गाउँमा नमुना विद्यालय

प्रताप विष्ट

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ग्रामीण भेगको एक सामुदायिक विद्यालयमा एउटा कक्षाका लागि एउटा भवन छ । ४० विद्यार्थी क्षमताको एउटा कक्षाका लागि एउटा भवन निर्माण गरिएको हो । 

मकवानपुरको भीमफेदी गाउँपालिका ९ बसीफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका भवनहरू । तस्बिर : प्रताप/कान्तिपुर

भीमफेदी गाउँपालिका ९ बसीफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थी अध्ययन गर्नका लागि छुट्टाछुट्टै भवन छन् । ‘एउटा कक्षाकोठाका लागि एउटा भवन रहेको छ’ प्रधानाध्यापक एलएल मण्डलले भने, ‘सबै कक्षाकोठाहरू बालमैत्री छन् ।’ सधैं चिसो भइरहने उक्त स्थानमा स्कुलको प्रत्येक कक्षाकोठामा रुम हिटर राखिएको छ । तातो र चिसो पिउने पानीको व्यवस्था छ । विद्यालय परिसरमा फ्रि वाईफाई छ । प्रत्येक कक्षाकोठामा अडियो भिजिवेलबाट पठनपाठन गरिन्छ । छात्रामैत्री शौचालय छ ।

Yamaha

२ हजार ३ सय ८० मिटर उचाइमा रहेको उक्त विद्यालयमा ईसीडीदेखि ४ कक्षासम्म अंग्रेजीमाध्यमबाट पठनपाठन गरिन्छ । २ सय ३५ जना छात्रा र २ सय २० जना छात्र गरी ४ सय ५५ जना उक्त विद्यालयमा अध्ययनरत छन् । छात्रभन्दा १५ जना बढी छात्रा छन् ।
तामाङ समुदायका बालबालिका मात्र अध्ययन गर्ने उक्त विद्यालयमा २ घण्टा पैदल हिँडेर विद्यार्थीहरू पढ्न आउने गर्छन् । विद्यालयमा आउजाउ गर्दा दैनिक चार घण्टा उनीहरू हिँड्नुपर्छ । उक्त विद्यालयमा थाहा नपाको ४, ५ र भीमफेदी गाँउपालिकाको ९ नम्बर वडाका बालबालिकाहरू पढ्न आउने गर्छन् । वासुकी, बतासे, नलिवन, ठूलो माखु, झिरघारी, अघोरलगायत २७ वटा बस्तीका तामाङ बालबालिकाहरू यहाँ पढ्न आउने गर्छन् ।
ठूलोमाखु, वासुकी र अघोरका बालबालिकाहरू दैनिक चार घण्टा हिँड्ने गर्छन् । त्रिभुवन राजपथको छेउमै रहेको उक्त विद्यालयका विद्यार्थीहरू राजमार्ग हुँदै हिँडेर आउजाउ गर्छन् । सवारी साधनका चालकहरू दयालु प्रकृतिका फेला परे भने उनीहरूलाई सवारी साधनमा हालेर स्कुलसम्म ल्याइदिने गर्छन् । ‘छात्रावासको अभावले गर्दा टाढा–टाढाबाट पढ्न आउने विद्यार्थीलाई समस्या भएको छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले भने, ‘छात्रावासको अति आवश्यकता छ तर आर्थिक अभावले बनाउन सकिएको छैन ।’
३३ रोपनी जग्गामा फैलिएको उक्त विद्यालयको बीच भागमा खेलकुद मैदान छ । पुस्तकालय पनि छ । टाढा/टाढाबाट आएका शिक्षकहरू विद्यालयमै बस्नका लागि क्वार्टरको पनि सुविधा छ । विद्यालय परिसरमा कक्षा भवन, पुस्तकालय र प्रशासनिक भवन गरी १८ वटा भवन छन् । जाइटी फाउन्डेसनले २०४९ सालमा बसीफाँटमा उक्त विद्यालय स्थापना गरेको हो । २०६५ सालमा उक्त विद्यालय समुदायलाई हस्तान्तरण गरेको थियो ।
उक्त स्कुलमा १५ जना शिक्षक र ३ जना कार्यालय सहयोगी छन । विद्यालयले निजी स्रोतबाट ८ वटा शिक्षक र २ जना कार्यालय सहयोगीलाई तलब खुवाउने गरेको छ । ‘घर/घरमा चन्दा संकलन गरेर निजी स्रोतमा राखेका शिक्षक र कार्यालय सहयोगीलाई तलब खुवाउँदै आएका छांै,’ समितिका अध्यक्ष लामाले भने, चन्दा संकलन नगरे तलबै खुवाउन सकिँदैन ।’ गत आवमा ३९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये एक विद्यार्थी ए ग्रेडमा उत्तीर्ण भएका थिए । अरू बी र सी ग्रेडमा उत्तीर्ण भएका थिए । आगामी वर्षदेखि उक्त विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सुरु गर्ने भएको छ । पठनपाठन, भौतिक पूर्वाधार र बालमैत्री आदिका कारणले यो मुलुककै नमुनाको विद्यालय भएको प्रअ मण्डलले दाबी गरेका छन् । गाउँपालिकाको सहयोगमा विद्यालयमा बाली विज्ञानको पढाइ सुरु गर्न लागेको हो । आफ्नो गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयहरूमा प्राविधिक विषय पढाइ सञ्चालन गर्ने अभियानअन्तर्गत उक्त विद्यालयमा पनि आगामी शैक्षिक सत्रदेखि बाली विज्ञान विषयको पढाइ सुरु गर्ने गापा अध्यक्ष हिदम लामाले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सञ्चार विधेयकमा संशोधन प्रस्ताव

