छन् । माइलो छोराको निधन भएको छ । उनी कान्छो छोरासँग बस्दै आएकी छन् । ०५४ सालदेखि सँगै बस्दै आएको कान्छो छोरा गोकर्ण र काइलो छोरा विगुलाई यो थाहा छैन । न निधन भएका माइला छोरा मोतिरामका परिवारले यो कुरा चाल पाए । सुखरामको सवै सम्पत्ति जेठो छोरा बुद्धिलाल र साइलो छोरा सालिकरामको नाममा नामसारी भयो ।


तत्कालै अर्कैको नाममा ज्युँदै रहेकी बाटुलीमाया मरेको कागज तयार भएपछि उनका छोरा बुद्धिलाल र शालिकरामका नाममा गत वर्षको फागुन २१ मा जग्गा पास भएको खैरहनी मालपोत कार्यालयको विवरणमा उल्लेख छ । साविक कोराक–९ को कित्ता नम्बर १ को नौ कट्ठा १० धुर, कित्ता नम्बर चारको १५ कट्ठा आठ धुर र कित्ता नम्बर नौको १० कट्ठा सात धुर जग्गा सुखरामबाट सिधै उनका दुई भाइ छोराको नाममा गएको हो ।

उनको नाममा बनाइएको मृत्यु दर्ता प्रमाणपत्र ।तस्बिर : रमेश/कान्तिपुर


दुई भाइ चेपाङको नाममा आएको सबै जग्गा एक महिनापछि नै भुवकुमारी श्रेष्ठको नाममा देखिन्छ । ती दुई भाइले गत वर्षको चैत २० गते कालिका–९ शक्तिखोरकी भुवकुमारीको नाममा जग्गा राजीनामा पास गरेको मालपोत कार्यालयको विवरणमा उल्लेख छ । भुवकुमारीले पनि गएको जेठ २२ गते कित्ता नम्बर एकको साढे चार कट्ठा र कित्ता नम्बर नौको पूरै १० कट्ठा सात धुर जग्गा अर्कैलाई बेचेको देखिन्छ ।


बाटुलीमायाले सरकारले दिने वृद्ध भत्ता मात्रै नपाएकी हैनन् उनको नाममा आउनु पर्ने सम्पत्ति अर्कैका नाममा पुगिसकेको थियो । चेपाङको जग्गा हडप्ने योजनाले नै यो काम गरेको गाउँलेहरू बताउँछन् । तर यो विषयमा खुलेर कुरा गर्न कोही तयार भएनन् । बडाध्यक्षले दुई भाइ पनि देखेनन् ।


बाटुलीमायाको मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्र स्थानीय पञ्जिकाधिकारी सितादेवी गैरे भट्टले ०७४ फागुन १५ गते जारी गरेकी हुन् । त्यसैका आधारमा वडाध्यक्ष कृष्णबहादुर प्रजा चेपाङले मालपोत कार्यालय खैरहनीलाई जग्गा नामसारीको पत्र लेख्दा बाटुलीमायाको दुई भाइ छोरा मात्रै रहेको जनाएका छन् । उनले माइला छोरा मोतिरामको २०२१ सालमा अविवाहित अवस्थामा नै निधन भएको लेखेका छन् ।


तर बाटुलीमायाका अनुसार माइला छोरा मोतीरामको ०७३ सालको भदौंमा क्यान्सरका कारण निधन भएको हो । मोतीराम विवाहित हुन् । गाउँमा उनको श्रीमती तारामाया र दुई छोरी तथा दुई छोरा पनि छन् । यसबाहेक वडाध्यक्षले मालपोत कार्यालयलाई लेखेको पत्रमा काइला छोरा बिगुल र कान्छा गोकुलको विवरण नै छैन । वडा कार्यालयले बाटुलीमायालाई मात्र होइन, उनका ज्युँदा दुई छोरा पनि देखेन । आमासँग बस्दै आएका गोकर्ण भन्छन्, ‘हामी केही जान्दैनौं । पहाडमा बसेका छौं, कस्सले किन के गरेको हो, थाहा भएन ।’


ऋण तिर्न किर्ते काम
स्थानीयहरू भन्छन्– बाटुलीका एकजना नातिले शक्तिखोर बजारका एकजना व्यक्तिसँग ऋण लिएका थिए । त्यही ऋण तिर्ने उपाएका लागि यो काम भएको गाउँलेहरू अनुमान लगाउँछन् । चेपाङ दाजुभाइले जग्गा राजीनामा गरेर दिएकी भुवकुमारी श्रेष्ठका पति हुन् सानुकाजी श्रेष्ठ । बाटुलीमायाका एकजना नातिले आफूसँग ऋण लिएको उनी स्वीकार गर्छन् । तर बाटुलीमायाको विषयमा केही जानकारी नभएको बताउँछन् ।


‘मलाई चेपाङ दाजुभाइ आएर आफ्नो नामको जग्गा खरिद गर्न भने । उनीहरूका एकजना छोराले मसँग पाँच लाख जति ऋण लगेको पनि थियो । ऋण तिर्न जग्गा किन्नुस भनेपछि मैले स्वीकार गरेको हुँ । ज्युँदै बूढी आमाको मृत्यु दर्ता गरेर जग्गा आफ्नो नाममा पारेको कुरा मैले कसरी थाहा पाउने,’ सानुकाजी श्रेष्ठले भने । वृद्धभत्ता नपाएपछि बूढीआमाले गुनासो गर्दै हिँड्दा यो विषय सार्वजनिक भएको उनले बताए ।


जग्गा फिर्ता
बाटुलीमाया ज्युँदै रहेको फैलिएपछि अहिले उनको नाममा जग्गा फिर्ता आएको छ । इलाका मालपोत कार्यालय खैरहनीका प्रमुख निरबहादुर दाहाल गएको भदौ ५ र १८ गते भुवकुमारी र उनले बेचेको जग्गा सबै बाटुलीमायाको नाममा फिर्ता भएको बताउँछन् । तर बाटुलीमाया लालपुर्जा आफूले हात नपारेको बताउँछिन् । अबदेखि भत्ता पाउने हो वा हैन भन्ने पिरलो पनि उत्तीकै छ ।


यो विषयमा बाहिर कुरा गरे बाटुलीमायाकै छोरा नाति जेल जान्छन भनेर उनीहरूलाई डर देखाएको गाउँलेहरू बताउँछन् । वडा कार्यालयले जानाजान गलत कागज तयार बनाएको उनीहरूको आरोप छ । सानुकाजी श्रेष्ठ नै भन्छन्, ‘वडाध्यक्ष र उनीहरूको घर वल्लोपल्लो डाँडामा हो । बोलाएको पनि सुनिन्छ । थाहा नपाउने भन्ने हुँदैन ।’


मृत्यु दर्ता भए पनि नाता प्रमाणित गर्ने बेलामा मुचुल्का गर्नुपर्छ । वडाध्यक्षले मुचुल्का गरेको देखिँदैन । ‘मलाई के कसरी काम गर्नुपर्छ भन्ने थाहा भएन । काम गर्दा गल्ती भयो । मिलाएर काम गर्न सकिएन छ,’ वडाध्यक्ष कृष्णबहादुर चेपाङले भने ।


सम्पत्ति सबै हड्पेको देखिएका कारण सामान्य गल्ती कमजोरीले यो काम नभएको स्थानीय बताउँछन् । ‘हामी बुझ्दै छौं । थाहा पाएपछि जग्गा पूरै फिर्ता गराइयो । अब भत्ता पनि पाउनु हुन्छ,’ कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले भने ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?