लोकतन्त्रलाई संकुचित गर्न सरकार सञ्चार क्षेत्रमाथि आक्रमणमा उत्रिएको आरोप
नगेन्द्र अधिकारी

हेटाैंडा — प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार व्यवस्थापनसम्बन्धी विधेयक संविधान एवं प्रेस तथा अभिव्यक्तिविरोधी भएको भन्दै संशोधन दर्ता गरिएको छ ।

सत्ता पक्षका सांसद प्रेमबहादुर पुलामी, प्रतिपक्षी कांग्रेसका सांसद छिरिङ दोर्जे लामा, प्रभात तामाङ, नरोत्तम वैद्य, पुकार महर्जन र विवेकशील साझा पार्टीका रमेश पौड्यालले विधेयकका विभिन्न दफा, उपदफामा संशोधन दर्ता गराएका हुन् ।

कांग्रेस र विवेकशील साझा पार्टीका सांसदले दर्ता गराएको संशोधनमा दफा २६ को प्रतिबन्धात्मक वाक्यांश सबै हटाउन प्रस्ताव गरिएको छ ।

उक्त प्रतिबन्धात्मक वाक्यांशमा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने, राज्यद्रोह, गाली, बेइज्जती वा अदालतको अवहेलना हुने वाअपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टचार वा व्यक्तिको नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य गरेको प्रमाणित भएमा त्यस्ता पत्रपत्रिकालाई मनासिव प्रतिबन्ध लगाउन बाधा परेको मानिने छैन’ भन्ने उल्लेख छ । दफा ४ पूरा हटाउन प्रस्ताव गरिएको छ । दफा ४ मा कसैले पनि ऐनबमोजिम इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रसारण गर्न नहुने उल्लेख छ ।

दफा ११, १२ पूरै हटाउन प्रस्ताव गरिएको छ । दफा ११ मा प्रसारणमा रोक लगाउन सकिने व्यवस्था उल्लेख छ । ‘संविधानको व्यवस्था र राष्ट्र हितलाई ध्यानमा राखी प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी एक पटकमा ६ महिनामा नबढाई कुनै खास विषय, घटना वा क्षेत्रसँग सम्बन्धित कुनै कार्यक्रम प्रसारण संस्थाबाट प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्नेछ,’ उक्त दफामा भनिएको छ ।

दफा १२ मा ‘कुनै प्रसारण संस्थाले यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियमविपरीत कुनै कार्यक्रम प्रसारण गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थालाई पहिलो पटक सचेत गराउन सक्नेछ,’ भन्ने उल्लेख छ ।

उपदफा २ मा ‘उपदफा (१) बमोजिम सचेत गराउँदासमेत यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियमविपरीत कुनै कार्यक्रम प्रसारण गरेमा मन्त्रालय त्यस्तो प्रसारण संस्थाले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्नेछ’ भन्ने लेखिएको छ । दफा १६ को उपदफा १ को (क) मा राजनीतिक दलहरूलाई प्रतिकूल असर पर्ने विषयका विज्ञापन प्रसारण गराउन नहुने अस्पष्ट व्यवस्था भएकाले संशोधनमा हटाउन प्रस्ताव गरिएको छ । दफा १६ को उपदफा १ को घ, दफा १७ को उपदफा ङ, च, र छ हटाउन संशोधन दर्ता भएको हो । दफा २०, ४४, ५०, ५१ र ५२ पूरै हटाउन प्रस्ताव गरिएको छ । दफा ५० मा ऐन बमोजिमको कसुर गरेको मुद्दा सरकारवादी हुने व्यवस्था उल्लेख छ ।

संशोधन दर्ता गराएका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले संविधानको मर्मलाई समेत बंग्याएर विधेयक आएकाले संशोधन दर्ता गरेको बताए । ‘संविधानको मर्मलाई नै बंग्याएर प्रेसलाई नियन्त्रण गर्न खोजिएकाले संशोधन दर्ता गराएका हौं,’ लामाले भने, ‘लोकतान्त्रिक आचरणभन्दा पनि कम्युनिस्ट विचारधाराबाट प्रेरित भएर विधेयक आएको छ ।’

विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौड्यालले लोकतन्त्रलाई संकुचित गर्न सरकार सञ्चार क्षेत्रमाथि आक्रमणमा उत्रिएको आरोप लगाए ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT